बैरागी बा माथि चोरीको बात !

source:onlinekhabar

साहित्य अथवा कलाको जुनसुकै विधा होस् सो बाहृय प्रभावले प्रेरित भएर पनि मौलिक उद्भावन हुन सक्छ । यसका प्रशस्त दृष्टान्त छन् पनि । बाहृय प्रभावलाई रचयिता अथवा कलाकारले आफ्ना मानसमान पकाएर, मथेर उत्पादित बस्तुलाई पचाएर आफ्ना मनीषाले रमणीयार्थक सिर्जना रच्न सके सो मौलिक कृतिकार हुन्छ । पकाउने, मथ्ने, पचाउने एवं रच्ने -ई चार प्रकृयाको आत्मसात् गर्न नसक्नेका सिर्जनामा बाह्य प्रभावको प्रतिस्वान नै बढी पाइने सम्भावना पाइन्छ । तेहाँ मौलिकताको लेश थोरै मात्र हुन्छ । नेपाली साहित्यमा भानुभक्तकृत रामायण, बालकृष्ण समप्रणीत धु्रव औं प्रहलाद, सोमनाथ शर्मा सिग्द्याल विचचित आदर्श राघव, लक्ष्मीप्रसाद देवकोटाकृत शाकुन्तल, महाराणा प्रताप, प्रमिथस आदि कृति उक्त चतुर्विध प्रक्रियाले प्रसून हुनाले राष्ट्रिय महत्वका मात्र नभई अन्तर्राष्ट्रिय मानस्तरका पनि समकक्ष ठहरिएका हुन् । ई कृति क्लासिकी भर्य कालजयी भए । कलाका क्षेत्रमा इम्प्रेसनिष्टिक् निकायका चित्रकार चन्द्रमान मास्के हुन् अथवा अमुर्तवादी लैनसिंह बाङदेल, सितारका प्रवीण शिल्पी गणेशबहादुर भण्डारी हुन्, तबलाका वस्ताद शम्भु मिश्र अथवा बेलाका निष्णात वादक गोपालनाथ योगी हुन् इनमा बाहृय निकाय अथवा घरानाको छाप लागे तापनि आफ्ना नैपुण्यले सो छाप निजस्वका लालमोहरमा परिणत भएको पाइन्छ । तेसैले ई राष्ट्रिय कलाकारका रुपमा आख्यात भए ।
स्फुट कविताका क्षेत्रमा बालकृष्ण सममाथि शेक्सपियरको, सिद्धिचरणमाथि सुचीत्रानन्दन पन्तको, भिक्षु औ प्रेमराजेश्वरी थापामाथि महादेवी वर्माको, लक्ष्मीप्रसाद देवकोटामाथि शेक्सपियरका अतिरिक्त वर्डस्वथ, शेली, किट्स, बायरन्, टेनिसन्, ब्राउनिङ, आदिको प्रभाव परेको कुरो तिनका रचनामा यत्रतत्र परिलक्षित भएकाबाट सिद्ध हुन्छ । नाटककार गोपालप्रसाद रिमालमाथि इब्सेनको प्रभाव पनि स्पष्टतः पाइन्छ । एति हुँदाहुँदै पनि ई साराका रचनामा नेपाली माटाको निजी सुगन्ध छ, नेपाली प्रकृतिको आफ्नै वर्णच्छता छ, नेपाली समाजको स्वकीय स्वनन छ, नेपाली हृदयको प्रकृत्या स्पन्दन छ, नेपाली भाषाको अन्तर्निहित प्राणन अर्थात् नेपाल राष्ट्रको महिमा छ ।
शक्ति उट्टोपाध्यायकृत कविताको बंगाली लिपी
शक्ति उट्टोपाध्यायकृत कविताको बंगाली लिपी
