महानगरमा असार १ देखि प्लास्टिक झोला प्रयोग गर्न नपाइने

काठमाडौं, वैशाख ३- काठमाडौं महानगरपालिकाभित्र असार १ देखि प्लास्टिक झोला प्रयोग गर्न नपाइने भएको छ। प्लास्टिक झोलाको कारण वातावरण संरक्षण तथा फोहोरमैला व्यवस्थापनमा बाधा पुगेको भन्दै महानगरले प्लास्टिक झोला प्रतिबन्ध लगाउने भएको हो। 
असार १ देखि प्लास्टिक झोला प्रयोगमा नल्याउन महानगरपालिकाले सर्वसाधारणलाई सूचना जारी गरिसकेको छ। यो नियम कडाइसाथ लागू गरिने महानगरपालिकाका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले बताए। 'पहिले प्लास्टिक झोला प्रयोग नगर्न सचेत गराइएको थियो, यसपालि त्यस्ता झोला प्रयोगमा प्रतिबन्ध लगाइनेछ,' अधिकारीले भने।
महानगरपालिकाले वैसाख र जेठभरि टोल/टोलमा प्लास्टिकको झोलमा प्रयोग नगर्न व्यापक सूचना जारी गर्ने भएको छ। 'झोला प्रतिबन्धबारे टोलटोलमा सूचना जारी गरिसकेपछि मात्र प्रतिबन्ध लगाइनेछ,' अधिकारीले भने। प्रतिबन्ध लगाएपछि पनि प्लास्टिक झोला किनबेच वा प्रयोग भएको खण्डमा महानगरपालिकाले किन्नेलाई प्रति पाँच सय र बेच्नेलाई एक हजार रुपैंया जरिवाना गर्ने जनाएको छ।
फोहोरमैला व्यवस्थापन ऐन २०६८ अनुसार नियम उल्लंघन गर्नेलाई १५ हजारदेखि १ लाखसम्म जरिवाना गर्ने व्यवस्था छ। प्लास्टिक प्रतिबन्ध भएपछि किनमेल गर्न जाँदा सबैले घरैबाट झोला बोकेर जानुपर्ने र बजारमा प्लास्टिकको झोलाको विकल्पमा अन्य झोला उपलब्ध हुनेछन्। विकल्पका रूपमा नमुना झोला बजारमा ल्याइने अधिकारीको भनाइ छ।
वैशाख दोस्रो सातादेखि सुरु हुने अभियानलाई सफल पार्न वातावरण क्षेत्रका काम गर्ने व्यक्ति, संस्था, विद्यालय लगायतलाई सहभागी गराउने महानगरपालिकाले जनाएको छ। यो अभियान सफल पार्न महानगरपालिकाकै मेट्रो एफएम तथा अन्य मिडियासँग समेत समन्वय गरिने छ। विगतमा महानगरपालिकालाई प्लास्टिक झोलामुक्त गर्ने भनिए पनि व्यवहारमा उतार्न नसकेकाले प्रतिबन्ध लगाउन लागिएको महानगरपालिकाले जनाएको छ।

0 comments

Write Down Your Responses

Powered by Blogger.