बहुमत ल्याउने भन्दै एमाले चुनावी अभियानमा
काठमाडौं । चर्चित नेताहरुले धमाधम पार्टी छाडेर हिँडिरहेका बेला नेकपा एमाले अबको चुनावमा बहुमत ल्याउने भन्दै चुनावी अभियानमा लागेको छ । असारको पहिलो हप्तासम्म चल्ने अभियानमा पार्टी छाडेकालाई फर्काउने र अरु पार्टीका नेतालाई समेत भित्र्याउने एमालेको रणनीति छ । २४० वटै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधिहरु खटिएर चुनावी माहोल बनाउने काम भैरहेको एमालेले जनाएको छ ।
चुनावी अभियानमा एमालेले कार्यकर्ता र जनतालाई प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ । संविधानसभा असफल हुनुका कारण, बिघटित संविधानसभामा एमालेको अग्रसरतामा सहमति भएका विषय र एमालेले अगाडि सारेका प्रस्तावहरुबारे प्रशिक्षणमा जानकारी गराउने तयारी छ । यस्तै संविधानसभा निर्वाचन किन अपरिहार्य छ र संविधानसभामा एमालेलाई किन बहुमत प्राप्त हुनु अनिवार्य छ भन्ने विषयमा पार्टीपङ्क्तिलाई निर्देशन दिने एमालेले जनाएको छ ।यस्तै फोटो सहितको मतदाता नामावली संकलन अभियानमा सघाउ पुर्याउने र बिरोधमा रहेका दलहरुलाई चुनावमा सहभागी गराउन आहृवान गर्ने, पार्टी पंक्तिलाई चुनावमा केन्दि्रत हुन निर्देशन दिने लगायतका अभियान पनि संचालन गर्ने एमालेको भनाई छ ।
चुनावमा एमालेको मुद्दा
‘एमालेको नीति : एमालेकै नेतृत्व’, प्राप्त उपलब्धिको रक्षा, गणतन्त्रको सुदृढीकरण, सामाजिक न्यायसहितको अग्रगामी लोकतन्त्र, बहुपहिचानसहितको सङ्घीयता, सामाजिक सद्भावसहितको राष्ट्रिय एकता, सबल राष्ट्रियता, सामाजिक-आर्थिक रूपान्तरण र समृद्धिलाई जोड दिने एमालेको मुद्दा छ । आफ्नो मुद्दा स्थापित गर्दै जनतालाई आकषिर्त पार्न एमालेले जनपरिचालनलाई व्यापक बनाउने तयारी गरेको छ । यस अन्तर्गत चियापान, भेला, भेटघाट आयोजना गर्ने, स्ववियु निर्वाचनमा अनेरास्ववियुका पक्षधर विद्यार्थीहरूको विजयका लागि सम्पूर्ण शक्ति परिपालन गर्ने,झन्डा, ब्यानर, हातेमाइक र पर्चा वितरणसहित पदयात्रा र घर दैलो कार्यक्रम गर्ने, र्याली र जनसभा आयोजना गर्ने, पदयात्रा र घरदैलो कार्यक्रमलाई निरन्तरता दिन स्थानीय कमिटीहरूलाई निर्देशित गर्ने पार्टीले जनाएको छ ।
पार्टी प्रवेश र एकीकरण
पार्टी परित्याग गरेकालाई फर्काउन एमालेले विशेष अभियान चलाउने भएको छ । पार्टी प्रवेश र एकीकरणसम्बन्धी कार्यदलको अपीलका आधारमा बिभिन्न व्यक्ति र समूहसँग घनिष्ट संवाद अगाडि बढाउने र पार्टी प्रवेश गराउने एमालेको रणनीति छ । अभियान अन्तर्गत अन्य समूहका लोकतन्त्र, शान्ति र अग्रगमनका पक्षधर नेतालाई फकाएर पार्टी प्रवेश गराउने एमालेको तयारी छ । स्वतन्त्र हैसियतमा रहेका समाजका प्रतिष्ठित, प्रबुद्ध र विज्ञहरूलाई पार्टीमा आबद्ध गराउन तथा विचार मिल्ने वामपन्थी समूहका केन्द्र र स्थानीय कमिटीहरूसँग सहकार्य, एकता र एकीकरण प्रक्रिया अगाडि बढाउन विशेष समारोह आयोजना गरेर पार्टी प्रवेश र स्वागत कार्यक्रम सम्पन्न गर्ने एमालेले जनाएको छ ।
चुनावमा शक्ति सन्तुलनको आँकलन सहित तालमेल गर्ने विषयमा पनि एमालेले अहिलेदेखि नै नेता कार्यकर्तालाई निर्देशन दिइसकेको छ । तालमेल आवश्यक छ कि छैन र आवश्यक छ भने कोसँग र कसरी गर्न सकिन्छ भन्ने विषयमा सबै क्षेत्रका पार्टी पंक्तिलाई निर्देशन दिइएको एमाले प्रचार विभागले जनाएको छ ।
|
0 comments
Write Down Your Responses