समाचार
»
स्ववियु निर्वाचनका लागि दलीय सक्रियता बढ्यो
स्ववियु निर्वाचनका लागि दलीय सक्रियता बढ्यो
दाङ — संविधान सभाको दोस्रो निर्वाचन सँगै जिल्लामा स्ववियु निर्वाचनको माहोल पनि उत्तिकै तातेको छ। स्ववियु निर्वाचनका लागि विद्यार्थी संगठन तथा राजनीतिक दल सक्रिय बनेका छन्। त्रिभुवन विश्वविद्यालयले आगामी १३ जेठमा स्ववियु निर्वाचनको घोषणा गरेपछि जिल्लामा चुनावी सरगर्मी बढेको हो। स्ववियु निर्वाचनलाई लक्षित गरी जिल्लाका क्याम्पसहरुमा दिनहुँ जसो विद्यार्थीका भेला, बैठक भैरहेका छन्। आफ्ना विद्यार्थी संगठनको जीत सुनिश्चित गराउन जिल्लास्थित राजनीतिक दलहरु पनि खुलेरै लागेका छन्। चुनावी रणनीतिका लागि दलहरुले अहिले विद्यार्थी संगठनहरुलाई प्रशिक्षण दिइरहेका छन्। 'हाम्रो पार्टी अहिले दुईवटा निर्वाचनको कार्यभार सहित अघि बढिरहेको छ', एनेकपा माओवादीका दाङ जिल्ला सहसेक्रेटरी रामजी चौधरीले भने, 'स्ववियु निर्वाचनलाई संविधान सभा निर्वाचनको पहिलो खुड्किलोको रुपमा लिएका छौँ।' उनले स्ववियु निर्वाचनका लागि पार्टीले ठूलो शक्ति लगाएको समेत बताए। एमाओवादीले अहिले आफ्नो विद्यार्थी संगठन अखिल क्रान्तिकारीलाई चुनावी रणनीतिका लागि आन्तरिक प्रशिक्षण, बैठक र संगठन बिस्तारमा जोड दिएको छ। 'चुनावमा आफ्नो संगठनले जितोस् भन्ने उदेस्यले लागेका छौं' चौधरीले भने- 'प्रशिक्षण, बैठक तथा क्याम्पसहरुमा संगठन विस्तारका लागि जोड दिइरहेका छौँ।' यसैगरी नेपाली कांग्रेसले पनि आफ्नो विद्यार्थीं संगठन नेविसंघलाई जिताउनका लागि रणनीतिक तयारी गरिरहेको छ। विद्यार्थी चुनावमा विजय निश्चित गर्न कांग्रेस आफ्नो विद्यार्थी संगठनलाई आन्तरिक प्रशिक्षण दिइरहेको छ। कांग्रेसले स्ववियु निर्वाचनको तयारीका लागि शनिवार जिल्लाका नेविसंघ कार्यकर्ताहरुसँग छलफल गरी औपचारिक रुपमै संगठन बिस्तारमा लाग्न निर्देशन दिएको छ। 'स्ववियु निर्वाचनका लागि कांग्रेस सक्रिय छ', कांग्रेस दाङका सचिव शंकर डाँगीले भने, 'नेविसंघलाई जिताउनका लागि जिल्लाभरका नेविसंघका कार्यकर्ताहरुलाई प्रशिक्षण दिने काम गरिरहेका छौँ।' कांग्रेसले शनिवारको छलफलबाट जिल्लाका सबै क्याम्पसहरुमा संगठन बिस्तारका लागि निर्देशन दिएको पनि सचिव डाँगीले बताए। यसैगरी नेकपा एमाले,नेकपा माले, नेकपा माओवादी पनि स्ववियु चुनावको तयारीमा जुटेका छन् । जिल्लाका करिब २० भन्दा बढी क्याम्पसहरुमा स्ववियु निर्वाचनको तयारी भैरहेको छ। त्रिभुवन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त सरकारी तथा निजी क्याम्पसहरुमा चुनाव गराउने दौडमा विद्यार्थी संगठनहरु छन्। अहिले सबै विद्यार्थी संगठनहरुले प्रत्येक क्याम्पसमा संगठन पुनरगठन, संगठन विस्तारका कार्यक्रमलाई तीब्र पारेका छन्। 'चुनाव जित्ने सोँचका साथ अघि वढेका छौं, नेपाल विद्यार्थि संघका जिल्ला अध्यक्ष राजकुमार धितालले भने, 'संगठन विस्तार र पुनरगठनको कामलाई तिव्र पारेका छौँ।' अन्य पार्टीका बिद्यार्थि संगठनहरु पनि स्ववियु निर्वाचनको तयारी स्वरुप संगठन विस्तारमा लागेका छन्।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
0 comments
Write Down Your Responses