अनुदान नपाएर घाटा भएको भन्दै रात्रिबस बन्द हुने
२ जेठ, काठमाण्डौं । राजधानीमा सुरु भएको रात्रिबस सेवा १५ दिनपछि बन्द हुने भएको छ । बस सञ्चालनमा घाटा भएको र काठमाण्डौं महानगरपालिकाले थप अनुदान नदिएकाले सेवा बन्द गर्न लागिएको व्यवसायीले बताएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र रात्रिबसका मालिकबीच बुधबार भएको बैठकले थप १५ दिनमात्र सेवा सञ्चालन गर्ने निर्णय गरेको हो । महानगरपालिकासँथ ५ महिना बस सञ्चालनका लागि ७५ लाख रुपैयाँ माग गरिएको तर नदिने बताएपछि बन्द गर्ने निर्णयमा पुगिएको महासंघको बागमती अञ्चल संयोजक धर्म रिमालले बताएको नयाँ पत्रिकामा खबर छ ।
महानगरले ६ महिना सहयोग गरेपछि घाटामा नै भए पनि रात्रिबस सञ्चालन जारी राख्ने व्यवसायीले सम्झौताका समयमा प्रतिवद्धता जनाएका थिए ।
एक ट्रिपमा चार हजार उठ्छ
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पदाधिकारीहरुले घाटा भएकाले रात्रिबस बन्द गर्ने चेतावनी दिँदै आएका छन् । तर, बसमा काम गर्ने सहचालकहरुले भने एक टि्रपमा तीनदेखि चार हजारसम्म उठ्ने गरेको दाबी गरेका छन् । एक सहचालकका अनुसार सात बजेदेखि नौ बजेसम्म यात्रु पाउने र एक घन्टा केही कम हुने गरे पनि खाली भने हुँदैन ।
भित्री रुटका बाटोमा केही कम भएपनि चक्रपथमा रात्रिबसले राम्रो कमाइ गरेको ती सहचालकको अनुभव छ ।
0 comments
Write Down Your Responses