हात्तीको दाह्रा समाउँदा नाका ठप्प

सिन्धुपाल्चोक- 'चिनियाँ भगाएर' मजदुरलाई मुद्दा लगाएको भन्दै मजदुर आन्दोलित भएपछि तातोपानी नाकाको कारोबार दुई दिनदेखि ठप्प छ। चिनियाँ नागरिकले भाडामा लिएको कन्टेनरबाट हात्तीको एक थान दाह्रा भेटिएपछि चालक सुरजकुमार श्रेष्ठ पक्राउ परेका थिए।

राष्ट्रिय निकुञ्ज ऐनअन्तर्गत मुद्दा चलाइएका उनी अहिले पुर्पक्षमा थुनामा छन्। श्रेष्ठलाई फसाउन खोजेको आरोप लगाउँदै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको रुट ट्रक इकाईले बिहीबारदेखि नाकाको आयात–निर्यात व्यापार ठप्प पारेको हो।

सम्बन्धित निकायले आफ्ना माग अझै बेवास्ता गरेकाले अनिश्चितकालीन राजमार्ग बन्दको घोषणा गरेको इकाइका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले बताए। 'निर्दोष चालकलाई मुद्दा लगाई फसाउन खोजिएको छ,' उनले दाबी गरे, 'रिहा नगरेसम्म आन्दोलनबाट पछाडी हट्दैनौं।' आयात–निर्यात व्यापार रोकिँदा दैनिक औसतमा सवा करोड रुपैयाँ राजस्व संकलन प्रभावित भएको छ।

सामग्रीले भरिएका कन्टेनरले खचाखच हुने तातोपानी भन्सार यार्ड खाली छ। खासाबाट सामग्री लोड गरेर भन्सार झरेका कन्टेनरलाई मितेरी पुल कटेर नेपाली भूभागमा छिर्न दिइएको छैन। झन्डै २ सय ५० कन्टेनर तिब्बतको भूभागमा रोकिएका छन्। 'भन्सार कारोबार रोकिएको छ,' प्रमुख भन्सार अधिकृत मिमांश अधिकारीले भने।

सुटिङका लागि चिनियाँले भाडामा लिएको ना.३ख ७४५६ नम्बरको कन्टेनरमा सशस्त्र प्रहरीले गत वैशाख २० गते हात्तीको दाह्रा फेला पारेको थियो। सेतो टेपले बेरेको पोकाभित्र दाह्रा भेटिएपछि साँगाचोक–३ का चालक श्रेष्ठलाई पक्रेर प्रहरीले अनुसन्धानका लागि गौरीशंकर संरक्षण क्षेत्रलाई बुझाएको थियो। क्षेत्रले जेठ २१ गते चालक श्रेष्ठमाथि थप अनुसन्धान गर्नुपर्ने भन्दै पुर्पक्षका लागि थुनामा पठाएपछि उनी दोलखा जिल्ला कारागारमा छन्।

चिनियाँले फिल्म सुटिङको सामग्री बोक्न ७० दिनको लागि उक्त कन्टेनर भाडामा लिएका थिए। चितवन, पोखरा, पाटनलगायत स्थानमा सुटिङ सकेर सामग्री पुर्यााउन फर्कंदा दाह्रा भेटिएपछि चालक श्रेष्ठ पक्राउ परेका थिए। उनी आफैं कन्टेनरधनी हुन्। चिनियाँले विमल धिमाल र बालकृष्ण कँडेलमार्फत उक्त कन्टेनर भाडामा लिएका थिए।

'दाह्राबारे धिमाल वा कँडेललाई थाहा होला। दाजु निर्दोष छन्,' श्रेष्ठकी बहिनी विमलाले भनिन्। सशस्त्र प्रहरीले चिनियाँलाई भगाएर नियतवश दाजुलाई फसाएको उनको आरोप छ।

'दाह्रा फेला परेपछि चिनियाँसँग तीन घन्टा सशस्त्रको कार्यालयमा छलफल भयो,' उनले भनिन्, 'बिहान १० बजे दाह्रा भेटिएको थियो, साँझ ४ बजे मात्र दाजुलाई पक्राउ गरिएको छ।' सशस्त्र प्रहरीले भने चिनियाँसँग कुनै छलफल नभएको जिकिर गरेको छ। दाह्रा समातिएपछि सामग्रीधनी भनिएका चिनियाँ सम्पर्कमै नआएको उसको दाबी छ।

१२ वर्षदेखि यो नाकामा कन्टेनर चलाउँदै आएका श्रेष्ठ पछिल्लो समय भने गाडी चलाउँदैनथे। कन्टेनरहित अघिल्लो दिन नाकाको दसकिलो भन्ने स्थान पुगेका चिनियाँ, नेपाली सम्पर्क व्यक्ति र मजदुर त्यही बास बसेका थिए। 'चालक बिहानको खाना खान लाग्दा धिमाल र कँडेलले ढिला गरे ट्रक छिराउन समस्या हुन्छ भन्दै दाजुलाई ट्रक चलाउन लगाएका थिए,' बिमलाले भनिन्।

यसैबीच धिमाल बिहीबार काठमाडौंबाट पक्राउ परेका छन्। उनलाई शुक्रबार चरिकोट पुर्या एर अनुसन्धान थालेको संरक्षण क्षेत्रले जनाएको छ। कँडेलको नाममा पक्राउ पूर्जी जारी भए पनि उनी भेटिएका छैनन्।

0 comments

Write Down Your Responses

Powered by Blogger.