ज्ञानेन्द्रकी छोरीसँग कसले माग्यो १ करोड फिरौती ?

पूर्वराजा ज्ञानेन्द्रका छोरीपट्टिका नाति पार्थव सिंहलाई अपहरण गरेर एक करोड फिरौती मागिएपछि पूर्वराज परिवार मात्रै तनावमा परेन, ‘भीभीआईपी’ परिवारलाई नै निशाना बनाइएपछि प्रहरीसमेत ठूलो दबाबमा परेको एउटा सनसनीपूर्ण घटना खुलासा भएको छ ।
पहिलो एसएमएस, २४ कार्तिक, ०६६ बिहान ११ बजे
‘प्रेरणा सरकार नमस्कार,  हाम्रो संगठनलाई सहयोग गर्नुपर्छ । आज दुई बजेभित्र एक करोड रुपैयाँ हजुरको सचिवलाई दिएर गोदावरी पठाउनुहोला’
दोस्रो एसएमएस, २६ कार्तिक ०६६
‘प्रेरणा जी एसएमएस पढ्नुभएन कि ? हामीलाई आज तु एक करोड चाहिन्छ । नत्र भने खतरा होला’
तेस्रो एसएमएस, २९ कार्तिक ०६६
‘आज पठाउनु भएन भने २४ घण्टाभित्र राजबहादुर र छोराको मौत हुन्छ । पुलिस रिपोर्ट र कसैलाई पनि नभन्ने’
prerana-shah-2

घटना, २०६६ सालको हो । ठूला व्यापारीहरुको अपहरण र फिरौतीको धन्दा अपराधीहरुका लागि फस्टाएको समय । दुई सय ४० वर्ष पुरानो शासनसत्ता गुमाउनु परेको पीडाले रन्थनिएको पूर्व राजपरिवारमाथि अर्को तनाव सिर्जना गरिदियो, यो एसएमएसले । पूर्वराजा ज्ञानेन्द्र शाहकी एकमात्र छोरी प्रेरणाको मोबाइलमा आएको एसएमएसमा श्रीमान राजबहादुर सिंह र छोरा पार्थवलाई अपहरण गरी हत्या गरिदिने भन्दै एक करोड रुपैयाँ माग गरिएको थियो ।
०६६ सालको कार्तिक २७ गते प्रेरणाको ९८०१०००१०५ नम्बरको मोबाइलमा आएको एसएमएसले त्यतिबेला पूर्व राजपरिवार निक्कै तनावमा पर्‍यो । ज्वाइँ राजबहादुरको उच्छृङ्खल गतिविधिका कारण छोरी-ज्वाँइको सम्बन्ध नै धरमराइरहेका बेला त्यस्तो एसएमएसले पूर्वराजा ज्ञानेन्द्रको परिवारमा पीडा बढाउन ‘आगोमाथि घ्यू थपे’ जत्तिकै काम गर्नु स्वभाविकै थियो ।
‘भीभीआईपी’ परिवारकै सदस्यहरुको अपहरण गरी हत्या गर्ने भन्दै एक करोड रुपैयाँ फिरौती मागिएपछि प्रहरी पनि ठूलो दबाबमा पर्‍यो । उदय सेट्टी लगायतको ठूलो गिरोह त्यसबेला सक्रिय रहेकाले कुनै ठुलै अपराधिक समूहले पूर्वराजपरिवारलाई निशाना बनाएको हुनसक्ने प्रहरीको अनुमान थियो । प्रहरीले घटनामा संलग्नहरुलाई चाँडै पक्राउ पनि गर्‍यो । तर पनि, पूर्वराजा ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सो घटनाको झमेला अझै झेलिरहेका छन । उनी अहिले अदालतमा मुद्दा लडिरहेका छन् ।
‘उदय सेट्टीलगायतको ठूलो गिरोह त्यसबेला सक्रिय रहेकाले कुनै ठुलै आपराधिक समूहले राजपरिवारलाई निशाना बनाएको हुनसक्ने हाम्रो प्रारम्भिक अनुमान थियो’, त्यतिबेला महानगरिय प्रहरी अपराध महाशाखामा कार्यवाहक प्रमुख रहेका अहिलेका डिआईजी जयबहादुर चन्दले भने ।
