बियरको मूल्य बढ्दा केही नभन्ने, किताबको बढ्दा किन कराउने ?

-अजित बराल, प्रकाशक- फाइनप्रिन्ट
खासमा उनी चर्चित कार्टुनिष्ट दुर्गा बराल ‘वात्सायन’का छोरा अनि स्थापित नाट्य अभिनेता अनुप बरालका भाई हुन् । तर यतिखेर उनको परिचय फेरिएको छ । नेपाली पुस्तकको बजारलाई व्यवसायिक बनाउन लागिपरेको संस्था फाइनप्रिन्टका अगुवामध्येका अजित स्रष्टाहरु पनि सेलिब्रेटी हुनसक्छन् भन्ने मान्यता राख्छन् । कुनै बेलाका अल्लारे र अज्जिर स्वभावका अजित कसरी यो अवस्थामा आइपुगे ? उनै अजितसँग गरेको कुराकानी  यसपटकको पुस्तक मेलामा पनि फाइनप्रिन्टका पुस्तकले बिक्रीमा बाजी मारिरहेका छन् । तपाईंहरुका पुस्तक सफल हुने खास रहस्य के हो ?

हामी पुस्तक छनोटमा अलि सेलेक्टिभ छौं । जुन छनोट गर्छौ त्यसलाई सकेसम्म राम्ररी प्रकाशन, प्रवर्द्धन गर्ने गर्छौ । सायद त्यही भएर होला हाम्रा पुस्तकहरु राम्ररी बिक्छन् ।
 साहित्यिक पुस्तकहरुलाई हदभन्दा बढी महँगो बनाउनमा फाइनप्रिन्टको हात छ भन्नेहरुलाई तपाईंको जवाफ के हुन्छ ?
हामीले जुन स्तरको पुस्तक निकाल्छौँ, पुस्तकको प्रोडक्सन क्वालिटी राम्री होस् भनेर प्रिन्टिङ, डिजाइन, लेआउटमा जति खर्च गर्छौ, त्यो अनुसार हाम्रा पुस्तक महंगा होइनन्, सस्ता छन् । फेरि समयअनुसार जुन सुकै वस्तुको पनि मूल्य वृद्धि हुन्छ । अन्य वस्तुको मूल्य वृद्धि हुनु हुने, पुस्तकको नहुने ? मलाई अचम्म लाग्छ, प्रत्येक वर्ष बियरको मूल्य बढ्दा कसैले केही भन्दैन, पुस्तकको मूल्य अलि बढी राख्दा सबै कराउँछन् !
कतिपय पुस्तकमा अनावश्यक विज्ञापन गर्नु भएको पनि देखियो । जस्तो कि चिना हराएको मान्छे । जुन किताबको लागत नै बढ्ने गरी विज्ञापन गर्न जरुरी थियो ?
प्रकाशकले पुस्तकको बिक्री संख्या अनुमान गरेर विज्ञापनमा कति खर्च गर्ने भनेर निर्णय गर्छ, पुस्तकको पैसा बढाएर विज्ञापन गर्दैन । हाम्रोजस्तो प्राइस सेन्सिटिभ पाठक भएको देशमा त गर्दैगर्दैन । साँचो भन्नुपर्दा, हामीले चिना हराएको मान्छेको त्यति विज्ञापन गरेनौं जति हामीले गर्नसक्थ्यो । किनभने हरिवंश आचार्यजति चर्चित व्यक्ति भएकाले उनको पुस्तक प्रवर्द्धन गर्नुपर्छ भन्ने हामीलाई लागेन ।
हरिवंशको पुस्तकको लागतभन्दा चार गुना चर्को मूल्य राखेर अति कम आय भएका उनका फ्यानहरुले पढ्नै नसक्ने बनाइयो । हरिवंशको लोकप्रियतामाथि निकृष्ट व्यापार गरियो भन्ने आरोप पनि आयो…?
पुस्तकको लागतमा प्रिन्टिङ मात्र पर्दैन, पेपर, सम्पादन र प्रुफिङ, लेआउट, कभर डिजाइन पनि पर्छन् । यिनीहरु जति राम्रो भयो त्यति लागत बढी हुन्छ । हाम्रो स्तरको पुस्तक साझाको मूल्यमा पाइँदैन ।
 पुस्तकको प्रचारमा फाइनप्रिन्टले साम, दाम, दण्ड, भेद सबै प्रयोग गरेर मिडिया दुरुपयोग गरिरहेको छ भनेर आरोप लगाउनेहरु पनि छन् । उनीहरुलाई के भनेर मुख बुझो लगाउनु हुन्छ ?