तर हाम्रा नाउँ चलेका, स्थापित हुन खोज्ने, प्रवीण अथवा नवीन केही लेखकहरुले अर्काका कृतिको मूलानूग प्रस्तुति गरेर नेपाल भाषान्तरण मात्र गर्नु शोचनीय कुरो नभई आफ्ना साहित्यको अवमूल्यन गर्नु हो । औ तेसभन्दा पनि बढी हो राष्ट्रको अपमान गर्नु । बडे मियाँ तो बडे मियाँ, छोटे मियाँ शुबानुल्लाह भन्ने उक्ति चरितार्थ भएको देखी कुनचाहिं राष्ट्रिवादी नेपालीको मुटु ननिचोरिएला ! तिमीहरुका साहित्यकार भनिनेहरु एस्तै हुन्छन् कि कसो भनेर विदेशीले खिसीट्यूरी गरे हामीले के भन्ने हो कुन्नि ? नभन्दै लेखनाथ पौड्यालको ‘पिंजडाको सुगा’ मूलतः मैथिली शरण गुप्ताका एक कविताको नेपाली भाषान्तरण हो भन्ने कुरो ज्ञानमणि नेपालले दृष्टान्तसहित सिद्ध गरिदिए । तेस्तै लेखनाथकृत सत्यकलि संवाद पनि तिनै मैथिलीशरण गुप्तकृत भारतभारतीका प्रभाववश रचिएको हो भन्ने कुरामा शंका गरिने ठाउँ छैन । ई दुवैको तुलनात्मक पाठबाट यो कुरो बुझन्छ पनि । तर विशेष कालखण्डमा रचित ई कृति नै लेखनाथको सर्वपूँजी होइन । इनलाई वाद गरे तापनि आफ्ना अन्य रचनाले लेखनाथले आफ्नो अपूर्व प्रतिभाको छटा फैलाएर मौलिक कविका रुपमा प्रसिद्धि पाए । पुरोहित रामप्रसाद सत्यालप्रस्तुत भक्त प्रहृलाद अर्थात् फूलमा भमरा राधेश्याम कथावाचकको पो रहेछ । काशीबहादुर श्रेष्ठको उषा हो कि वचन उपन्यास गुजराती उपन्यासको उल्था हो भन्ने बात पनि लागेथ्यो । प्यारु राजा ‘पीडित’ (सक्कली नाउँ द्रोणशमशेर जंगबहादुर राणा) ले आफ्नो भनेर रवीन्द्रनाथ ठाकुरको नै कथा चोरेका रहेछन् । तेस्तै लीलाबहादुर थापाको कुन चाहिं उपन्यास हो मौलिक हुँदै होइन भन्ने कुरो पनि प्रकाशित भएथ्यो । पूर्णप्रसाद ‘यात्री’ ले अर्काकै उपन्यासको नेपाली भाषान्तरण गरी आफ्ना नाउँमा छपाएकामा सो मौलिक होइन भनेर मदनमणि दीक्षितले खूब सिस्नौलीको प्रयोग गरेका थिए । तर तिनै मदनमणि दीक्षितको त्रिदेवी (२०५१) मौलिक हो र ? भन्ने प्रश्न ताइवानकी एक प्रशिद्ध चिनियाँ लेखिका लु सिउलिआन कृत ‘दीज थ्री विमिन्’ पढेर गर्न सकिन्छ । एसबारे पछि चर्चा गरिएला । अहिले ती सज्जन प्राज्ञाधिप भएका छन् । तेस्तै तिनका सहकर्मी, नेपाली राजकीय प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद्का एक सदस्य रमेश विकलले ‘समय र सपना’ तथा ‘एक कप चिया’ क्रमशः हर्बट् अनैष्ट् बेट्स्कृत ‘द अर्थ्’ र क्याथ्रीन् म्यान्स्फील्डरचित ‘ए कप अफ टी’ कथाको जस्ताको तस्तै उतार आफ्ना नाउँले नेपालीमा प्रकाशित गरे । अर्का ‘प्राज्ञ’ ध्रवचन्द्र गौतमलिखित औ दुईपल्ट अभिनित ‘त्यो एउटा कुरा’ नामक नाटक सेमुअले बेकेट्कृत वेटिङ् फर गोडअट्को अणुकरण हो जस्तो