 यस्तो छ घटना
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
रुकुम स्थायी घर भएका राजेश हमाल भन्ने ब्यक्तिले ९८०८३१८०३१ नम्बरको मोबाइलबाट प्रेरणालाई एसएमएस पठाएका थिए । एक हप्ताको अवधिमा उनले तीनवटा एसएमएस पठाए । शुरुमा पूर्व राजपरिवारले घटनाबारे आफै छानबिन गरेर पत्ता लगाउने तयारी गरेको थियो । तर, क्रमशः धम्कीपूर्ण एसएमएस आउने क्रम बढ्न थालेपछि राजपरिवार प्रहरीको शरणमा पुगेको थियो । राजबहादुर र प्रेरणाले प्रहरीमा दिएको उजुरीमा प्रेरणाकी स्वकीय सचिव प्रतिक्षारत्न शाहबाट हमालले नम्बर लिएर एसएमएस गरेको उल्लेख गरेका छन् । प्रतिक्षा समेतको मिलेमतोमा फिरौती मागिएको उनीहरुको जिकिर छ ।
राजबहादुरले अदालतसमक्ष पनि यही बयान दिएका छन् । राजबहादुरको वयानमा भनिएको छ- ‘मेरो छोरालाई अपहरण गर्ने भनी पत्नी प्रेरणाको मोबाइलमा एसएमएस आएको हो । प्रतिवादीमध्येकी प्रतिक्षारत्न शाह मेरो भतिजी नाताकी भएकी र मेरो पत्नीको सहयोगीको रुपमा काम गर्ने गरेकी र मेरो छोरा नीजसंग घुम्न आउने जाने गथ्र्यो । पटक-पटक मेरो श्रीमतिको मोबाइलमा छोरा अपहरण गर्ने र त्यसबापतको फिरौती रकम तपाईको सेक्रेटरीलाई दिई पठाउनु भनी पटक-पटक एसएमएस आएपछि मात्र जाहेरी दिइएको र अनुसन्धानबाट प्रतिवादीहरुले अपराध गरेको देखियो’,
mirror

धम्की दिने पक्राउ
ठूला व्यापारीहरुको अपहरण र फिरौतीको धन्दा फस्टाएको त्यो समय राजपरिवार सदस्यलाई नै त्यसरी फिरौती माग्दै धम्की आएपछि प्रहरी पनि दबाबमा पर्‍यो । महानगरीय प्रहरी अपराध महाशाखाले गोप्य रुपमा घटनाको अनुसन्धान सुरु गर्‍यो । प्रहरीले धम्कीमा प्रयोग भएको ९८०८३१८०३१ मोबाइल नम्बरलाई अनुसन्धानको पहिलो बाटो बनायो । सो मोबाइल नेपालगन्जका खगेन्द्र रिमालको नाममा भएको प्रहरीले पत्ता लगायो । अपराध महाशाखका तत्कालिन इन्सपेक्टर-हाल डिएसपी) कृष्णप्रसाद कोइरालाको टोलीले रिमाललाई पक्राउ गर्‍यो । तर, प्रहरीले अपेक्षित नजिता भने पाउन सकेन ।
९८०८३१८०३१ नम्बरको मोबाइल रिमालले राजेश हमाललाई दुई सय रुपैयाँमा बिक्री गरेका थिए । रिमाल नेपालगन्जमा फोटो स्टुडियो चलाउँदै आएका थिए । हमाल फोटोसम्बन्धी कामका लागि रिमालको स्टुडियोमा आउने जाने गरिरहन्थे । उनीहरुको चिनजान एक वर्ष भइसकेको थियो । त्यही चिनजानको आधारमा रिमालले आफ्नो नाममा रहेको मोबाइल नम्बर हमाललाई बेचेका थिए ।
को हुन् राजेश हमाल ?
