राजनीतिमा ‘कम ब्याक’ गर्दै भरतविमल यादव

२९ वैशाख, काठमाडौं । जनआन्दोलन २०६२/६३ मा गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल, सीपी मैनाली लगायतका शीर्ष नेताहरुसँगै सद्भावना पार्टी आनन्दीदेवीका तत्कालिन वरिष्ठ उपाध्यक्ष भरतविमल यादव पनि अग्रपंतीमा हुनुहुन्थ्यो । शाही सरकारविरुद्ध विरोध जुलसको नेतृत्व गर्दा होस् वा आसमभामा । तर, आन्दोलन सफल भएको केही समयपछि मधेसी नेता यादव एकाएक सक्रिय राजनीतिबाट टाढा रहनु भयो ।
bharat-bimal
झण्डै ७ वर्ष अर्धभूमिगत जस्तै रहेका यादव अब सक्रिय राजनीतिमा ‘कम ब्याक’ गर्दै हुनुहुन्छ । ‘देशी-विदेशी शक्तिहरुले षड्यन्त्रपूर्वक मलाई पार्टीमा अल्पमतमा पारेपछि मैले पार्टी परित्याग गरेको हुँ’ आइतबार अनलाइनखबरसँग कुरा गर्दै मधेसी नेता यादवले भन्नुभयो-’नेपाली राजनीतिमा ठूलो संकट आएको छ । जनआन्दोलन २ मा मेरो पनि योगदान थियो । तर, राजनीतिमा कालो बादल छाएको छ । अब सहिदको बलिदानको अपमान हुँदैछ । त्यसले चित्त दुख्यो र म म पुन सक्रिय राजनीतिमा आउने निर्णय लिएको छु ।’ राजनीतिबाट टाढा रहेको समय अध्ययन र कार्यकर्ता तथा जनमानसमा गएर विताएको उहाँको भनाई छ ।
स्रोतका अनुसार यादव उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम प्रवेशको तयारीमा हुनुहुन्छ । लामो वार्ता र छलफलपछि यादव पार्टी प्रवेशका लागि सहमत भएको फोरमका एक नेताले अनलाइनखबरलार्इ बताए । उनका अनुसार यादवलाई बरिष्ठ नेताको पद दिइनेछ । यादवले भने यसबारे भोलि पत्रकार सम्मेलन गरेर जानकारी दिने बताउनु भयो ।
अधिकांश मधेसवादी दलहरु सत्तामुखी भएको बताए फोरमलाई भने मुद्दामा आधारित भएको भन्दै प्रशंसा गर्नुभयो । ‘मेरो राजनीतिक जन्म मधेस आन्दोलनमै भएको हो । र, फोरम राजनीतिक विद्रोहबाट आएको पार्टी हो’ उहाँले भन्नुभयो-’मधेस विद्रोह नै संघीयताको मागलाई सम्बोधन गरायो । त्यसैले त्यसलाई हामीले अरु पार्टी जस्तो स्वार्थकेन्द्रीत, मन्त्री बन्न र कुर्सी हत्याउन खोलेको जस्तो लिन हुँदैन ।’
लोकतन्त्र सबैभन्दा बढी मधेस र मधेसीलाई आवश्यक रहेको भन्दै मधेसी नेता यादवले मधेस र लोकतन्त्रका लागि लड्ने बताउनु भयो ।
एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चा जनभावना विपरित चलेको भन्दै उहाँले मुलुक माकुराको जालोमा फसेको बताउनु भयो । ‘चार दलीय सिण्डिकेट, खिलराज सरकार र राष्ट्रपति यसको मुख्य दोषि हुन् । उनीहरुले २५ बुँदे बाधा अड्काउ फुकाउका नाममा संविधानको बलात्कार गरे’ उहाँले भन्नुभयो । २०६३ सालमा आफूले संघीयताको पक्षमा राखेको प्रस्ताव माओवादीले नमान्दा मधेस विद्रोह भएको भन्दै उहाँले एमाओवादीले आफूले संघीयता पक्षधर भन्नु झुटको खेती भएको बताउनु भयो ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.