केही गर्ला त नेपालले ?

काठमाडौं - दक्षिण एसियाली फुटबलमा नेपाल एउटा यस्तो 'डार्कहर्स' हो, जो हरेकखाले नतिजा आत्मसात गर्न सक्षम मानिन्छ। तर, संयोग क्षेत्रीय फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपमा नेपालको नतिजा कहिल्यै सन्तोषजनक रहन सकेको छैन। सन् १९९७ मा काठमाडौंबाट औपचारिक सुरु दक्षिण एसियाली महासंघीय फुटबल (साफ) च्याम्पियनसिपले सात संस्करण पार गरिसक्दा समेत नेपालले एउटै पदक जित्न सकेको छैन। 


फाइनल पनि पुगेको छैन। पहिलो साफमा दशरथ रंगशालामा समूह चरणबाटै यात्रा टुंग्याएको नेपालले प्रतियोगितामा पाएको ठूलो सफलता भनेको १९९९ मा गोवा र २०११ मा नयाँ दिल्लीमा सम्पन्न साफ च्याम्पियनसिपका दुई संस्करणमा सेमिफाइनलसम्म पुग्नु हो। त्यसबाहेक २००२ मा बंगलादेशको ढाकामा सम्पन्न तेस्रो साफ च्याम्पियनसिप, २००५ मा पाकिस्तानको कराँचीमा सम्पन्न चौथो संस्करण २००८ मा श्रीलंका र माल्दिभ्सले संयुक्त गरेको पाँचौं र ढाकामै २००९ मा भएको छैटौं संस्करणमा लगातार चारपल्ट नेपाल समूह चरणबाटै बाहिरिएको थियो। 
हरेकपल्ट उपाधि लक्ष्य बनाउँदा विपक्षीबाट पाउने सम्मान मात्र अन्तमा नेपालको सन्तोष गर्ने आधार बन्ने गरेको छ। हरेक पटक दक्षिण एसियाको डार्क हर्स अँध्यारो नतिजामा चित्त बुझाएर फर्कनुबाहेक सफलताका लागि लायक बन्न नसकेको इतिहास जिउँदो छ। यस्तै सिलसिलामा नेपाली राष्ट्रिय टिम फेरि एकपटक क्षेत्रीय फुटबलको मेलालाई तयारी गरिरहेको छ। घरमै शनिबारबाट भदौ २५ सम्म हुने प्रतियोगितामा नेपाल पाँचपटकको च्याम्पियन भारतसहित पूर्वविजेता माल्दिभ्स र पाकिस्तानसम्मिलित 'ग्रुप अफ डेथ' मा परेको छ।
भारत यसैमा दक्षिण एसियाको महारथी हो भने माल्दिभ्स २००९ मा एसियाली वर्ष खेलाडी पुरस्कारको मनोनयनमा परेका अली अस्फाकजस्ता खेलाडीको प्रेरणामा उच्च प्रदर्शन गरिरहेको टिम हो। पाकिस्तानसँग पनि पछिल्लो नतिजा नेपाली टोलीका लागि सुखद छैन। गतवर्ष काठमाडौंमा नेपालसँग औपचारिक मैत्री खेल खेल्दा पाकिस्तान १–० ले विजयी भएको थियो। त्यसैले नेपालका लागि यसपालि चुनौती झन थपिएको छ। 
त्यसो त नेपाल हरेक संस्करणमा कठिन समूहमा परेको थियो। भारतको नयाँ दिल्लीमा सम्पन्न पछिल्लो संस्करणमा अफगानिस्तानसँग सेमिफाइनलमा पराजित भएर घर फर्किनुअघि माल्दिभ्स र पाकिस्तानसँग बराबरी खेलेको नेपाल बंगलादेशलाई १–० ले हराएर सेमिफाइनल पुगेको थियो। त्यसअघि माल्दिभ्सको पाँचौं संस्करणमा नेपाल आयोजकसहित भारत र पाकिस्तानको समूहमा थियो। त्यति खेर भारत र माल्दिभ्ससँग पराजित भएर समूहबाट बाहिरिएको नेपालले सान्त्वनास्वरुप पाकिस्तानलाई ४–० ले हरायो। उक्त संस्करणको फाइनल भारत र माल्दिभ्सले नै खेलेका थिए। 
कराँचीमा सम्पन्न चौथो साफ च्याम्पियनसिपमा पनि नेपाल बंगलादेश र भारतसँग पराजित भएर सेमिफाइनल पुग्न वञ्चित ह्ुँदा भारतले प्रतियोगिता जित्यो। फाइनलमा भारत र बंगलादेश नै भिडेका थिए। भारतसँग नेपालको पराजयअन्तर २–१ थियो भने टोलीले बंगलादेशसँग २–० ले नतिजा सुम्पेको थियो। 