चर्चित सिने अभिनेताको नाम मिल्ने यी राजेश हमाल को हु त ? प्रहरीले अनुसन्धान तिब्र बनायो । हमालको बारेमा केही जानकारी दिएर रिमालले प्रहरी अनुसन्धानमा सहयोग गरे । हमालको त्यसबेलाको मुख्य परिचय भनेको पत्रकार थियो । उनका सम्पर्क नम्बरहरु समेत प्रहरीले फेला पार्‍यो । त्यसको केही दिनपछि उनलाई काठमाडौंको गोपिकृष्ण हल नजिकबाट प्रहरीले मंसिरको ४ गते पक्राउ गर्‍यो । शुरुमा आफुले एसएमएस पठाएको अस्वीकार गरेका उनी प्रहरीसमक्ष चाँडै गले र अपराध स्वीकारे । यार्सागुम्बाको व्यापारमा घाटा लागेर आर्थिक संकटमा परेकाले धम्काएर एक करोड रुपैयाँ मागेको उनले प्रहरीसितको बयानमा स्वीकारेका छन् ।
हमालमाथि अनुसन्धान गर्ने क्रममा प्रहरीले अर्को रहस्य पनि पत्ता लगायो, घटनामा प्रेरणाकी स्वकीय सचिव नै संलग्न रहेको । प्रतिज्ञारत्न शाह, जो करिब एक वर्ष अगाडिदेखि प्रेरणाको स्वकीय सचिवका रुपमा काम गर्दै आएकी थिइन्, उनकै प्रेमी थिए अभियुक्त राजेश हमाल । प्रतिक्षासंगै पटक-पटक प्रेरणाको घरमा पुगेका राजेशले उनीबाटै प्रेरणाको नम्बर प्राप्त गरेका थिए । कर्णाली विकास बैंकमा काम गर्दै प्रतिक्षा राजबहादुरको आफन्तको चिनजानबाट प्रेरणाको स्वकीय सचिवमा नियुक्त भएकी थिइन् ।
आफ्नै स्वकीय सचिव र उनकै प्रेमी मिलेर ज्यान मार्ने धम्की दिँदै फिरौती मागेको रहस्य खुलेपछि पूर्वराजपरिवार थप स्तब्ध बन्यो । प्रेरणाकी स्वकीय सचिव प्रतिक्षालाई पनि प्रहरीले पक्राउ गर्‍यो । पूर्वराजपरिवारले शुरुमा उनीहरुलाई ‘माफी’ दिने तयारी गरेको थियो । तर, प्रहरीले ‘त्यस्तो नमिल्ने’ बताएपछि उनीहरुविरुद्ध कानुन कारवाही अघि बढाइयो । प्रेरणा र राजबहादुरले दुवैले महानगरीय प्रहरी अपराध महाशाखामा अपहरण तथा शरीर बन्धक उद्योग अन्र्तगत उनीहरुलाई कारबाही गर्न माग गर्दै निवेदन दिए । ०६६ मंसिर २६ गते महानगरीय प्रहरी परिसर काठमाडौं र जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरुविरुद्ध काठमाडौ जिल्ला अदालतमा मुद्दा दायर गर्‍यो । सो मुद्दाको प्रारम्भिक फैसलामा काठमाडौं जिल्ला अदालतले हमाललाई पुपर्क्षका लागि जेल पठाउने र प्रतिक्षलाई एक लाख धरौटीमा रिहा गर्ने आदेश दियो । जिल्ला अदालतको प्रारम्भिक फैसला विरुद्ध हमाल पुनरावेदन अदालत र सर्वोच्चमा गए । दुवै अदालतले जिल्लाको प्रारम्भिक फैसलालाई सदर गर्‍यो । माघमा विवाह बन्धनमा बाँधिन लागेको सो जोडीलाई आर्थिक प्रलोभनले गर्दा जेलको बारले एक हुनबाट छेकिदियो ।
हमाल केन्द्रीय करागारमा बसेर मुद्दा लडे भने प्रतिक्षाले उनलाई बाहिरबाट सघाइन् । घटना सार्वजनिक भएलगत्तै उनी प्रेरणाको स्वकीय सचिवबाट पनि हटाइन् । घटनाको करिब एक वर्षपछि जिल्ला अदालत काठमाडौंले फैसला सुनायो । जिल्ला न्यायधीश माधवप्रसाद पोखरेलको इजलासले हमाललाई दोषी ठहर गर्दै तीन वर्ष ६ महिना कैद र २५ हजार जरिवानाको फैसला सुनायो । प्रतिक्षालाई भने अदालतले सफाइ दियो । फैसलाले दुवै पक्षलाई आधा खुशी आधा बेखुशी बनायो ।