पुस्तक प्रवर्द्धनमा हामी जति इनोभेटिभ कोही छैन । त्यही इनोभेटिभनेसलाई साम, दाम, दण्ड, भेद भन्न खोज्नु भएको हो भने, मेरो केही भन्नु छैन ।
तपाईं नेपाली साहित्यका पुस्तक खासै पढ्नु हुन्न तर प्रकाशनका लागि पुस्तक छान्नमा माहिर हुनुहुन्छ भनिन्छ । खास त्यसको कडी के हो ? भन्न मिल्छ नि ?
यसको स्पष्ट जवाफ मसँग छैन । मेरो अध्ययनको विविधता, साहित्यको बुझाईका कारण पनि हुन सक्छ ।
 तपाईंको सम्पादनमा बजारमा आउन लागेको ‘फस्ट लभ’ चाहिँ कस्तो कृति हो ?
यो दसजना लेखकले आफ्नो पहिलो प्रेममाथि लेखेको संस्मरण हो । यसमा सबै रचना र अधिकांश लेखक नयाँ छन् । कतिपय नयाँ लेखक केही वर्षपछि राम्रा लेखकको रुपमा दरिने छन् ।
 अहिलेसम्ममा ४०-४५ वटा पुस्तक प्रकाशित गरिसक्नु भो । तर एकजना नारी स्रष्टा परेका छैनन् । नारी स्रष्टाहरु छैनन् भनुँ भने अन्य प्रकाशकहरुलाई महिला स्रष्टाका कृति छाप्न भ्याइनभ्याइ छ । फाइनप्रिन्ट महिला स्रष्टाका सवालमा किन पूर्वाग्रही भएको हो ?
त्यही त, अहिलेसम्म हामीले एउटा पनि महिला लेखकको कृति छापेका रहेनछौं । तर त्यो महिलाप्रति पूर्वाग्रही भएर होइन । केही महिला लेखकका कृति छाप्न नखोजेका पनि होइनांै, तर दुर्भाग्य उनीहरुको रोजाइ अन्य प्रकाशन गृह परे । एकजना महिला लेखक कल्पना वान्तवाको उपन्यास भने छिट्टै आउँदैछ ।
 फाइनप्रिन्टले खगेन्द्र संग्रौलाबाहेक पाका र स्थापित साहित्यकारहरुलाई बाल गन्दैन भन्ने सुनिन्छ । अहिलेसम्म प्रकाशित पुस्तकको सूचि हेर्दा त्यस्तै देखिन्छ । खास के हो ?
हामीले उमेरलाई होइन रचनालाई महत्व दिन्छौं । पाका लेखकबाट राम्रा पाण्डलिपि आए भने हामीले अवश्य छाप्छौं । तर एउटा कुरा के हो भने, हामी युवा लेखकसँग काम गर्न सहज ठान्छौँ ।
 अरु प्रकाशनका स्रष्टा खोस्न पनि फाइनप्रिन्ट माहिर छ भनिन्छ । जस्तो युग पाठक र उर्गेनको घोडा । सांग्रिलाले उर्गेनको घोडा बेच्नु बेचिसकेको थियो । नयाँ उपन्यासका लागि लगानी गरिसकेको थियो । त्यो कृति र स्रष्टा फाइनप्रिन्टले खोस्यो । यो गलत संस्कार भएन ?
नेपाली प्रकाशन उद्योग अलि प्रतिस्पर्धी हुँदैछ, लेखकका लागि बढी सम्भावना खुल्दैछन् । स्वाभाविक हो, लेखकहरु राम्रा अप्सन्स खोज्दैछन् । यसरी अप्सन्स खोज्दै अर्को प्रकाशकसँग जानुलाई गलत भन्न मिल्दैन । तपाईं आफु लेखक हुनुहुन्छ, जुन प्रकाशन गृहले तपाईंलाई राम्रो डिल दिन्छ, जसले तपाईको पुस्तकलाई राम्रोसँग प्रवर्द्धन गर्छ, त्यही प्रकाशकसँग तपाईं अनुबन्ध हुन चाहनुहुन्न ?
किताब बढीभन्दा बढीले पढिदिउन् भनेर प्रकाशनमा होमिनु भएको छ । तर आफूचाहिँ अरुले छापेका पुस्तकचाहिँ पढ्दै पढ्नु हुन्न भनिन्छ नि ?
प्रकाशनमा छु, अरुले के-के, कस्ता छापिरहेका छन् भनेर जान्नका लागि अन्य प्रकाशन गृहको पुस्तक पढ्नु पर्छ । पढिरहेको पनि छु । हो, हामीकहाँ आएका पाण्डुलिपि पढ्नु पर्ने बाध्यताले अरुले प्रकाशन गरेका थेरै पुस्तक पढ्न पाएको छैन । किनेर ल्याएका अंग्रेजी पुस्तकहरु जसको संख्या बढेको बढै छ, ती त पढ्न पाइएको छैन !
