माग पूरा नभएसम्म ब्यापारीले सुन पसल नखोल्ने
सुनचादी व्यवसायीले आफ्ना माग पूरा नभएसम्म सुनचादीको कारोबार नगर्ने बताएका छन् । काठमाडौमा बिहीबार पत्रकार सम्मेलन गरी नेपाल सुनचादी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचादी ब्यवसायी महासंघले सरकारले कार्यविधि नै नबनाई गलत तरिकाले अनुगमन गरेकाले विरोध गर्नुपरेको दावी गरेका हुन् । उनीहरुले विरोधस्वरुप सुनचादी पसल बन्द गर्ने दैनिक भाउ नतोक्ने, राष्ट्रबैङ्कबाट सुन नबुझ्ने लगायत विरोध गर्दै आएका छन् । सुनचादी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले तत्काल मापदण्ड तयार गर्नुपर्ने तर्फ सरकारले वास्ता नगरेको तर सहमति विपरित अनुगमन गरी ब्यवसायप्रति नकारात्मक धारणा बनाएको दावी गर्नुभयो । उपभोक्तालाई ठगी गर्नेलाई कारबाही भएकोमा आफूहरुको आपत्ति नभएको बताउनुभयो । अनुगमनपछि मात्रै उपभोक्ता र व्यवसायीहरु सचेत हुन थालेको भन्दै उहाँले अनुमगन सकारात्मक भएपनि तरिका गलत भएकाले सरकारलाई दबाब दिन आन्दोलन गरिएको दावी गर्नुभयो । केही व्यवसायीले गरेको गल्तीका कारण सबै व्यवसायीप्रति नकारात्मक दृष्टिकोण पैदा हुने अवस्था सिर्जना हुनु गलत भएको शाक्यको भनाई छ । मापदण्ड र नीति नियम बनाएर प्रक्रियागत तथा अनुशासनपूर्ण ढंगले अनुगमन भए आफूहरुलाई मान्य हुने उहाँले बताउनुभयो । बाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले गरेको अनुगमन र कारवाहीको विरोधमा बुधबारदेखि देशभरका सुन व्यवसायीले कारोबार बन्द गरेका छन् । उपभोक्ता अधिकारकर्मीले भने ठगीलाई बैधानिकता दिन आन्दोलन गर्नु जायज नभएको टिप्पणी गरेका छन् ।
0 comments
Write Down Your Responses