समाचार
»
नयाँ पनि दल दर्ता गर्दै
नयाँ पनि दल दर्ता गर्दै
काठमाडौं, वैशाख १९ - संविधानसभा विघटनपछि जन्मिएका र संविधानसभा रहेकै बेला बनेका नयाँ पार्टीहरूले पनि निर्वाचन आयोगमा दर्ता गर्ने भएका छन् । संविधानसभा विघटनपछि जन्मिएको शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा), एमाले र कांग्रेस छाडेकाहरूले बनाएको अशोक राई नेतृत्वको संघीय समाजवादीले समेत दल दर्ता गर्ने तयारी गरेका छन् । नेकपा-माओवादी नेतृत्वको विपक्षी मोर्चाका ३३ दल तथा समूहले यथास्थितिमा आयोगमा दर्ता नगर्ने निर्णय मंगलबार गरिसकेका छन् । उक्त निर्णयसँगै राई र उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चासमेत नेकपा-माओवादी नेतृत्वको ३३ दलमा मिल्ने सम्भावना टरेको छ । संविधानसभा रहेकै बेला जन्मिएको राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिक, अनिलकुमारको नेतृत्वको संघीय सद्भावना, रामनरेश राय नेतृत्वको राष्ट्रिय सद्भावना, मोतीलाल दुगड नेतृत्वको नवनेपाल निर्माण पार्टीलगायतले पनि दर्ता तयारी थालेका छन् । मधेसी जनअधिकार फोरम नेपालले समेत केही दिनमा दर्ता गर्ने अध्यक्ष उपेन्द्र यादवले बताए । 'हामी दल दर्ताको तयारीमा छौं,' उनले भने । राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा यादवले दल दर्ता गर्नु लोकतान्त्रिक पद्धति भए पनि यथास्थितिमा चुनाव हुन नसक्ने दाबी गरेका थिए । यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले समेत खिलराज रेग्मी नेतृत्वको सरकारको विरोध गर्दै आन्दोलनमा छ । मोर्चामा फोरम नेपालसहित सात दल आबद्ध छन् । मोर्चाले चार दलको सिन्डिकेट तोडिनुपर्ने, निर्वाचन क्षेत्र विस्तार गर्नुपर्ने र २०६४ सालको चुनावमा जस्तै समानुपातिक प्रणाली लागू हुनुपर्ने माग अघि सारेको छ । संघीय समाजवादीका उपाध्यक्ष मुहम्मद रिजवान अन्सारीले केही दिनभित्रै दल दर्ता गरिने बताए । आफूहरू संविधानसभा चुनावको विरोधी नभएकाले प्रक्रियाअनुसार अघि बढ्ने पार्टी रणनीति रहेको उनले जनाए । 'निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्छौं,' उनले कान्तिपुरसित भने, 'दल दर्तै नगर्ने हाम्रो नीति होइन ।' संविधानसभा विघटनपछि बनेको संघीय समाजवादीमा एमालेबाट असन्तुष्ट बनेका नेता धेरै छन् । फोरम लोकतान्त्रिकले कारबाही गरेपछि गत असारमा भण्डारीले केही व्यक्तिलाई लिएर गठन गरेको राष्ट्रिय मधेस समाजवादी पनि आयोगमा दर्ता भएको छैन । राई नेतृत्वको संघीय समाजवादी र भण्डारी नेतृत्वको रामसपाले दल दर्ताका लागि १० हजार जनाको हस्ताक्षरसमेत अनिवार्य रूपमा आयोगमा बुझाउनुपर्ने छ । संविधानसभाका बेला कुल सदस्यको ४० प्रतिशत संख्या पूरा गरेर पार्टी गठन गरेकाले भने हस्ताक्षर बुझाइरहनु पर्दैन । राष्ट्रिय सद्भावना अध्यक्ष रायले आफ्नो दल दर्ताको जिम्मा महासचिव कौशलेन्द्र शर्मालाई दिइएको र एक/दुई दिनमै आयोग जाने बताए । संघीय सद्भावनाका अध्यक्ष अनिल झाले मधेसवादी दलहरू एक भएर चुनावमा जाने सम्भावना टरिसकेकाले दल दर्ता गर्नुको विकल्प नरहेको बताए । 'मधेसी दलहरू सबैले गरिसकेपछि मात्रै म दल दर्ता गर्छु,' उनले भने, 'म अझै मधेसी दलहरू एक भएर चुनावमा जानुपर्छ भन्नेमै छु ।' आयोगमा मंगलबारसम्म एमाले, एमाओवादी, राप्रपा नेपाल, कांग्रेस, माले, तमलोपा, सद्भावना, राप्रपा, मधेसी जनअधिकार फोरम -लोकतान्त्रिक) र परिवार दलले दल दर्ता गरिसकेका छन् । तत्कालीन संविधानसभामा रहेका तमलोपा नेपाल, दलित जनजाति, जनता दल र जनता दल (युनाइटेड) ले दल दर्ता गर्ने/नगर्ने टुंगो लगाइसकेका छैनन् । सद्भावना -आनन्दीदेवी) भने सर्वोच्च अदालतबाट मुद्दाको किनारा लागि नसकेकाले दर्ता प्रक्रिया अघि नबढ्ने सरिता गिरीले बताइन् । सद्भावना (आनन्दीदेवी) गिरी, खुसीलाल मण्डल र श्यामसुन्दर गुप्ता/देवेन्द्र मिश्र नेतृत्व गरी तीन टुक्रामा विभाजित छ । तीनमध्ये एकले मात्रै आयोगमा दल दर्ता गर्न पाउनेछ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
0 comments
Write Down Your Responses