विषपुरूष

-कृष्ण अविरल

Bish-purush-souryadailyबिहान एक्कासि गेटमा जडान गरिएको बेल बज्न थाल्यो । प्राकृतिक रूपमा गुडुल्किरहेका उनीहरू दुवै अत्तालिएर ब्युँझिए ।
विनिताले हतारहतार मोबाइलमा रहेको घडी हेरिन् । घडीले बिहानको साढे चार मात्रै बजाएको थियो । बाहिर अन्धकार व्याप्त थियो ।
उता गेटको बेल झन् बज्न थाल्यो ।
‘को होला यति बिहानबिहानै आएर गेटको बेल बजाउने ?’ विनिताले उठेर रिसाउँदै स्वीच थिचेर बत्ती बालिन् । अनि बेलुका बेसुरमा जथाभावी फालेका लगाउने लुगा खोज्न थालिन् । तर, अत्तालिएका बेला खोजेको कुनै चिज भेटिने भए पो ?
उता बेल बज्न रोकिएको थिएन । झन् लगातार बज्न थाल्यो ।
‘को हो ? बिहानबिहानै आएर बेल बजाउने ?’ गेटतर्फको झ्याल खोलेर हप्काउने स्वरमा भनिन्, ‘काम छैन कि क्या हो ?’ त्यसबेला उनले कुर्ता लगाउन भ्याएकी थिइन् । तल भने ह्वांगै ।
‘मामु म अनिमेष ।’
गेटबाहिरबाट आएको आवाज सुनेपछि उनको स्थिति नगरप्रहरीको ट्रक देखेर अत्तालिएका काठमाडौंका फुटपाथे व्यापारीको जस्तो भयो ।
युवकले मात्र सुन्ने गरी फुस्फुसे स्वरमा भनिन्, ‘पोखराबाट छोरो आइपुगेजस्तो छ ।’
त्यसपछि युवक पनि अत्तालियो । उसले त झन् लगाउने लुगा केही फेला पार्न सकेन । बेलुका टुंगामा राखेको भए पो फेला पार्नु ?
‘बाबु, यति राति किन आएको ?’ उनले माथिबाटै भनिन् ।
‘छिटो गेट खोलिस्यो न, अनि बताउँला ।’ दिक्दारीको भावमा उसले भन्यो, ‘आफूलाई यहाँ कस्तो जाडो भइसक्यो ।’
विनिताले फेरि पनि तल लगाउने सुरुवाल खोजिन् । तर, जति खोजे पनि फेला परेन । त्यसपछि तौलिया बेरेर निस्कन लागिन् ।
त्यहीबेला उनलाई आफ्नो बेडमा अरू कोही भएको याद आयो । उनी झन् आत्तिइन्, उसलाई कहाँ लुकाउने ?
छोराले अब भने बेल नबजाएर गेट ढक्ढक्याउन थाल्यो ।
फर्केर विनिता फेरि आफ्नो बेडरुममा गइन् । त्यसबेला युवक धमाधम लुगा लगाउँदै थियो ।
‘हैन तिमीले कुन लुगा लगाएको ?’ आत्तिएकी उनले साउतीको स्वरमा भनिन् ।
‘ए, मेरो ट्राउजर भनेर तिम्रो सुरुवाल पो लगाउन थालोछु ?’ युवक अलिकति हाँसो मिसाएर बोल्यो ।
अरू बेला भए उनीहरू यस विषयमा पेट मिचिमिची मस्तसँग हाँस्थे होलान् तर अहिले हाँस्ने अवस्था थिएन । कोठाभन्दा बाहिर नजाने आवाजमा विनिताले भनिन्, ‘म गेट खोल्न जान्छु, तिमी पल्लोकोठामा गएर सुत ।’
उसले त्यसै गर्ने भयो । अरू उपाय पनि त थिएन ।
‘छोराले देख्ने नै भयो, उसलाई के भनेर चिनाउने ?’ मूलढोका खोल्न लाग्दै गर्दा उनी तिलमिलाइन् ।
तर मूलढोकामा रहेको स्थायी तालामा पनि हत्तपत्त साँचो छिर्नै मानेन । तीनपटकको प्रयासमा मात्र खोल्न सकिन् ।
मन फेरि छटपटायो– ‘छोराले उहाँ को हो ? भन्यो भने को भनेर चिनाउने ?’
उनी रनाहामै आँगनमा निस्कन खोजिन् । त्यसक्रममा उनले चप्पल पनि बिजोडी लगाइन् ।
हैन, छोरालाई गाउँबाट आएको तिम्रो मामा हो भनेर चिनाउँछु, गेट खोल्दै गर्दा उनको अक्कलमा एकाएक उपाय फुर्‍यो ।
‘बाबु यति राति किन आ’ ? आउँछु भनेर एक कल फोन गरेको पनि होइन ?’ गेटभित्रबाट लगाएको ताला खोल्दै गर्दा उनले भनिन् । जतिसक्दो सामान्य हुन खोज्दै ।
‘गर्न त खोजेको नि, अस्तिदेखि आफ्नो मोबाइल बिग्रेर कामै दे’को होइन ।’ जाडोले स्युस्यु गर्दै गरेको छोराले भन्यो, ‘हजुरले गेट खोल्न चैँ किन यति ढिलो गरिस्या नि †’