हमाललाई दोषी ठहर गरेकोमा राजबहादुरको परिवार खुशी भएपनि प्रतिक्षालाई सफाइ दिएकोमा खुशी हुन सकेनन् । त्यस्तै प्रतिक्षालाई सफाइ दिइए पनि हमाललाई जेल सजायँ भएकोमा प्रतिवादी पक्ष खुशी हुन सकेन । जिल्ला अदालतको फैसलाविरुद्ध हमाल पुनरावेदन अदालत पाटन गए । ०६८ फागुन ८ गते पुनरावेदनले हमाललाई पनि सफाइ दिँदै फैसला सुनाएपछि पूर्वराजपरिवार फेरि स्तब्ध बन्यो । अभियुक्तले अपराध स्वीकार गरेको मुद्दामा पनि पुनरावेदनका न्यायाधीशले हमाललाई सफाइ दियो । त्यसको भोलिपल्टै राजेश केन्द्रीय कारागारबाट रिहा भए ।
पुनरावेदनको फैसला चित्त नबुझे पनि पूर्वराजा ज्ञानेन्द्रका ज्वाइँ राजबहादुरले सर्वोच्च अदालत गुहारे । अहिले पनि उनको मुद्दा सर्वोच्चमा विचाराधीन छ । आगामी १६ भदौमा सर्वोच्चमा सो मुद्दाको पेशी तोकिएको छ ।
 प्रेरणा अदालत गइनन्
श्रीमान र छोरालाई अपहरण गरी हत्या गर्ने भन्दै फिरौती मागिएको भनेर आफैंले प्रहरीमा गरेको उजुरीमा बयान दिन प्रेरणा अदालतमा गइनन् । मुख्य पीडित नै अदालतमा बयान दिन नआएकाले मुद्दा फितलो बनेको जानकारहरु बताउँछन् । जटिल प्रकृतिका मुद्दामा अदालतमा बकपत्र गराइन्छ । यो मुद्दामा पनि प्रतिवादीका वकिलहरुले जाहेरवालाको बकपत्र माग गरेका थिए । जसअनुसार राजबहादुर सिंह जिल्ला अदालतमा उपस्थित भएर न्यायाधीशको अगाडि सबै बताएर बकपत्र गरेका थिए । प्रतिवादीका वकिलले मुख्य पीडित प्रेरणाको पनि बकपत्र गराउन चाहेका थिए । तर उनी गइनन् । त्यही कारण पनि सो मुद्दा कमजोर भएको हो ।
श्रीमान र छोरालाई अपहरण गरी हत्या गर्ने भन्दै आफैसित फिरौती मागिएको घटनालाई पनि पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणाले किन गम्भिरतापूर्वक लिइनन् ? प्रहरीमा आफु समेतले दिएको उजुरीमा बयान दिन आँखिर किन उनी अदालतमा गइनन् ? रहस्यको विषय बनेको छ । दरबारनिकट स्रोतहरुका अनुसार प्रेरणाले आफ्नी स्वकीय सचिव प्रतिक्षारत्न शाहलाई माफी दिन चाहन्थिन् । त्यसमाथि राजपरिवारको सदस्य अहिलेसम्म अदालत, प्रहरी लगायतका निकायहरुमा न्याय माग्दै नगएकाले उनलाई पनि पूर्वराजपरिवारबाट अदालतमा नजान सुझाइएको स्रोतहरु बताउँछन् ।
स्रोतहरुका अनुसार प्रेरणाका पति राजबहादुर पनि प्रतिक्षारत्नलाई जोगाउन चाहन्थे । प्रतिक्षासित उनको घरायसी नाता थियो । उनी राजबहादुरकी भतिजी नाता पर्थिन् र उनकै सिफारिसमा प्रेरणाको स्वकीय सचिव बनेकी थिइन् । राजबहादुर र प्रतिक्षा दुवैले अदालतमा दिएको बयानमा पनि यो कुरा स्वीकार गरेका छन् । ’जाहेरीवाला राजबहादुर सिंह नातामा मेरो काका पर्छन र निज काका मार्फत नै ०६५ चैत २७ गतेबाट प्रेरणा राज्यलक्ष्मीको स्वकीय सचिवको रुपमा कार्य थालनी गरेबाटै निजसँग समेत मेरो चिनजान भएको थियो’, प्रतिक्षाले आफ्नो लिखित बयानमा भनेकी छन् ।
प्रेमले जन्माएको अपराध
