प्रहरीद्वारा अपहरण गरी लुटपाट

nepal policeकाठमाडौं, भाद्र ३१ - राजधानीमा कार्यरत दुई प्रहरीले यार्सा व्यापारीलाई अपहरण गरी लुटपाट गरेको खुलासा भएको छ । महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत प्रहरी हवल्दार तारादेवी रानाभाट र प्रहरी जवान महेशनाथ माझीले व्यापारीलाई घरबाट दुई किलो यार्सासहित अपहरण गरेर लुटपाट गरेका हुन् । व्यापारी अपहरण र यार्सा लुटपाटमा संलग्नता देखिएपछि उनीहरूलाई अपराध महाशाखाले पक्राउ गरेर अपहरण तथा शरीर बन्धक ऐनमा हिरासतमा राखी अनुसन्धान गरिरहेको छ । प्रहरी स्रोतका अनुसार स्वयम्भूका यार्सा व्यापारी फुन्जो पासाङ लामालाई गत साउन १२ गते घरबाट नै अपहरण गरेर लगेका थिए । 'सुरुमा अन्य २ जनालाई लिएर यार्सा किन्ने भन्दै गएका थिए,' अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, '२/३ पटक घरमा गएर मोल मोलाई गरेका रहेछन् ।' त्यसपछि उनीहरूले १२ गते घरमा गएपछि 'हामी प्रहरी हौं, तेरो यार्सा गैरकानुनी हो हनुमानढोका हिंड्' भन्दै लिएर गएका थिए । उनीहरूले स्वयम्भूबाट ट्याक्सीमा राखेर बालाजु तर्फ लगेका थिए । 'महानगरीय प्रहरी वृत्त बालाजु लैजालान् भनेको त अन्तै लिएर गए' बालाजुमाथिको जंगलमा पुर्‍याएपछि उनीहरूले व्यापारी लामासँग भएको दुई किलो यार्सा लिएका थिए । त्यसपछि ट्याक्सीलाई फिर्ता पठाएर उनीहरूले उक्त यार्सा अर्को व्यक्तिलाई ११ लाख रुपैयाँमा बिक्री गरेको पाइएको छ । बिक्रीबाट आएको रकम उनीहरूले आधा-आधा भाग लगाएर लिएको प्रहरीले जनाएको छ । उता व्यापारी यार्सा लुटिएपछि काठमाडौं प्रहरीमा जाहेरी दिन गएका थिए । उनले साउन १५ गते आफूलाई अपहरण गरेर यार्सा लुटिएको जाहेरी दिएका थिए । त्यसको एक महिनापछि गत भदौ १७ गते आफ्नो जाहेरीमाथि के अनुसन्धान भइरहेको छ भनेर बुझ्न जाँदा काठमाडौं प्रहरीको गेटमा लुटपाट गर्न आउने महिला रानाभाटलाई देखेका थिए । 'यहाँ बुझेर बाहिर निस्कँदै गर्दा उनले ढोकामा रानाभाटलाई देखेछन्, हतार-हतार आएर यार्सा लुट्ने महिला बाहिर छिन् भनेपछि हाम्रो प्रहरी दौडँदै गएर लामाले देखाएकी महिलालाई पक्राउ गर्दा उनी त महाशाखा मै काम गरिरहेकी महिला प्रहरी रहिछन् ।' रानाभाटले आफू र माझी मिलेर लुटपाट गरेको स्वीकार गरेकी छन् । उनीहरूलाई काठमाडौं प्रहरीको हिरासतमा राखिएको छ । माझी केही समयअघिसम्म अपराध महाशाखा प्रमुखको ढोकेका रूपमा कार्यरत थिए । इमान्दार र सोझा भएको भन्दै महाशाखा प्रमुखले उनलाई विमानस्थलमा काम सिकाउन पठाइदिएका थिए । विमानस्थलमा नै कार्यरत हवल्दार रानाभाटसँग चिनजान भएको थियो । विमानस्थलमै भएका बेला उनीहरूलाई यार्साको सूचना आएको थियो । त्यही सूचनालाई लिएर उनीहरू व्यापारी लामाको घरमा ग्राहक बनेर पुगेका थिए । प्रहरीका अनुसार उनीहरूसँग बाहिरका अन्य केही व्यक्तिको समेत मिलेमतो छ । तर प्रहरी पक्राउ परेको सूचनापछि उनीहरू फरार रहेको प्रहरी स्रोतले बतायो । यार्सा किन्ने व्यक्ति नै लुटपाटमा संलग्न भएको आशंका गरिएको छ । बजारमा एक किलो यार्साको मूल्य २५ देखि ३५ लाखसम्म छ । तर उनीहरूले २ किलो यार्सा ११ लाख रुपैयाँमा बिक्री गरेको हुनाले खरिद गर्ने व्यक्ति नै लुटपाटमा संलग्न भएको हुनसक्ने अनुमान गरिएको हो । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । यसअघि सुन लुटेरा समूहलाई बन्धक बनाएर पैसा असुलेको आरोप लागेका दुई प्रहरीलाई पनि अपहरण तथा शरीर बन्धक मुद्दा चलाइएको छ । काठमाडौं परिसरको विशेष टोलीमा कार्यरत प्रहरी जवान नारायण थापा, राजकुमार माझीले सुन लुट्ने लुटेरालाई बन्धक बनाएर पैसा असुली गरेका थिए । सुन लुटपाट भएको खबरपछि अनुसन्धान गर्दै जाँदा काठमाडौं प्रहरीले ३ लुटेरालाई पक्राउ गरेको थियो । पक्राउ परेका काभ्रेका दूधराज तामाङ, राकेश तामाङ र सिन्धुपाल्चोकका रवि श्रेष्ठले लुटिएको सुनको कमिसन प्रहरीले नै बन्धक बनाएर बुझेको बयान दिएका थिए । त्यसमा थापा र माझीको संलग्नता देखिएको थियो । साउन २४ गते चीनको खासाबाट सुन लिएर आउँदै गरेको एउटा निजी कारलाई काभ्रेको खावामा नियन्त्रणमा लिएर लुटेराले २५ किलो सुन लुटेका थिए । लुटपाटमा संलग्नलाई पक्राउ गर्न गएका थापा र माझीले लुटेरालाई नै बन्धक बनाएर पैसा असुल गरेको पाइएको थियो । लुटपाटमा संलग्न ६ जना फरार रहेकाले सुन अझै बरामद भएको छैन । काठमाडौं प्रहरीको हिरासतमा रहेका थापा र माझीलाई अपहरणबाहेक, सुन भेटिए राजस्व अनुसन्धान र भ्रष्टाचारको मुद्दा चल्नेछ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.