चुनाव भाँड्नेलाई गाउँबाट लखेट्न वाइसीएललाई प्रचण्डको निर्देशन

१२ साउन, काभ्रे । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव भाँड्न खोज्नेलाई गाउँबाट लखेट्न वाईसीएललाई निर्देशन दिनुभएको छ ।

वैद्य माओवादीतर्फ इङ्गति गर्दै प्रचण्डले चुनाव भाँड्न केही स्याल गाउँ पसेको भन्दै सिंह बनेर लखेट्न निर्देशन दिनुभएको हो । शनिबार बनेपामा वाईसीएल तेस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो-’केही स्यालहरु चुनाव भाँड्न गाउँ पसेका छन्, सिंह बनेर उनीहरुलाई गाउँबाट लखेट्नुहोस् ।’१० बर्षे जनयुद्धको मर्म संविधानसभाको चुनाव भएको भन्दै उहाँले मतपेटिका फुटाएर बैद्य माओवादीले सहिदको सपनामा बञ्चरो हानेको आरोप लगाउनुभयो ।

राजा महाराजाहरु चुनाव हुन नदिने षड्यन्त्रमा लागेको भन्दै उहाँले बैद्य माओवादीले उनीहरुसँग घाँटी जोड्नु बुझिनसक्नु भएको बताउनुभयो । वैद्यलाई चुनावमा ल्याउन अधिकतम प्रयास गर्ने बताउँदै उहाँले सहमतिमा नआए “भीरमा जाने गोरुलाई रामराम भन्न सकिने, तर काँध थाप्न नसकिने” भनी व्यंग्यसमेत गर्नुभएको थियो । माओवादीलाई दुइपटक औपचारिक पत्रसमेत काटिसकेको जानकारी दिँदै दाहालले सबै दलहरुको सहभागितामा गोलमेच सम्मेलन गराउनसमेत आफु तयार रहेको बताउनुभयो ।

प्रचण्डले मंसिरमा संविधानसभाको निर्वाचन भए अघिल्लो संविधानसभामा भएका सहमतिको स्वामित्व लिँदै ५ महिनाभित्र संविधानको मस्यौदा तयार गर्ने र एक बर्षमा संविधान बनाउने बताउनुभएको छ । अघिल्लो संविधानसभामा अन्तिम समयसम्म सहमतिको प्रयास गर्नु गलत भएको भन्दै उहाँले अब सहमति नभए संसदीय प्रकृयामा लगेर भए पनि पारित गर्ने बताउनुभयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.