चार जना पति भएकी हरिकलाका तीन नागरिकता
५ भदौ, गुल्मी । सामान्यतया महिला पीडित र पुरुष पीडक हुन्छन् भन्ने आमधारणा पछिल्ला केही घटनाले गलत बनाएको छ । विशेषगरी विवाहको नाटक गरेर आर्थिक रूपमा सम्पन्न पुरुषबाट रकम र सम्पत्ति ठग्ने क्रम पछिल्लो समयमा बढ्दै गइरहेको छ । सम्पत्तिकै लागि गुल्मीकी हरिकला सूर्यवंशीले चारजना पुरुषसँग विवाह गरेकी छन् । त्यति मात्र होइन, उनले तीनओटा नागरिकतासमेत बनाएकी छन् । रमाइलो कुरा के छ भने पहिलो नागरिकता विवाहिता भनेर बनाएकी उनले दोस्रो अविवाहित र तेस्रो विवाहित भनेर बनाएकी छन् । पहिलो पटक विवाहित भन्दै श्रीमान्को नाम उल्लेख गरेको नागरिकता बनेको झन्डै डेढ वर्षपछि उनले अविवाहितका रूपमा नागरिकता बनाएकी हुन् । उनका तीनैओटा नागरिकतामा पुरण गिरीले प्रमाणपत्र दिने अधिकारीका रूपमा हस्ताक्षर गरेका छन् । उनले पहिलोमा कामु प्रमुख जिल्ला अधिकारीका रूपमा नागरिकता दिएका थिए भने तेस्रोमा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा हस्ताक्षर गरेको राजधानी दैनिकमा खबर छ । दोस्रो नागरिकता बनेको झन्डै डेढ वर्षपछि उनले प्रतिलिपिका रूपमा तेस्रो नागरिकता बनाएकी थिइन् । डेढ वर्षअघि विवाहित महिलाका रूपमा नागरिकता प्रमाणित गरेकै व्यक्तिले पछि अविवाहितका रूपमा प्रमाणित गरेकाले उनको संलग्नता रहेको पीडितहरू बताउँछन् । दोस्रो श्रीमान् गोविन्द बानियाँ भन्छन्, ‘पहिले विवाहित, पछि अविवाहित र फेरि अर्को प्रतिलिपिका रूपमा विवाहित लेखेर नागरिकता बनाइएको छ, यी सबैमा पुरण गिरीको हस्ताक्षर रहेको छ, कतै उनको पनि संलग्नता छ कि बुझ्न खाँचो छ ।’ महिलालाई मात्र नभई सरकारकै कर्मचारी भएर किर्ते नागरिकता बनाउन यदि सहयोग गरेको भए उनलाई समेत कारबाही हुनुपर्ने पीडित गोविन्दको माग छ । पुरण गिरी अहिले जिल्ला प्रशासन कार्यालय स्याङ्जामा कार्यरत छन् । अविवाहितका रूपमा नागरिकता बनेको दुई सातापछि राहदानी बनाउँदा पनि उनी गुल्मी जिल्ला प्रशासन कार्यालयमा नै कार्यरत थिए । पहिलो नागरिकतामा भएको नाम, जन्ममिति दोस्रो र तेस्रो नागरिकतामा मिल्दैन । पहिलो नागरिकतामा उनको नाम हरिकला झाँक्री छ । दोस्रो नागरिकतामा गीतादेवी सूर्यवंशी लेखिएको छ । गोविन्द बानियाँसँग विवाहपछि तेस्रो नागरिकतामा गीतादेवी बानियाँका नाममा नागरिकता बनाइएको छ । पहिलो नागरिकतामा उनको जन्ममिति २०४०/१२/२७ रहेको छ भने दोस्रो र तेस्रो नागरिकतामा २०३८/१२/२८ रहेको छ । सबै नागरिकतामा जन्म स्थान र बाबुको नाम/थरमा भने फरक छैन । उनले पहिलो नागरिकता २ जेठ २०६४ मा, दोस्रो नागरिकता १८ कात्तिक २०६५ र त्यसको प्रतिलिपि २०६६/१२/१३ मा बनाएकी थिइन् । पहिलो नागरिकताको नम्बर ४११०१७ हो भने दोस्रोको ४११०२० हो । पहिलो पटक लिलबहादुर झाँक्रीसँग विवाह गरेकी उनकै नामबाट नागरिकता बनाएकी थिइन् । श्रीमान्को मृत्युपछि उनी कुवेतसमेत गइन् । पहिलो नागरिकता बनाएको डेढ वर्षमा त्यहींबाट दोस्रो पटक अविवाहितका रूपमा नागरिकता बनाइन् । उनले दोस्रो नागरिकताका आधारमा राहदानी बनाएकी हुन् । कुवेतबाट फर्किएपछि बालाजुको एउटा होटलमा काम गर्दै आएकी थिइन् । आफू टोल सुधार समितिको अध्यक्ष हुँदा रोजगारी खोजिदिन भन्दै आफूसम्म आइपुगेको गोविन्द गिरी बताउँछन् । गिरीसँग भेट भएको झन्डै दुई साता बित्न नपाउँदै उनले माओवादीमा उजुरी हालिन् । गिरी भन्छन्, ‘नचाहँदा पनि जबर्जस्ती उनीहरूले विवाह गर्न बाध्य गरे ।’ बाध्यताले मनमैजुमा कोठा खोजेर राखे पनि आफ्नो परिवार भएकाले आफूले बेवास्ता गरेको उनले बताए । त्यही बीचमा उनले पहिलो पतिसँग अंश लिएकी हुन् । गिरीले भने, ‘उनको खर्च भने त्यतिबेला पनि बेहोर्दै आएको थिएँ ।’ उनले गिरीलाई सुरुका दिनमा राम्रो व्यवहार देखाएरै नागरिकता बनाउन भनिन् । नमानेपछि विभिन्न पक्षबाट धम्की दिएको र आफूले बाध्य भएर म्याग्दी गएर पत्नीका रूपमा नागरिकता दिलाएको उनले बताए । त्यतिबेलासम्म उनलाई उनको दोस्रो नागरिकताका बारेमा जानकारी भए पनि पहिलो नागरिकताका बारेमा जानकारी थिएन । आफूसँग विवाह हुँदा अविवाहित भने पनि आफैंले उनको विवाह भएको र दुईओटा सन्तान भएको पत्तो लगाएको उनले बताए । नागरिकता बन्नासाथ आफूसँग ३५ लाख माग गरेको उनी बताउँछन् । उनले भने, ‘सम्पत्ति वा अरू कुरा नभई उसले नगद र त्यो पनि मागेजति नै दिन धम्की दिन थालिन् ।’ त्यही क्रममा पहिलो नागरिकताको रहस्य खुल्यो । ‘त्यसपछि नै मैले जालसाँझी नागरिकताको मुद्दा हालेको हो,’ उनले भने । गिरीसँग अंश मागेपछि उनले वीरबहादुर तामाङसँग विवाह गरेकी थिइन् । झन्डै डेढ वर्षको अवधिमा विभिन्न बहानामा उनले तामाङलाई पनि सक्दो ठगिन् । आफूलाई सक्दो ठगेर अर्काेसँग विवाह गरेपछि तामाङ पनि उनको खोजी गर्न र कानुनी उपचार खोज्न गिरीलाई घचघच्याउने गर्छन् । भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
|
0 comments
Write Down Your Responses