लोकसेवाको फाराम भर्न एक लाख !
३ साउन, धनकुटा । लोकसेवाको आवेदन फाराम भर्न एक लाख खर्च गरेको कुरा सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ । तर डोल्पा जिल्लाका एक व्यक्तिले सो फाराम भर्न एक लाख रुपैयाँभन्दा बढी खर्च गरेका छन् ।
लाखा गाविस-४ का कमलबहादुर झाँक्रीले एक लाखभन्दा बढी रकम खर्चेर धनकुटास्थित लोकसेवा आयोगको पूर्वाञ्चल क्षेत्रीय निर्देशनालयमा आवेदन फाराम भरेका छन् ।
उनले स्वास्थ्य सेवाअन्तर्गत हेल्थ असिस्टेन्ट पदमा पिछडिएको क्षेत्रको एउटा कोटाका लागि यति ठूलो रकम खर्चेर आवेदन फाराम भरेका हुन् ।
झाँक्रीले परीक्षा फाराम भर्न डोल्पादेखि नेपालगन्जसम्म फिस्टेल एयरको हेलिकोप्टरबाट आएको बताए । “पश्चिममा हेल्थ असिस्टेन्ट पदमा आयोगले कम सङ्ख्या मागेकाले त्यहाँसम्म आएको हुँ ।” सदरमुकाममा भेटिएका झाँक्रीले भने “सूचना ढिलो गरेर पाइयो, हिँडेर आउने समय नहुँदा दुई लाख खर्च हुने भयो ।”
एकहप्ता अगाडि धनकुटा सदरमुकाम आइपुगेका झाँक्री बुधबारमात्रै आवेदन फाराम भर्न सफल भए । यति ठूलो रकम खर्चेर लोकसेवाको परीक्षा फाराम भर्दा पनि नाम निस्कनेमा भने ढुक्क नभएको झाँक्रीको भनाइ छ ।
झाँक्रीले घर र्फकंदा पनि नेपालगन्जबाट हेलिकोप्टरमै र्फकने बताए । नेपालगन्जबाट हेलिकोप्टर चढ्दा पटके ६० हजारभन्दा बढी खर्च लाग्ने गर्छ । “हिँड्दै जाउँ भने सात दिनभन्दा बढी लाग्छ, त्यसैले यहाँबाट नेपालगन्ज गएर हेलिकोप्टरमा नै जानुपर्ने बाध्यता छ”, झाँक्रीले भने ।
दुर्गममा स्वास्थ्य सेवा गर्ने उद्देश्यले पर्साको वीरगन्जमा रहेको द हिमाल इन्स्टिच्यूट अफ हेल्थ साइन्समा हेल्थ असिस्टेन्ट पढ्नुभएका झाँक्रीले जनताको सेवाका लागि सरकारी जागिरे भएरै छाड्ने सङ्कल्प लिएको बताए । उनले भने, “दुःख गरेर पढियो, ऋण काढेरै जागिरे हुन्छु ।”
लोकसेवा आयोगले तीन वर्षपछि खुलाएको स्वास्थ्य सेवाको चौथो र पाँचौँ तहको विज्ञापनमा पूर्वाञ्चल क्षेत्रीय निर्देशनालयबाट १० हजारभन्दा बढीले आवेदन फाराम भरेको कार्यालयले जनाएको छ । रासस
0 comments
Write Down Your Responses