काठमाडौंको धूलोमा चश्मा र मास्कको के काम ?

३ बैशाख, काठमाडौं । धुवाँ र धुलोको पर्याय बन्दै आएको राजधानी काठमाडौंमा यो वर्ष झन् सडकमा हिँडडूल गर्नै नसक्ने गरी धुलो बढेको छ । सडक विस्तारका क्रममा भत्काइएका घर, पर्खाल र नाली मर्मतको काम नसकिएकाले बिहानदेखि बेलुकासम्म सडकमा बुङबुङ्ती धुलो उड्ने गरेको हो । बढ्दो धुलोले सडकमा हिँड्नेलाई मात्र होइन, घरभित्र बस्नेलाई समेत सकस थपेको छ ।
dhulo-pic
चिकित्सकहरुका अनुसार राजधानीका सडकमा बढ्दो धुलोका कारण श्वास प्रश्वासका बिरामी बढेका छन् । आँखा ढाक्ने चश्मा र मुख छोप्ने मास्कले समेत धुलोको प्रभाव घटाउन नसक्ने चिकित्सकहरु बताउँछन् । राजधानीका सबैजसो सडकमा वातावरण र मान्छेलाई समेत बिरुप पार्ने गरी धुलो बढेपछि मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले सोमबार मात्र सडक मर्मतको काम छिटो सक्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ । तर, यो ध्यानाकर्षणले पनि सडकको धुलो कम हुने छाँट देखिँदैन ।
असारसम्म धुलो मार्ने
भत्किएका संरचना र थुपि्रएका माटोले धुलोको समस्या बढाए पनि तत्काल धुलो मार्न नसकिने सरकारी निकायले बताएका छन् । मन्त्रिपरिषदका अध्यक्ष रेग्मीले छिटो मर्मत कार्य सक्न निर्देशन दिए पनि असारसम्म काम सक्ने योजना रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । ‘यही आर्थिक वर्षभित्र मर्मतसम्भार सक्नेगरी काम तीव्र रुपमा भैरहेको छ’ मन्त्रालयका प्रवक्ता हरिभक्त श्रेष्ठले भन्नुभयो-’खानेपानी, बिजुली, टेलिकमलगायतका निकायहरुसँग समन्वय गरेर काम गर्नुपर्ने भएकाले केही ढिलाइ हुन गएको हो ।’
सडक विस्तार भएपछि बिजुलीका पोल, खानेपानीका पाइप र टेलिकमका तार पनि सँगै सार्नुपर्ने भएकाले सडक मर्मतमा बिलम्ब हुने गरेको छ । काममा ढिलासुस्ती गर्ने सरकारी निकायको बानीले असारको मनसुन शुरु नहुँदासम्म काठमाडौंको धुलो मर्ने छाँट देखिन्न ।
पानीको पनि भर छैन
हुन त वर्षा भयो भने पनि धुलोको ठाउँमा हिलो मात्र हुने हो । सडकमा हिँडडूल गर्न उस्तै समस्या हुन्छ । तर स्वास्थ्यको हिसाबले धुलो भन्दा हिलो नै सही भन्दै राजधानीबासी छिटो वर्षा होओस् भन्ने चाहन्छन् । तर, आकाशमा बादल देखिए पनि छिटो पानी पर्ने सम्भावना छैन ।
‘अहिले पि्रमनसुनको समयमा स्थानीय प्रभाव र पूर्वीय वायुको प्रभावले पानी पर्नुपर्ने हो, तर पूर्वीय वायु सक्रिय देखिँदैन’ बरिष्ठ मौसमविद विद्यारत्न शाक्यले अनलाइनखबरसित भन्नुभयो -’स्थानीय प्रभावले मौसम बदली भएर पानी पारेपनि फाट्टफुट्ट मात्रै पर्छ, धुलो मर्नेगरी पानी पर्ने संकेत तत्काल देखिँदैन ।’
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.