चौथो र पाँचौं दुवै संस्करणमा भारतीय टिमको नेतृत्व सम्हालेका भाइचुङ भुटियाले नेपाली टिमलाई हराउनु निकै कठिन भएको बताएका थिए। चौथो साफ च्याम्पियनसिपको उपविजेता बंगलादेशका तत्कालीन अर्जेन्टिनी प्रशिक्षक डिएगो क्रुसियानीले समूह चरणको खेलमा नेपाललाई हराएपछि भनेका थिए, 'नेपाल प्रतियोगिताकै सर्वोत्कृष्ट टिम हो। नेपाललाई हराएपछि अब मलाई उपाधि जित्ने आत्मविश्वास बढेको छ।'
यसपालि पनि विपक्षीबाट प्रशंसा पाउने क्रम प्रतियोगिताभन्दा पहिला सुरु भइसकेको छ। नेपालको समूहमा नरहेको अफगानिस्तानका प्रशिक्षक मोहम्मद युसुफ कारगरले अघिल्लो हप्ता काबुलमा पाकिस्तानलाई हराएपछि साफ च्याम्पियनसिप जित्ने आशाका साथ भनेका थिए, 'दक्षिण एसियामा भारत, माल्दिभ्स र नेपाल सधैंका बलिया टोली हुन्।'
बंगलादेशका डच प्रशिक्षक लोडेब्जिक डी क्रायफले पनि भारतलाई सधैंको दाबेदार भन्दै नेपालसँग घरेलु मैदान र दर्शकको फाइदा हुने बताउँदै आफूलाई दाबेदारको सूचीमा राखेका छैनन्। अघिल्लो संस्करणमा भारतलाई उपाधि जिताउँदा ७ गोल गरेर उच्च गोलकर्ताका साथै उत्कृष्ट खेलाडी बनेका कप्तान सुनील क्षेत्रीले पनि नेपाललाई कमजोर नआँक्ने बताइसकेका छन्। मंगलबार काठमाडौं आइपुगेका उनले नेपाल आफैमा राम्रो टोली भएको र यसपालि घरेलु मैदान र समर्थकको साथ रहने भएकाले नेपाल बलियो भएको बताए।
विगतमा नतिजा नआए पनि विपक्षीबाट पाउने प्रशंसा नेपालका लागि सान्त्वना हुने गरेको थियो। यसपालि अवस्था फरक छ। लामो तयारी, घरेलु मैदान र अघिल्लो संस्करणबाट फेरिएको छविका दबाब नेपाली टोलीसँग मैदान उत्रँदा हुनेछ। अघिल्लो संस्करणमा सेमिफाइनल पुगेपछि नेपाली टोलीको छवि 'डार्क हर्स' बाट दाबेदारका रूपमा फेरिएको छ। जसका कारण अनुकूल नतिजा नआए विगतमा झै 'राम्रो खेल्दा खेल्दै दुर्भाग्यले हारियो' भन्ने तयारी जवाफ यसपालि काम नलाग्न सक्छ। किनकि समर्थक हरेक क्षण टोलीलाई हौस्याउन साथमै रहने छन्। 
नेपाली टोलीका प्राविधिक निर्देशक कृष्ण थापा यसपालि आशा गर्ने थुप्रै ठाउँ भएको बताउँछन्। खेलाडीको फिटनेस स्तर इतिहासमै उच्च भएको बताउने उनी फरवार्डहरू गोल गर्ने लयमा फर्कनु सकारात्मक ठान्छन्। तयारीमा हरेक क्षण टोलीसँगै रहेका थापा भन्छन्, 'यसपालि अत्यन्तै राम्रो तयारी भएको छ। खेलाडीहरू पूरा ९० मिनेट खेल्दा पनि थाकेका देखिदैनन्। बहराइन र कुवेतमा प्रदर्शन राम्रो भएको छ। टोली उपाधि घरमा राख्ने लक्ष्यमा पूरा तयार छ।' 
साफ च्याम्पियनसिपलाई असार ३ देखि औपचारिक तयारी सुरु गरेको नेपाली टोलीले तीन साता बहराइन र कुवेतको अभ्यास भ्रमण गरेको हो। भ्रमणमा बहराइनमा दुई तथा कुवेतमा तीन खेल खेल्दा नेपालले ४ जित पाएको थियो। बहराइनको यु–२३ सँग ३–० को पराजय भोगेपछि नेपाली टोली त्यहाँको स्थानीय क्लब रिफालाई १–० को नतिजामा हराएर कुवेत लागेको थियो। कुवेतमा त्यहाँका तीन स्थानीय टोलीसँग मैत्रीपूर्ण खेल्दा नेपाल सबै खेलमा विजयी भयो। कुवेतमा त्यहाँको राष्ट्रिय यु–२० टोलीलाई २–० ले हराएपछि स्थानीय क्लब अल अरबीलाई ८–२ तथा फाहलिल एफसीलाई ३–० ले हराएको थियो। 
खाडी यात्रामा ५ गोल खाँदै १४ गोल गर्न सफल टोलीका लागि अनिल गुरुङले चार, विमल घर्तीमगरले तीन, सन्तोष साहुखल र टेकबहादुर बुढाथोकीले दुई, जुमानु राई, निराजन खड्का र विजय गुरुङले एक/एक गोल गरेका थिए। 

