बिहेको नाटक गरेर महिलालाई डेढ लाखमा बेचियो


२८ वैशाख, काठमाण्डौं । बिहेको नाटक रची सिन्धुलीकी एक महिलालाई भारतको कोठीमा पुर्‍याएर बेचिएको छ । नुवाकोटका कृष्ण तामाङले सिन्धुली ज्याडीकी गोमा तामाङलाई बिहे गरेर त्रिशुली जाने भन्दै झुक्याएर बेचेका हुन् । उनले आफ्नो घर त्रिशुले लैजाने भन्दै भारतको नयाँदिल्ली पुर्‍याएर डेढ लाख रुपैयाँमा बिक्री गरेका हुन् । नयाँ पत्रिकामा छापिएको समाचार अनुसार अभियुक्त तामाङलाई प्रहरीले पक्राउ गरेको छ । बेचिएकी महिला पनि १७ दिन पछि भागेर काठमाण्डौं र्फकन सफल भएकी छिन् । माइती नेपालको सहयोगमा तामाङलाई प्रहरीले पक्राउ गरेको हो । घटनामा सहयोग गरेको आरोपमा नुवाकोटका सुवास तामाङ र शान्ति तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । आफूलाई तामाङले पटकपटक बलात्कारसमेत गरेको पीडित महिलाले बताएकी छन् । ‘त्रिशूली जाने भन्दै मलाई नयाँ बसपार्कमा जबर्जस्ती बस चढाईयो,’ पीडित महिलाले भनिन्, ‘त्यहाँबाट बेहोस बनाएर भारत लैजान लागिएको रहेछ, बुटवल पुगेपछि मात्र थाहा भयो ।’ बुटवलमा भगडा गर्दा पिटेर आफूलाई गत बैशाखमा नयाँ दिल्ली पुर्‍याएको उनले बताईन । भारतमा दुई महिलालाई उनको जिम्मा लगाईएको थियो । त्यहाँ पुगेको तीन दिनमा बिहे गर्ने भनिएका तामाङ भागेको र त्यही रहेकी एक नेपाली महिलालाई सोध्दा डेढ लाख रुपैयाँमा बिक्रि गरेको थाहा पाएको उनले बताइन । उनलाई देशव्यपारमा लाग्न दवाव दिएपछि रुँदै त्यहाँबाट भागेकी उनी एक नेपालीको सहयोगमा २५ वैशाखमा काठमाण्डौंमै आएकी थिइन् । काठमाण्डौंमा ज्यामी काम गर्दै आएकी गोमाका एक छोरा छन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.