विद्यालयको ९ सय १३ बिघा जग्गा जोताहा किसानको कब्जामा !


१५ वैशाख, झापा । झापाको शरणामतीस्थित विभिन्न विद्यालयको ९ सय १३ बिघा जमिन कब्जा गरी बसोवास गर्दै आएका जोताहाहरूले खनजोत गर्दै आएको जग्गामा आफ्नो हकअधिकार रहने माग गरेका छन् । उनीहरूले मोहियानी हकबमोजिम आधा पाउनुपर्ने र बाँकी जग्गा किस्ताबन्दी रूपमा जोताहाहरूलाई नै किन्न दिनुपर्नेसमेत माग गरेका छन् । स्व.देवीप्रसाद उप्रतीले मेची अञ्चलका विभिन्न १९ ओटा विद्यालयलाई निःशुल्क प्रदान गरेको १३ सय बिघा जमिनमध्ये ९ सय १३ बिघा जग्गामा १ हजार परिवार बसोवास गर्दै आएका छन् । विद्यालयहरूसँग प्रतिबिघा आठ मनका दरले प्रतिवर्ष कुत तिर्ने सम्झौता गरे पनि विगत १६ वर्षदेखि जोताहाहरूले विद्यालयलाई ठेक्काबापत तिर्नुपर्ने धानसमेत नतिरी जग्गा कब्जा गरी बसेका छन् । विद्यालयहरूले ठेक्काबापतको कुत लिन आए पनि आफूहरूले तिरेको कुतको सही सदुपयोग नभएपछि तिर्न छोडेको जोताहाहरूको दाबी छ । शिक्षासेवी उप्रेतीले जनताको भलाइका लागि विद्यालयलाई दिएको सो जग्गामा २०१४ सालदेखि जंगल फाडेर भोगचलन गर्दै आएको सो जग्गामा आफूहरूको पनि हक लाग्ने भएकाले ठेक्काबापतको कुत नतिर्ने निर्णय गरिएको जोताहा संघर्ष समितिका अध्यक्ष प्रसाद शिवाकोटीले बताए । ‘हामीले विद्यालयको जग्गा कब्जा गरेको होइन, हामीले तिरेको कुत लिन आएका कर्मचारीले बाटैमा खाँदा रहेछन् र फेरि कुत उठाउन अर्को कर्मचारी पठाउँदा रहेछन्, त्यो हामीलाई स्वीकार्य भएन र कुत तिर्न छोड्यौं,’ उनले भने । जोताहाहरूले हाल पोखरी उच्च मावि तेह्रथुमको नाममा रहेको १ सय २० बिघा, मेची क्याम्पस भद्रपुरको १ सय २० बिघा, आदर्श उच्च मावि घैलाडुबाको ९० बिघा, त्रिभुवन मावि पाँचथरको ४८ बिघा, जनता उमावि शरणामतीको २७ बिघालगायत अन्य विद्यालयको जग्गामा कब्जा जमाएर बसेका छन् । यता, दाता स्व.उप्रेतीका नातिने बुहारी उर्वशी उप्रेतीले आफ्ना हजुरबुबाले विद्यालयको नाममा दिएको जग्गामा विवाद नगरी समस्या समाधान गर्न सरोकारवालाहरूसँग आग्रह गरिन् । ‘हजुरबुबाले दिएको जग्गामा पसिना बगाउनेको पनि अधिकार रहने भएकाले जोताहाको समस्या समाधान गर्नुपर्छ,’ उनले भनिन् । भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसका जोताहाले कब्जा गरेका जग्गा छुटाउन लामो समयदेखि पहल गरिए पनि छुटाउन सकिएको छैन । ठेक्का तिर्नुपर्ने पूर्वसर्तविपरीत जोताहाले क्याम्पसको जग्गा कब्जामा लिएका हुन्, राजधानी दैनिकमा खबर छ । झापा शरणामती–५ मा रहेको क्याम्पसको १ सय २० बिघा जग्गा लामो समयदेखि स्थानीय जोताहाको कब्जामा छ । जोताहाले डेढ दशकदेखि ठेक्का नबुझाएको मेची क्याम्पसका प्रमुख उमानाथ ओली बताउँछन् । ‘जोताहाले जग्गा छोड्न पनि मानेका छैनन्,’ उनी भन्छन्, ‘न त क्याम्पसलाई ठेक्काबापतको धान नै प्राप्त भएको छ, न त जग्गानै छोडेका छन् ।’ २०५४ सालदेखि क्याम्पसले ठेक्का उठाउन सकेको छैन । जमिनदार स्व. उप्रेतीले क्याम्पसलाई निःशुल्क रूपमा उपलब्ध गराएको सो जग्गा १ सय ६१ जना जोताहाको कब्जामा रहेको ओलीको भनाइ छ । क्याम्पसले प्रतिबिघा आठ मन धान लिने सर्तमा जग्गा ठेक्का दिएको थियो । तर, हाल जोताहाले प्रतिबिघा ६० मन धान उत्पादन गरिरहे पनि ठेक्काबापतको धान नबुझाउँदा क्याम्पसको आम्दानी गुमेको छ । प्रत्येक वर्ष ठेक्का बुझाउन पत्राचार गरिए पनि उनीहरूले अटेर गर्दै आएको क्याम्पस प्रमुख ओलीले बताए । ‘कर्मचारी पठाउ“दा पनि उल्टै धम्क्याएर पठाउ“छन्,’ उनले भने, ‘चाहनेले पनि ठेक्काबापतको बाली तिर्न पाएका छैनन् ।’ जोताहाले संघर्ष समिति गठन गरेर ठेक्का नबुझाउन उर्दी गरेपछि तिर्न खोज्नेहरू पनि निरुत्साहित भएको ओलीले बताए । जोताहामध्येका सातजनाले ठेक्का नबुझाउने निर्णय गर्दै बुझाउन चाहनेलाई घरमा आगो लगाइदिने धम्की दिने गरेका छन् । १ सय २० बिघामध्ये ११ बिघा जग्गाको मात्र १ हजार मन धान क्याम्पसले ठेक्का पाउन बाँकी छ । भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.