नक्कली डाक्टर र गैरकानुनी डेन्टलको बिगबिगी
भिडियो सहित हेर्न तल क्लिक गर्नुहोला :
भैरहवा,१८ चैत गते । रुपन्देहीमा पछिल्लो समय स्वास्थ्य संस्थाको स्थापनासँगै नक्कली डाक्टरको बिगबिगी र गैरकानुनी स्वास्थ्य संस्था सञ्चालन पनि बढेको छ । हस्पिटल, नर्सिङ होम र डेन्टल क्लिनिकका नाममा स्थापना भएका स्वास्थ्य संस्थाले जनस्वास्थ्यमाथि खेलवाड गरेका छन् ।

डेन्टल क्लिनिकमा जाने बिरामीलाई नक्कली डाक्टरले दन्त विशेषज्ञको परिचय दिँदै उपचार गरिरहेका छन् । रुपन्देहीमा सञ्चालित ४० डेन्टल क्लिनिकमध्ये बुटवलस्थित आले डेन्टल क्लिनिक र पाल्पाली डेन्टल क्लिनिक मात्र सरकारबाट स्वीकृत प्राप्त क्लिनिक भएको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
गैरकानुनी रूपमा सञ्चालित क्लिनिकमा बुटवलस्थित साइराम डेन्टल, बुटवल डेन्टल, आशीष डेन्टल, एलिना डेन्टल, सिद्धार्थ डेन्टल, नमस्ते डेन्टल, आस्था डेन्टल र डक्टर डेन्टल छन् । भैरहवामा बुद्ध डेन्टल, लुम्बिनी डेन्टल, अर्थो डेन्टल, दीप डेन्टल, स्माइल होम डेन्टल, अर्घा मेडिकल डेन्टल एवम् आले डेन्टल पनि गैरकानुनीरूपमा सञ्चालनमा रहेका छन् ।
लुम्बिनी अञ्चल अस्पतालका वरिष्ठ दन्त चिकित्सक डा. प्रकाश बुढाथोकीका अनुसार राजनीतिक संक्रमणकालको फाइदा उठाउँदै पैसा कमाउन रुपन्देहीमा च्याउसरी गैरकानुनी क्लिनिकहरू खुलेका छन् । क्लिनिकमा नक्कली डाक्टरले उपचार गर्दा बिरामीलाई झन समस्या थपिएको छ ।
बुढाथोकीले भने, ‘दाँतको ‘द’ पनि नजानेका व्यक्तिबाट उपचार हुँदा दाँत तथा मुखसम्बन्धी विभिन्न रोग लाग्नसक्ने र एच्आइभी एड्स, हेपाटाइटिस बीजस्ता रोगसमेत एक व्यक्तिबाट अर्कोमा सर्न सक्छन्् ।’ जनस्वास्थ्य कार्यालय रुपन्देहीको सिफारिसमा सिडिओ कार्यालय रुपन्देहीले यस्ता क्लिनिक बन्द गर्नुपर्ने डा. बुढाथोकीले बताए ।
भिडियो सहित हेर्न तल क्लिक गर्नुहोला :
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भैरहवाका दन्तविषेशज्ञ डा. हेमन्त हलुवाइले जिल्लामा अधिकांश डेन्टल क्लिनिकले डाक्टरको सर्टिफिकेट राख्ने र नक्कली डाक्टरले उपचार गर्ने गरेको बताए । उनले भने, ‘क्लिनिकमा डाक्टर हुँ भन्दै काम गर्ने एक नक्कली डाक्टरले केही दिनअघिमात्र एक बिरामीको निकाल्न नहुने दाँत निकालेर दाँतको जरा नै खराब पारेका थिए ।’
क्लिनिक दर्ता गरी सञ्चालनमा ल्याउनका लागि एक जना विषेशज्ञ चाहिने र जिल्ला जनस्वास्थ्य कार्यालयको सिफारिसमा क्षेत्रीय स्वास्थ्य निर्देशनालयले प्रमाण पत्र दिनुपर्ने प्रावधान छ । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख महेश्वर श्रेष्ठले नक्कली डाक्टरको बिगबिगी रहेको र गैरकानुनीरूपमा जिल्लामा डेन्टल क्लिनिक सञ्चालनमा रहेको स्वीकार्दै डेन्टल क्लिनिकको स्वीकृति दिने निकाय क्षेत्रीय स्वास्थ्य निर्देशनालय भएकाले अनुगमन पनि उसैले गर्नुपर्ने बताए । रुपन्देहीका निमित्त सिडिओ कृष्णप्रसाद खनालले जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीलाई सबै अधिकार भएकाले सिडिओ कार्यालयलाई नक्कली क्लिनिकबारे जानकारी नभएको बताए ।
भिडियो सहित हेर्न तल क्लिक गर्नुहोला :
0 comments
Write Down Your Responses