‘मस्त निद्रामा थिएँ त्यै भएर ।’ छोराको झोला आफूले बोक्दै विनिता बोलिन् सम्झाउने पारामा, ‘तिमी पनि कि हिजो दिउँसै आऊनू । कि भरे उज्यालो भएपछि आउनू । यति रातिराति हिँड्ने हो ?’
‘हिजोको क्लास सकिँदा चार बजिहाल्यो । अनि होस्टल गएर झोला लिएर नाइटमा आएको, कलंकीमा साढे चार बजे नै झारिदियो… । अनि ट्याक्सी लिएर आ’को ।’ भित्र पसेर गेट लगाउँदै गर्दा उसले भन्यो ।
दुई पाइला अघि बढाउनासाथ ऊ आश्चर्यमा पर्‍यो । आँगनमा टक्क अडिएर उसले सोध्यो, ‘मामु, यो बाइक कसको ?’
‘गाउँबाट तिम्रो मामा आएको छ, उसैको ।’ उनले भनिन्, ‘जाडो भो भन्या होइन, हिँड छिटो ।’
आमाको बोली सुनेर भित्र पस्नै लागेका उसका गोडा टक्क रोकिए । भन्यो, ‘गाउँबाट आएको भनिसिन्छ, बाइक त बाग्मतीमा दर्ता भ’को छ नि ?’
झसंग भइन् विनिता । छोराले यस्तो प्रश्न गर्ला भनेर उनले सोचेकी पनि थिइनन् । यद्यपि उनले उत्तरमा चलाखी गर्न भ्याइहालिन्, ‘यैँबाट कोही साथीको लिएर आयो होला नि † हिँड छिटो भित्र जाउँm ।’
ऊ जुत्ता खोलेर भित्र गयो ।
चिसोबाट जोगिनका लागि हतारिएको थियो ऊ । तर, भित्र पस्नासाथ उसको मनमा समेत चिसो पस्यो । किनकि बैठककोठामा ओछ्याइएको गलैँचामा बियरका रित्ता बोतल र खसीको मासुका हाडसहितका जुठा प्लेट यत्रतत्र थिए ।
‘मामु † मामा कता सुत्नु भा’छ ?’ उसको मनमा अविश्वासले हाँगाबिगा फैलाइसकेको थियो । तिनलाई ऊ जतिजसक्दो चाँडो छाँट्न चाहन्थ्यो । अनि उसलाई यो पनि थाहा थियो, आफ्नी आमा खास मामाहरू अर्थात् आफ्ना दाजुभाइहरूसँगै बसेर बियर खान सक्तिनन् भन्ने ।
उनले कोठा देखाइदिइन्, पाहुनाकोठा ।
उसले त्यो कोठाको ढोका खोलेर मामा कस्ता रहेछन् भनेर एक झल्को हेर्न खोज्यो । तर, त्यो कोठाको ढोका बाहिरैबाट बन्द गरिएको थियो ।
उसले फेरि कोसिस गर्‍यो । अँह खुल्दै खुलेन ।
‘मामु यो कोठा बन्द छ त ।’ उसले आमातिर फर्केर भन्यो । आशंकाको झड्का लागिरहेकै थियो ।
तर, आमाले लगाएको लुगा देखेर झसंग भयो । त्यसबेलासम्म उनले कुर्तामुनि लगाएको तौलिया फेर्न भ्याएकै थिइनन् ।
उसलाई आफ्नी आमाप्रति दिक्क लागेर आयो । केही नबोली झोला बोकेर आफ्नो कोठाभित्र पस्यो ।
उसले ढोका खोलेर बत्तीको स्वीच अन गर्‍यो । त्यसपछि ऊ झनै छक्क पर्‍यो । किनकि आफ्नो कोठामा शंकास्पद मामा लम्पसार परिरहेको थियो ।
ऊ रिसाउँदै आमाको बेडरुममा आयो किनकि उसले आफ्नो कोठामा अरू कसैलाई नसुताउनू भनेर त्यसअघि पटकपटक भनेको थियो ।
ऊ पलङको छेउमा बस्यो । अनुहार पाहा फुलेझैँ फुलेको थियो । बोली बन्द । आमाचाहिँ धमाधम लुगा लगाउँदै थिइन्, घरिघरि छोरोतिर हेर्दै ।
छोराको अनुहारले उनको भालेसातो गइसकेको थियो । तर, उनले केही नभएझैँ गर्दै भताभुंग भएको ओछ्यान मिलाउन थालिन् । लुगा लगाइसकेपछि ।
उता युवकले ओढ्नेभित्र बाटै सबै कुरा चाल पाइरहेको थियो । जतिसुकै बलियो भएर के गर्नु † यतिखेर ऊ सबैभन्दा डरपोक भइरहेको थियो । उसको मनमा ढ्यांग्रो बज्न थालिसकेको थियो, तालसुरविना … ।
(अविरलको भर्खरै प्रकाशित उपन्यास ‘विषपुरुष’को एक अंश)

0 comments

Write Down Your Responses

Powered by Blogger.