अख्तियार सक्रिय
काठमाडौ, २८ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत, नापी तथा गुठी संस्थानमा हुने गरेको भ्रष्टाचारमा छानबिन थाल्ने भएको छ । प्रमुख आयुक्तमा लोकमानसिंह कार्की नियुक्त भएलगत्तै अख्तियारले काममा तीव्रता दिने भएको हो ।
शुक्रबार प्रमुख आयुक्त कार्कीले काठमाडांै उपत्यकाका मालपोत, नापी र गुठी संस्थानका प्रमुखलाई त्यहाँ हुने भ्रष्टाचारजन्य क्रियाकलापको अख्तियारले छानबिन गर्ने जनाउ दिएका छन् । ‘अख्तियारमा मालपोत, नापी र गुठी संस्थानविरुद्ध सयौँ उजुरी परेका छन्, त्यसको अब छानबिन हुन्छ,’ प्रमुखसँगको छलफलमा कार्कीले भने ।
अख्तियार प्रमुखको जिम्मेवारी सम्हालेको तेस्रो दिनमै कार्कीले मालपोत, नापी र गुठी संस्थानमा ‘आर्थिक चलखेलविना काम हँदैन’ भन्ने जनताको गुनासोलाई समयमै सम्बोधन गर्न निर्देशन दिएको प्रवक्ता कृष्णप्रसाद ढुंगानाले बताए । जनताको प्रत्यक्ष सरोकार राख्ने निकायको छवि सुध्रेपछि सरकारको छवि सुध्रिने भएकाले त्यसअनुरूप काम गर्न कार्कीले निर्देशन दिएका छन् ।
सार्वजनिक तथा खोला किनारका जग्गाको अतिक्रमण, मालपोत तथा नापी कार्यालयमा भू–माफिया तथा लेखापढी व्यवसायीको सहयोगविना सेवाग्राहीले काम लिन नसकेको, काममा ढिलासुस्ती एवं नागरिक वडापत्रअनुसार काम नभएको, आर्थिक क्रियाकलापविना काम हुँदैन भन्ने गुनासा बारम्बार आइरहेको छलफलमा कार्कीले सुनाएका थिए । आफ्नो जिम्मेवारी समयमा पूरा नगर्ने र गलत मनसायले निर्णय गर्ने प्रवृत्ति बढेकाले त्यसलाई रोक्न प्रमुख आयुक्तबाट निर्देशन दिइएको प्रवक्ता ढुंगानाले बताए ।
अख्तियारले मालपोत, नापी र गुठी संस्थानमा हुने अनियमित खर्च कटौती गर्नसमेत निर्देशन दिएको छ । अख्तियारले यी संस्थानमा हुने गतिविधि नियन्त्रणका लागि अख्तियारले गर्न थालेको अनुसन्धानप्रक्रियालाई सहयोग पुर्याउन आग्रहसमेत गरेको छ । गलत कार्य गर्ने कुनै पनि कर्मचारीलाई आयोगले कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला
0 comments
Write Down Your Responses