पोखरा — एकसुरले पढाइ भइरहेका बेला सुरक्षाकर्मीसहितको दलबल एक्कासि कक्षाकोठामा प्रवेश गर्दा कस्तो होला ? कतिपय विद्यार्थी त बाहिर के–के नै भयो होला भनेर डराउँछन् पनि। कास्की प्रशासनले मोबाइल, मोटरसाइकल र मिनिस्कर्टसहित जंकफुडको प्रयोगबारे यसरी नै झुक्याएर बिहीबारदेखि यहाँका उच्चमावि अनुगमन गर्न थालेको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी यादव कोइरालासहितको टोली एक्कासि कक्षामा प्रवेश गर्दै विद्यार्थीलाई उठ्न लगाएर मोबाइल निकाल्न भन्दा कतिपय विद्यार्थी डराएर रातोपिरो भएका थिए। मोटरसाइकल, मोबाइल र मिनिस्कर्टले शैक्षिक वातावरण उल्लंघन गरेको भन्दै नियन्त्रणका लागि अनुगमन गरेको कोइरालाले बताए । स्वास्थ्यका लागि हानिकारक हुने भन्दै जंकफुड प्रयोगबारे पनि जानकारी लिएको उनले बताए । मोबाइल, मोटरसाइकल र मिनिस्कर्टले शैक्षिक वातावरणमा असर पु¥याएकाले त्यसलाई रोक्न कडाइ गर्न थालेको उनले जनाए । 'नैतिक शिक्षाका लागि हामीले अनुगमन गरेका हौं, अधिकांश विद्यार्थी मोबाइल बोकेर कक्षामा जाने र पढ्नुको सट्टा गेम खेलेर र च्याट गरेर बस्ने गरेको गुनासो छ,' उनले भने, 'मोबाइलले विद्यार्थीको पढाइमा असर गरेको छ । अभिभावकको लगानी पनि डुब्ने गरेको छ ।' पढ्न भन्दै स्कुल गएका बच्चा मोबाइलमा भुलेपछि उनीहरूको परीक्षाको परिणाम पक्कै राम्रो नआउने भएकाले पनि यसलाई रोक्नुपर्ने उनले बताए । उच्च माध्यमिक शिक्षा परिषद्ले उच्चमावि तहका विद्यार्थीले विद्यालय जाँदा मोटरसाइकल चलाउन, छोटो स्कर्ट लगाउन र मोबाइल प्रयोग गर्न नपाउने गरी आचारसंहिता जारी गरेपछि त्यसको पालना भए÷नभएको बुझ्न टोलीले छड्के जाँच गरेको कोइरालाले बताए । 'आचारसंहिता जारी भएर मात्र हुँदैन, पालना भए–नभएको पनि हेर्नुपर्छ । हामी त्यही हेर्न आएका हौं,' विद्यार्थीलाई आचारसंहिताबारे जानकारी दिँदै कोइरालाले भने, 'यसको फाइदा विद्यार्थीलाई नै हो, त्यसैले पालना गर्नुपर्छ ।' आचारसंहिता पालना नगर्ने विद्यार्थी, विद्यालय र अभिभावकलाई कारबाही गरिनेसमेत उनले बताए । कास्की प्रहरीले विद्यालय पोसाकमा मोटरसाइकल चलाउनेलाई पनि पक्रन मातहतका प्रहरीलाई निर्देशन दिएको छ । कास्की प्रहरी प्रमुख केदार रिजालले उच्चमावि तहमा अध्ययनरत विद्यार्थीले पोसाकमै सवारी चलाएको भेटेमा पक्राउ गर्न निर्देशन दिएको बताए । 'उच्चमाविका विद्यार्थी मानसिक रूपमा मोटरसाइकल चलाउन तयार भईसकेका हुँदैनन् । तीव्र गतिमा मोटरसाइकल चलाउँदा दुर्घटना हुने गरेको छ,' रिजालले भने, 'दुर्घटना रोक्नका लागि पनि यसमा कडाइ जरुरी छ ।' उनले अटेर गर्ने विद्यार्थीको पहिलो चरणमा मोटरसाइकल नियन्त्रणमा लिने र अटेर गरे पाँच हजार रुपैयाँ जरिवाना गर्न सकिने निर्देशिकामा प्रावधान रहेको बताए । अनुगमन टोलीमा सहभागी उच्च माध्यमिक शिक्षा परिषद् पोखराका प्रमुख रमेश अधिकारीले छोटो मिनिस्कर्ट लगाउँदा शैक्षिक वातावरण खल्बलिएकाले त्यसलाई नियन्त्रण गर्न पाइन्ट वा लामो स्कर्ट लगाउनुपर्ने बताए । 'मोबाइल, मोटरसाइकलजस्तै मिनिस्कर्टले पनि शैक्षिक वातावरण बिगारेको छ, त्यसैले यसलाई नियन्त्रण गर्न खोजेका हौं,' उनले भने । परिषद्को निर्देशिका अटेर गर्ने उच्चमाविलाई दिइने सुविधा र कटौती गर्दैै रजिस्टे««सन रोक्न सकिने गरी कारबाही गर्ने उनले बताए। शैक्षिक वातावरण सुधार्न गरिएको अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने उच्चमाविका पदाधिकारीको भनाइ छ। 'प्रशासनले नियमित रूपमा यसरी अनुगमन गर्ने हो भने शैक्षिक क्षेत्रमा देखिएका विकृति पाखा लाग्छन्,' महेन्द्र उच्चमाविका सहायक प्रमुख महेन्द्र रिमालले भने, 'यसले विद्यार्थीलाई सही बाटो देखाउँछ ।' भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
|
0 comments
Write Down Your Responses