मनाङको शतप्रतिशत जित

काठमाडौ, श्रावण २३ - लक्ष्मी हुन्डाई मनाङ-मस्र्याङ्दीले योना इलियस र सुजल श्रेष्ठको ह्याटि्रक सहयोगमा बंगलादेशको आरम्बाग क्रिरा संघलाई ७-० ले मंगलबार हराएर भुटानमा भइरहेको किङ्स कप फुटबलको समूह चरणमा शतप्रतिशत जित हात पारेको छ । मनाङ लगातार चौथो जितसँगै १२ अंक बटुल्दै समूह 'ए' विजेता भयो ।

गोर्खा कप च्याम्पियन मनाङले किङ्स कपको सेमिफाइनलमा युनाइटेड सिक्किमविरुद्ध शुक्रबार खेल्नेछ । भारतको पहिलो डिभिजनको फुटबल 'आई लिग' बाट पछिल्लो सिजन रेलिगेसनमा परेको युनाइटेड सिक्किम समूह 'बी'को उपविजेता हो । किङ्स कपको पहिलो सेमिफाइनलमा सहिद स्मारक 'ए' डिभिजन लिग च्याम्पियन लक्ष्मी बैंक थ्रीस्टार र भुटानी लिग च्याम्पियन यिदजन विहीबार भिड्नेछन् । थ्रीस्टार समूह 'बी' विजेता र यिदजन समूह 'ए' को उपविजेता हुन् ।

राम्रो खेल पस्कदै आएका फरवार्ड दीपक राईले रातो कार्ड बेहोर्दै ३२ औं मिनेटमै मैदान छाडेपछि मनाङ दस खेलाडीमा समेटिएको थियो । सन् २००४ को उपविजेता मनाङले त्यसपछि बंगलादेशको पहिलो डिभिजनको लिगबाट पछिल्लो सिजन रेलिगेसनमा परेको आरम्बागविरुद्ध आक्रमक खेल पस्कियो । तैपनि थिम्पुस्थित चाम्लिमिथाङ स्टेडियममा गोलको खाता खोल्न पहिलो हाफको इन्ज्युरी टाइम नै कुर्नुपर्‍यो । इन्ज्युरी टाइमको दोस्रो मिनेटमा विशाल राई 'बी'ले उपलब्ध गराएको बललाई योनाले पोस्टको दिशा दिँदै मनाङलाई १-० ले अघि बढाए ।

बंगलादेशी खेलाडी विप्लवले ६३ औं मिनेटमा पेनाल्टी क्षेत्रमा योनालाई फल खेलेपछि मनाङले पेनाल्टीको अवसर पायो । विप्लवले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि दुवै टिममा १०-१० भयो । र, पेनाल्टीलाई योनाले गोलमा परिणत गरेपछि मनाङको अग्रता २-० बन्यो । तान्जानियाली फरवार्ड योनाले ७६ औं मिनेटमा ह्याटि्रक पूरा गरे । त्यसअघि ६७ औं मिनेटमा सुजल श्रेष्ठ र ७३ औं मिनेटमा अनील ओझाले गोल गरेका थिए ।

मनाङले अन्तिम २३ मिनेटमा ५ गोल गर्‍यो । दीपकले रातो कार्ड बेहोरेपछि योनासँगै फरवार्ड लाइनको जिम्मेवारी पाएका कप्तान सुजलले ७७ औं मिनेटमा गोल गर्दै मनाङलाई ६-० को अग्रता दिलाए । उनले ८८ औं मिनेटमा खेलको अन्तिम गोल गर्दै ह्याटि्रक आत्मसात गरे । नौ बर्षपछि आयोजित किङ्स कपको एकै खेलमा दुई ह्याटि्रक पहिलोपल्ट भएको हो । र, प्रतियोगिताको १६ खेलमा मनाङले सबैभन्दा फराकिलो जित हात पार्‍यो ।

'पहिलो हाफमा दस खेलाडीमै सीमित भएर पनि राम्रो खेल्यौं,' मनाङका कार्यवाहक प्रशिक्षक हेमन्त आलेले टेलिफोनमार्फत् थिम्पूबाट भने, 'प्रत्येक खेलमा सुधार भइरहेको छ । मनोबल उच्च बनेको छ । त्यसैले सेमिफाइनलमा सिक्किमलाई पराजित गर्नेमा विश्वस्त छौं ।' दीपकले सेमिफाइनल गुमाउने भए पनि त्यसले टिममा खास फरक नपर्ने उल्लेख गर्दै उनले भने, 'अग्रपंक्तिमा योना र सुजललाई खेलाउनेछौं । सुजलले फरवार्डको रूपमा पनि राम्रो खेल्दै आएका छन् ।'

साफ च्याम्पियनसिपको तयारीमा बहराइन पुगेको २५ सदस्यीय नेपाली राष्ट्रिय टिममा छनोट नभएका मिडफिल्डर शिव श्रेष्ठ र सुलभ मास्के बुधबार थिम्पू प्रस्थान गर्दैछन् । 'उनीहरूको आगमनसँगै टिम थप बलियो हुनेछ,' आलेले भने । मुख्य प्रशिक्षक अमृत पन्त बिरामी भएर स्वदेश फर्केपछि आलेले मनाङको टिम सम्हालिरहेका छन् । मनाङले समूह चरणमा यसअघि यिदजनलाई ३-१, मोहन बगान सेल एकेडेमीलाई १-० र एनएमबी मछिन्द्रलाई १-० ले हराएको थियो ।



मनाङ ७-० आरम्बाग
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.