यसरी भयो ‘गोलमेच सम्मेलन’मा सहमति

६ भदौ, काठमाडौं । लामो विवाद र छलफलपछि उच्चस्तरीय राजनीतिक समिति र ३३ दलीय मोर्चावीच सर्वपक्षीय गोलमेच सम्मेलन गर्ने सहमति भएको छ । बिहीबार विहान करिब ३ घण्टा नयाँ बानेश्वरमा भएको वार्तामा माओवादी अध्यक्ष मोहन वैद्यले मंसिर ४ को चुनावमा आउने बताएपछि प्रमुख दलहरु गोलमेच सम्मेलन गर्न सहमत भएका हुन् । गोलमेच कसरी गर्ने भन्ने खाका शनिबार तयार पारिने भएको छ ।
यसरी भयो सहमति
वैद्य नेतृत्वको ३३ दलीय मोर्चा र उच्चस्तरीय राजनीतिक समितिवीच विहान ९ बजे वार्ताको समय तय गरिएको थियो । वार्तास्थलमा नेताहरु भेला भइसक्दा पनि एमाले नेता माधव नेपाल र केपी शर्मा ओली आएसक्नुभएको थिएन । माधवजी आधा घण्टामा आउनुहुन्छ भन्ने सूचना पाएपछि नेताहरुले केहीबेर कुरेका थिए । तर, कांग्रेस सभापति सुशील कोइरालाको छेवैमा बस्नुभएका एमाले अध्यक्ष झलनाथ खनालले ‘माधवजी आउनुभएन अब शुरु गरौं’ भनेपछि सुशील कोइराला बोल्न थाल्नुभएको थियो ।छेउमा बस्नेलेमात्रै बुझिने गरी बोल्नुभएका सभापति कोइरालाले अहिले परिस्थिति जटिल रहेको र वैद्यजीहरुको मोर्चालाई पनि सहभागी गराएर मात्रै चुनावमा जान सकिने भएकाले मोर्चा पनि चुनावमा आउन जरुरी छ, तपाईहरु मंसिर ४ को चुनावमा आउनोस् भनेर आग्रह गर्नुभएको थियो ।
कोइराला बोल्दाबोल्दै वार्तास्थलमा प्रवेश गर्नुभएका एमाले नेता माधव नेपालले उहाँलाई क्रस गर्दै भन्नुभयो, ‘सहमतिको विन्दू खोजौं । वैद्यजीहरुले गरिरहनुभएको कुरा सुन्दा सहमतिको विन्दू खोज्न सकिन्छ भन्ने मलाई लाग्छ ।’ वार्ता कक्षमा माधव नेपालले दिएको अभिव्यक्तिले वातावरणलाई सहमतितिर धकेलेको एक सहभागी नेताले अनलाइनखरलाई बताए । स्रोतका अनुसार माधव नेपालले सहमतिको विन्दू खोज्न सकिने बताउनुअघिसम्म एमाले अध्यक्ष झलनाथ खनालले गोलमेच भनेको के हो ? यही वार्तालाई पनि गोलमेच मान्न सकिन्छ भनिरहनुभएको थियो । पछि खनाल खासै बोल्नुभएन ।
वार्तास्थलमा ३३ दलका तर्फबाट बोल्दै माओवादी नेता मोहन वैद्यले राष्ट्रिय सहमति भयो भने हामी मंसिर ४ को चुनावमा भाग लिन तयार छौं भनेपछि प्रचण्डले खुशी हुँदै भन्नुभयो, ‘ल आज पोजेटिभ भयो, वैद्यजीहरु मंसिर ४ को चुनाव सार्न लाग्नुभएको छ कि भन्ने लागेको थियो, तर आज कुरा सुन्दा चुनावमा जानेजस्तो लाग्यो, यस्तो हो भने हामी गोलमेच सम्मेलनमा जान तयार छौं ।’ प्रचण्डले जस्तै बाबुराम भट्टराईले पनि उहाँहरु छुट्टै कोर्समा जान लाग्नुभएको हो कि भन्ने लागेको थियो, तर यो प्रक्रियामा आउन चाहुनभएको रहेछ भन्दै खुशी व्यक्त गर्नुभएको थियो ।
वैद्यपक्ष चुनावमा आउने र सरकारले गोलमेच गर्ने सहमतिपछि कांग्रेस नेताहरु सबैभन्दा बढी खुशी देखिएको सहभागी नेताहरुको अनुभव छ । एमाले नेता माधव नेपाल पनि खुशी देखिनुभएको स्रोतले बतायो । आर्का एमाले नेता केपी ओली भने वार्ता सकिनलाग्दा उपस्थित हुनुभएकाले उहाँले खासै बोल्ने अवसर पाउनुभएन । वार्तामा उपस्थित उपेन्द्र यादव मोर्चा नेताहरुले पनि बोल्ने अवसर पाएनन् ।
गोलमेचको खाका शनिबार तय हुने
गोलमेच सम्मेलन गर्नेमा सबै सहमति भएपछि ३३ दलीय मोर्चा र उच्चस्तरीय राजनीतिक समितिवीच छुट्टाछुट्टै बैठक बसेको थियो । अलग बैठकमा ३३ दलीय मोर्चाले गोलमेचमा सहमत भएको भन्दै राजनीतिक समितिलाई धन्यवाद दिने निर्णय गरेको सहभागी नेताले जानकारी दिएका छन् । गोलमेच सम्मेलन गर्ने सहमति गरे पनि कसरी गर्ने भन्नेबारेमा स्पष्ट खाका बनेको छैन । यसबारे ३३ दलीय मोर्चा र उच्चस्तरीय राजनीतिक समितिले आ-आफ्नो अवधारणासहित शनिबार पुनः वार्ता गर्ने भएका छन् । वार्ताको समय सुशील कोइराला र मोहन वैद्यको आपसी सहमतिमा तय गरिने भएको छ ।
‘मुलुक अब गोलमेच सम्मेलनमा गयो ।’ शनिबार हामी यसको खाकासहित वार्तामा प्रस्तुत हुनेछौं, उहाँहरु आफ्नो अवधारणासहित आउनुहुनेछ ।’ ३३ दलीय मोर्चाका मणि थापाले अनलाइनखबरसँग भन्नुभयो,’ सरकार पक्ष गोलमेचलाई ‘ट्याक्टिकल’ बनाउने योजनामा छ, तर हामी यसलाई रणनीतिकरुपमा प्रयोग गर्ने र एउटा उच्चस्तरको सहमतिका रुपमा अन्तरराष्ट्रिय रुपमै म्यासेज दिने सोचाइमा छौं ।’
सर्बपक्षीय बैठक बोलाउने सहमति
बैठकपछि पत्रकारसँग कुराकानी गर्दै नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिनुभएको छ । त्यस्तै एमाले पोलिट्ब्युरो सदस्य रघुजी पन्तले गोलमेच वा सर्बदलीय बैठक भन्नेबारे दलहरुसँगको छलफलपछि सहमतिमा पुगेपछि सम्मेलनको समय तोकिने बताउनुभयो ।
अशोक राईसँग पनि आजै वार्ता
३३ दलीय मोर्चासँग गोलमेच सम्मेलन गरेपछि उच्चस्तरीय राजनीतिक समितिले अशोक राई नेतृत्वको संघीय समाजवादीसँग पनि आजै वार्ता गर्ने निर्णय गरेको छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.