नेपाली कृतिको अंग्रेजी नामाकरण गर्ने गर्नुभा छ । जस्तो कि सुबिन भट्टराईको समर लभ, तपाईको सम्पादनको फस्ट लभ । फाइनप्रिन्टले गलत संस्कार सुरु गर्‍यो भन्नेहरुलाई तपाईंको जवाफ के हुन्छ ?
कर्नाली ब्लुजको नाम तपाईंले छुटाउनु भयो ! हामीले विशुद्ध व्यावसायिक कारणले केही पुस्तकका शीर्षक अंग्रेजीमा राखेको हौँ ।
 केही महिनाअघि आयोजित साहित्यिक फेस्टिबलमा नेपाली भाषा साहित्यको हुर्मत नै लिनु भो भन्ने आरोप आएको थियो । यो आरोपको खण्डन कसरी गर्नु हुन्छ ?
साहित्यिक महोत्सबको स्टेजको पछाडि प्रयोग गरिएका व्याकड्रप र कार्यक्रमको सूचीमा अंग्रेजी प्रयोग गरिएकाले त्यस्तो टिप्पणी गरिएको थियो । अब हुने महोत्सवमा त्यस्तो हुनेछैन ।
 महोत्सवमा फाइनप्रिन्टले आफू निकटका गैरस्रष्टालाई पनि मञ्च दियो । इतर बिचारका अन्य स्रष्टा र प्रकाशकहरुलाई ढिम्किनै दिएन भन्ने पूर्ण-सत्य आरोपको प्रतिवादमा तपाईंको के भनाई हुन्छ ?
यी आलोचनाका लागि आलोचना गरिएका वाक्यांश हुन् । महोत्सबमा १२५ भन्दा बढी लेखकको सहभागिता भएको थियो । तीमध्ये हामीले छापेका लेखक २०, २५ जना थिए होलान् । त्यो आलोचन कति जायज छ, आफै सोच्नुस् ।
 पुस्तकको बजारमा फाइनप्रिन्टका आगामि योजनाका बारे केही भन्न मिल्ला ?
किशोर नेपाल, सुधीर शर्मा, विजयकुमार पाण्डे, सरुभक्त, शिवानीसिंह थारु, झलक सुवेदी लगायतका पुस्तक यस वर्ष आउँदैछन् ।
 प्रकाशक हुनुको नाता तपाईंहरुका भन्न मिल्ने कमजोरी के के हुन् ?
म धेरैजसो प्रकाशकभन्दा लेखक भइदिन्छु ।
 पहिलापहिला त तपाईं अरुलाई रौं बराबर नगन्ने मान्छे । नजिकबाट चिन्नेहरु अजित बरालको बानी अचेल ९० डिग्रीको कोणमा फेरिएको छ भन्छन् । यस्तो कसरी सम्भव भयो ?
पहिला पत्रपत्रिकामा यसो उसो नसोचिकन आफूलाई लागेको कुरा लेखिदिन्थेँ अनि मानिसहरु म घमण्डी छु, मैले अरुलाई गन्दै गन्दिन भन्थे । अहिले अलि डिप्लोम्याटिक हुन थालेको छु, त्यही भएर होला अजित फेरिएछ भन्न थालेका ।
 कहिलेकाहीं फेसबुकमा विवास्दास्पद स्टाटस लेख्नु हुन्छ । जस्तो एकपटक ‘बिहे नगर्दैमा सबै केटामान्छे गे हुँदैनन्’ भनेर लेख्नुको आसय भन्न मिल्ला ?
मैले त्यो फस्ट लभको प्रवर्द्धनका दृष्टिकोणले लेखेको हो । कहिलेकाहीँ फेसबुकमा भिजिबल हुनका लागि अलि हट्केक स्टाटस लेख्नुपर्छ ।
 उमेर ढल्किसक्दा पनि बिहे गर्नु भा छैन । तर बिहे र अफेयरका बारेका स्टाटस खुब लेख्नु हुन्छ । कसैसंगको अफेयरमा हुनुहुन्छ कि क्या हो ?
कसैसँग अफेयर भको भए त के लेख्थेँ र ? नभएर त हो नि … कसैले पनि म सिंगल छु भनेर विश्वासै गर्दैन । तिनीहरुलाई विश्वास दिलाउनका लागि बिहेका अन्ट सन्ट कुरा लेख्नु पर्‍याछ आफूलाई !

,

0 comments

Write Down Your Responses

Powered by Blogger.