प्रतिक्षा काठमाडौंमै बस्न थालेपछि नेपालगन्जमा हमालसित भएको चिनजान प्रेमका रुपमा झाँङ्गिन थालेको थियो । हमालको व्यवसाय यार्सागुम्बा क्रमशः ओरालो लागे पनि प्रेमसम्बन्ध भने उत्कर्षमा पुग्दै थियो । दुवैले माघमा घरजम गर्ने योजना बनाएका थिए । प्रतिवादीद्वय राजेश हमाल र प्रतिक्षा शाहको पक्षबाट बहस गर्ने क्रममा अधिवक्ताद्वय नरबहादुर योगी र शेरबहादुर केसीले भनेका थिए-’राजेशसँग प्रेम गर्नु नै प्रतिक्षाको अपराध होइन ।’ तर, यो घटना भने प्रेमबाटै शुरु भयो । प्रेमकै कारण उनीहरुले रातारात धनी बनेर बिहे गर्नका लागि गलत बाटो अपनाए । पक्राउ परेपछि हमालले प्रहरीसितको बयानमा ‘आफुहरु विवाह गर्न लागेको तर, त्यसका लागि पर्याप्त पैसा नभएकाले धम्काएर सजिलै एक करोड रुपैयाँ पाउने आशामा एसएमएस गरेको’ बताएका थिए ।
रुकुमको नुवाकोट गाविस घर भई पुरानो बसपार्क गोंगुबमा दाङ-सल्यान होटल सन्चालन गर्दै आएका हमाल र दाङको तुलसीपुर स्थायी घर भएकी प्रतिक्षाको प्रेससम्बन्धले पाँच वर्ष नाघिसकेको थियो । पत्रकार र बैंकको कर्मचारीका रुपमा उनीहरुबीच चिनजान भएको थियो । हमाल र प्रतिक्षाले प्रहरीमा दिएको बयानअनुसार त्यतिबेला प्रतिक्षा नेपालगन्जको कर्णाली विकास बैंकमा काम गर्थिन् । हमाल पत्रकार थिए । रिर्पोटिङकै क्रममा हमाल बैंकमा पुग्दा उनीहरुबीच भएको चिनजानपछि सम्बन्ध प्रेममा परिणत भएको थियो । लिखित बयानमा हमालले भनेका छन्-’०६२ सालतिर प्रतिक्षारत्न शाहले नेपालगन्जस्थित कर्णाली विकास बैंकमा कार्यरत रहेको अवस्थामा पत्रकारिता गर्ने शिलशिलामा मसमेत नेपालगन्जमै रहेको बेला हामीहरुबीच चिनजान भएको हो ।’
पूर्वराजा ज्ञानेन्द्रका ज्वाँई राजबहादुर नातामा प्रतिक्षाका काका पर्थे । उनकै सिफारिसमा प्रतिक्षा प्रेरणाको स्वकीय सचिव बनिन् । ०६५ सालको चैत २७ गतेदेखि उनी स्वकीय सचिवका रुपमा काम गर्न थालेकी थिइन् । प्रेरणा दम्पती दाइजोमा पाएको छाउनीस्थित घरमा बस्थे । प्रतिक्षा पनि काम गर्न त्यहीँ जान्थिन् । पारिवारिक नाता पनि भएकाले राजबहादुर र प्रेरणा दुवैले उनलाई माया पनि गर्थे । प्रतिक्षाको काम पनि खोट लगाउने ठाउँ थिएन । राजबहादुरले यो कुरा आफ्नो बयानमा पनि भनेका छन् ।
हमाल पनि पैसा नहुने पत्रकारिता पेशा छाडेर व्यापार व्यवसायमा लागे । गोंगबुमा होटलका साथै यार्सागुम्बाको कारोबारमा उनी सक्रिय भए । तर, सोचेअनुरुप नाफा कमाउन सकेनन् । प्रतिक्षासितको प्रेम सम्बन्ध भने सुमधुर नै थियो । प्रतिक्षालाई ल्याउने-पुर्‍याउने काम पनि उनी गर्थे । पुर्‍याउने शिलशिलामै उनी धेरैपटक प्रेरणाको छाउनीस्थित घरमै पनि गएका थिए । हमालको व्यवसाय भने क्रमशः ओरालो लागिरहेको थियो ।
‘प्रेरणा राज्यलक्ष्मीलाई एसएमएस पठाई डर त्रासमा पारी एक करोड रुपैयाँ माग्ने बारदात म एक्लैले गरेको थिएँ, प्रतिक्षारत्न शाहलाई मैले उक्त बारदात सम्बन्धमा कुनै जानकारी गराएको थिइँन’, हमालले आफ्नो लिखित बयानमा प्रेमिका प्रतिक्षालाई जोगाउँदै भनेका छन् । उनको यही बयानका कारण पनि जिल्ला अदालतले प्रतिक्षालाई धरौटीमै रिहा गर्ने आदेश दिएको प्रहरी अधिकारी बताउँछन् ।
-मिरर न्युज मासिकबाट
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.