साफ च्याम्पियनसिपमा नेपालको प्रदर्शन

– दक्षिण एसियाली गोल्डकप (जुलाई १६–२३ १९९३, लाहोर, पाकिस्तान)
पाकिस्तानसँग १–१ को बराबर
श्रीलंकासँग ०–० को बराबर
भारतसँग १–० को हार
– सार्क ब्रिस्टल गोल्डकप (मार्च २५–३१ १९९५, कोलम्बो, श्रीलंका)
बंगलादेशसँग २–० ले पराजित
पाकिस्तानसँग २–० ले विजयी
सेमिफाइनल 
श्रीलंकासँग २–१ ले पराजित

पहिलो साफ च्याम्पियनसिप (सन् १९९७ काठमाडौं, नेपाल)
पाकिस्तानसँग २–० ले पराजित
श्रीलंकासँग ३–१ ले पराजित (दीपक अमात्य) 
पहिलो चरणबाटै बाहिर

दोस्रो साफ च्याम्पियनसिप (सन् १९९९ गोवा,भारत)
लिग चरण
श्रीलंकामाथि ३–२ को जित (नरेश जोशीको ३ गोल, नेपालका लागि दोस्रो ह्याटि्रक)
माल्दिभ्ससँग ३–२ ले पराजित (हरि खड्काको २ गोल)

सेमिफाइनल 
बंगलादेशसँग २–१ ले पराजित (बालगोपाल महर्जन)

तेस्रो स्थान
माल्दिभ्ससँग २–० ले पराजित 

तेस्रो साफ च्याम्पियनसिप (सन् २००३ ढाका बंगलादेश)
बंगलादेशसँग १–० ले पराजित
भुटानमाथि २–० को जित (निराजन रायमाझी, कुमार थापा)
माल्दिभ्ससँग ३–२ ले पराजित (निराजन रायमाझी, देवनारायण चौधरी)
पहिलो चरणबाटै बाहिर

चौथो साफ च्याम्पियनसिप (सन् २००५ कराँची, पाकिस्तान)
भारतसँग २–१ ले पराजित (बसन्त थापा)
बंगलादेशसँग २–० ले पराजित 
भुटानमाथि ३–१ को जित (वसन्त थापा, विजय गुरुङ, सुरेन्द्र तामाङ) 

पाँचौं साफ च्याम्पियनसिप (सन् २००८, माले माल्दिभ्स)
भारतसँग ४–० ले पराजित
माल्दिभ्स ४–१ ले पराजित (बिसन गौचन)
पाकिस्तानमाथि ४–१ को जित (जुमानु राईको २, निराजन रायमाझी, राजु तामाङ) 

छैटौं साफ च्याम्पियनसिप (डिसेम्बर ४–१४, २००९, ढाका बंगालादेश)
माल्दिभ्ससँग १–१ को बराबरी (जुमानु राई) 
भारतसँग १–० ले पराजित 
अफगानिस्तानमाथि ३–० को जित (अनिल गुरुङ, विजय गुरुङ) 

सातौं साफ च्याम्पियनसिप (सन २०११ डिसेम्बर ३–११, नयाँ दिल्ली, भारत)
माल्दिभ्ससँग १–१ को बराबरी (सन्दिप राई)
बंगलादेशसँग १–० को जित (सागर थापा)
पाकिस्तानसँग १–१ को बराबरी (भरत खवास)
सेमिफाइनल 
अफगानिस्तानसँग १–० ले पराजित
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.