गोर्खाल्याण्ड आन्दोलन : मोर्चाका दुई सय ५० नेता पक्राउ

इलाम - आन्ध्रप्रदशेबाट तेलङ्गनालाई छुट्टै राज्यको मान्यता दिइएपछि दार्जिलिङमा चर्किएको गोर्खाल्याण्ड आन्दोलनक्रममा गोर्खा जनमुक्ति मोर्चासम्बद्ध दुई सय ५० हाराहारी नेता तथा कार्यकर्ता पक्राउ परेका छन्। पश्चिम बंगाल प्रहरीले विभिन्न मुद्दा लगाउँदै तीन सातादेखि मोर्चाका नेता र कार्यकर्तालाई पक्राउ गर्नेक्रम जारी राखेको छ। प्रहरीले एकै दिनमा दुई दर्जनसम्म आन्दोलनकारी पक्राउ गरेको छ। आफ्नो आन्दोलन 'गान्धीवादी शैलीको शान्तिपूर्ण' रहेको मोर्चाले दावी गर्दै आएपनि बंगाल सरकारले राष्ट्रिय राजमार्ग अवरोध, सरकारी कार्यालय घेराउ, कालो झण्डा प्रदर्शन आदि आरोपमा आन्दोलनकारीलाई पक्रनेक्रम जारी राखेको हो। स्रोतले जनाएअनुसार, मोर्चाका नेता तथा कार्यकर्ताविरुद्ध बंगाल प्रहरीसँग तीनसय ८२ मुद्दा दर्ता भएका छन्। पक्राउ परेका आन्दोलनकारी जेल र हिरासतमा छन्। बन्दका बेला कार्यालय नजाने कर्मचारीको तलब काटिने र कानुनी कारवाही हुने पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले चेतावनी दिएलगत्तै कालेम्पोङबाट जनमुक्ति कर्मचारी संगठनका अध्यक्ष खड्गविक्रम सुब्बा मंगलबार पक्राउ परेका छन्। कर्मचारीलाई काममा जान रोकेको र मन्त्रीलाई कालो झण्डा देखाएको आरोपमा जुलुसमा सहभागी हुन गइरहेका बेला पक्राउ परेका सुब्बा प्रहरी हिरासतमा छन्। सात बर्षदेखि ब्युँतिएको गोर्खाल्याण्ड आन्दोलनक्रममा उच्छृंखल गतिविधि गरेको, तोडफोड मच्चाएको र जनता भड्काएको जस्ता आरोपमा पनि थुप्रै नेता तथा कार्यकर्ता पक्राउ परिसकेका छन्। मोर्चाका प्रचार प्रसार सचिव विनय तामाङका अनुसार, गोर्खाल्याण्ड टेरिटोरिअल एडमिनिष्ट्रेशन (जिटिए) का मात्रै आधा दर्जन सभासद पक्राउ परिसकेका छन्। उनीहरु प्रहरी नियन्त्रणमा परेपछि आन्दोलन प्रभावित भएको छ। पक्राउ पर्ने जिटिए सभासदहरुमा कल्याण देवान, प्रभा क्षेत्री, अनित थापा, निमा तामाङ, महेन्द्र प्रधान र योगेन्द्र राई छन्। 'प्रहरीले सभासदहरुलाई आइपिसि धारा १४३ अन्तर्गत पक्राउ गरेको भन्दै जेल र हिरासतमा राखेको छ' सचिव तामाङले भने, 'सानोतिनो बखेडा निकालेर पक्राउ गरिएका उनीहरुलाई तत्काल रिहा गरिनुपर्ने हाम्रो माग छ।' ३ अगष्टदेखि चर्किएको आन्दोलनमा यतिधेरै नेता र कार्यकर्ता पक्राउ परेको पहिलोपल्ट हो। मोर्चाले गठन गरेको गोर्खाल्याण्ड पर्सनल (जिएलपी) ले अवैधरुपमा सेनाको पोशाक लगाएको र सरकारी आवासलाई आफ्नो शिविर बनाएको आरोपमा पनि प्रहरीले थुप्रै जिएलपी जवानलाई पक्राउ गरिसकेको छ। यस्तै, बंगालकी मुख्यमन्त्री बनर्जीलाई 'वी वान्ट गोर्खाल्याण्ड' लेखिएको प्लेकार्ड देखाएको मुद्दामा पक्राउ परेका मोर्चाका नेता तथा दार्जिलिङ नगरपालिकाका पार्षद शुभमय चटर्जीलाई १४ दिनको न्यायिक हिरासतमा राखिएको छ। दिनैपिच्छेजसो आफ्ना नेता तथा कार्यकर्ता पक्राउ पर्नेक्रम नरोकिएपछि आन्दोलन चर्काइरहेको मोर्चा बंगाल प्रहरीसँग रुष्ट छ। 'कानुनसम्मत किसिमले छुट्टै राज्य माग्दा आन्दोलन दबाउन यसरी मान्छे पक्रिनु हुँदैन' मोर्चाका अध्यक्ष विमल गुरुङले भरखरै भनेका थिए, 'जेल र हिरासतमा हाम्रा कार्यकर्ता जति थुनिए पनि आन्दोलन जारी रहन्छ।' पक्राउ परेका नेता तथा कार्यकर्ता छिटो रिहा नभए झन चर्को आन्दोलन गर्ने गुरुङको चेतावनी छ। भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.