लाग्छ । सो नाटक नछापिएकाले वेकेट्का उक्त नाटकसित पाठ भिडाएर हेर्न सकिएको छैन । मोहन कोइरालाका कविताको मूलाधार टी. एस. इलिअट्को काव्यसम्भार हो भन्ने कुराको प्रमाण प्रशस्त पाइन्छ । कोइरालाको ‘पप्लरको पात’ नामक कवितासंकलनमा केही प्रसिद्ध अंग्रजी औ हिन्दी कविका कविताका अनेक पंक्ति भेट्टएिको प्रमाणमा तिनलाई ‘नम्बर वन्’ कवि भनेर सार्वजनिक रुपले सिरोपा प्रदान गर्नेलाई पुष्कर लोहनीले देखाइदिएपछि अब म तिलाई ‘नम्बर वन्’ कवि भन्दिनँ भने रे । शारदा शर्माका ‘सीमान्त अनुभूति’ नामक कवितासंकलनका केही कवितामा संस्कृतका अमरु कविता विशेषतः सुरत सुखानुभूतिका अनेक मुक्तको छाया नयनगोचर हुन्छ । नेपाली साहित्यका ठूला, साना च्याण्टा, सिकारु कवि अथवा लेखकहरुका यस्ता प्रवृत्तिलाई के भन्ने ? के एस प्रवृत्तिले राष्ट्रिय भाषाको सम्मान औ राष्ट्रिताको मानमनितो गरेको ठहरिन्छ ?
२०२१-३१ भित्र रचित जम्मा २१ लामा साना कविता लेखेका र तेसपछि एक दशकभन्दा बढी समयसम्म कुनै कविता नलेखे तापनि सोही सर्वपूजीका आधारमा २०४७ मा वैरागी काइँला नेपाल राजकिय प्रज्ञाप्रतिष्ठानका प्राज्ञपरिषदका सदस्य -पदार्थव्राची नभए तापनि पदवाची प्राज्ञ) भएथे र दोस्रोपल्ट पनि सोही पदमा २०५१ मा तिनको थमौती भएथ्यो । -हाल बैरागी नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति छन् (सं.) तिनको प्रसिद्धतम कविता ‘मातेको मान्छेको भाषणः मध्यरातपछिको सडकसित’ (२०२१) मानिन्छ विदेशमा कवितासंग्रहका दर्जनै पुस्तक छापिए तापनि कविलाई वरिष्ठ भनिहालिंदैन तर नेपालीमा दुई दर्जन पनि कविता नलेख्ने वरिष्ठ कवि भनिन्छन् । जे होस्, वैरागी काइँलाका उक्त कविताको चूरो बंगालीका अति शत्तिशाली कवि शक्ति चट्टोपाध्यायकृत ‘से बडो सुखेर समय नय, से बडो आनन्देर समय नय’ नामक कवितामा (२०२०) फेला पर्छ । ई बंगाली कविको देहान्त गत चैत २०५१ मा भयो । तिनले चार दशकभित्र अढाई हजारजति कविता लेखे औ ती ४५ ओटा संकलनमा छन् ।
२०२१ तिर वैरागी काइँला दार्जीलिङमा पढ्थे । पश्चिम बंगालका अन्तर्गत दार्जीलिङ हुनाले तेहाँ शक्ति चट्टोपाध्यय साहित्यका क्षेत्रमा पनि सुविख्यात भइसकेका थिए । तेसो हुनाले तिनका उक्त कविताले वैरागी काइँला प्रभावित हुनु आश्चर्य मान्न सकिन्न । नभन्दै ‘मातेको मान्छेको भाषण’मा मध्यरातपछि भट्टीबाट निस्केर घरतिर लागेको टिलबहादुर, पंक्तिबद्ध अट्टालिका, जीवद्दशामा म्रियमाण मानिस, चकमन्न रातमा ढुकेर बस्ने ह्रिंसक पक्षी औ अवश्यभावी मृत्यु, सडकको न्युनिकरण, अनि तज्जन्य परिवर्तन, मातेको मान्छे समात्न उद्यत पुलिस, मादक द्रव्यले अभिभूत व्यक्तिका हिंडाई बोलाई, तेसका तेस्रो नयनकाल दिव्यदृष्टिकाल सम्मुख परावास्तव जगत्को उद्घाटन औ अमूर्त वस्तुको दृष्टि-गोचरता, बज्रघाटन औ अमूर्त वस्तुको दृष्टि-गोचरता, बज्रकठार कुटिल वास्तवदेखि-निस्तार आदि यावत् विषयवस्तु शक्ति उट्टोपाध्यायकृत उक्त कविताबाट लिइएका हुन् होइनन् भन्ने कुरो तेसका नेपाली अनुवादले स्पष्ट हुन्छ । सो अनुवाद तल प्रस्तुत छ-
त्यो वडा सुखको समय थिएन
त्यो बडा आनन्दको समय थिएन ।
खुट्टादेखि टाउकासम्म धरमराउछ सर्वाङ्ग,
पर्खाल-पर्खाल, कार्निश-कार्निश
हल्लिईरहेछन् औ भइरहेछन् सडकका पेटीको पविर्तन मध्यरातमा
घर फर्किदा, देख्छु घरभित्र अर्कै घर
खुट्टाभित्र अर्कै खुट्टा, छातीभित्र अर्कै छाती
अरु केही छैन (एसभन्दा बढी अरु के होस् त ?)
तेसभन्दा पनि अघि खुट्टादेखि टाउकासम्म धरमराइरहेको सर्वाङ्ग,
पर्खाल-पर्खाल, कार्निश-कार्निश
केही छुट्टएिन, सडकका पेटीको भइसकेको रहेछ ।
परिवर्तन मध्यरातमा घर र्फकदा,
घरभित्र अर्कै घर,
खुट्टाभित्र अर्कै खुट्टा
छातीभित्र अर्कै छाती
अर्थोक केही छैन ।
‘ह्याण्ड्स अप्’ जतिञ्जेल तिमीलाई उचालेर कोही लैजाँदैन जाक्न कालो गाडीपभित्र,
कालो गाडीभित्र फेरि अर्को कालो गाडी,
तेसभित्र अनि फेरि अर्को कालो गाडी लामका लाम
झ्याल, ढोका, चिहान-उल्टोपाल्टो कंकाल
कंकालभित्र सेता धमिरा धमिराभित्र जीवन,
जीवनभित्र मृत्यु निसन्देह मृत्यसभित्र मृत्यु
अर्थोक केही छैन ।
‘ह्याण्ड्स अप’ हात उठाउदा जतिञ्जेल कोही तिमीलाई उचालेर लैजाँदैन
उचालेर जाक्न छिन्न भिन्न पार्दै गाडीबाहिर
तर अर्का गाडीभित्र जहाँ सधै प्रतीक्षा गरिरहेको हुन्छ
कोही लिउन समाइरहेको कलिलो बटवृक्षझैं त्यो कोही न कोही,
जसलाई तिमी चिन्दैनौ
त्यो पर्खिरहेछ पातका आडमा साह्रा कोपिलाझैं
हातमा लिई माकुरे स्वणिर्म जालमाल
तिमीलाई पहिराइदिनेछ- तिम्रो बिहे हुने छ मध्यरातमा,
जब सडकका पेटीको परिवर्तन हुन्छ-
खुट्टादेखि टाउका सर्वाङ्गमा भइरहेछ धरमर,
परखाल-परखाल, कार्निश-कार्निश केही छुट्टदिैन ।
नबिर्से, गाडी ठिंग उभ्याई दगुर्दैछ स्टेशन,
डूमका छेउ निभ्न आँटेका ताराको आलोक नबिर्से
जुता हिंड्दैछ,
खुट्टा छ स्थिर-आकाश पाताल सब ताल बेताल नबिर्से
बालखका काँधमा छ शवको पालकी लम्कँदो छ निमतलातिर-ओरपर
बूढाहरुको उफ्रीउफ्री, वासरधरे नाच
त्यो बडो सुखको समय थिएन
त्यो बडा आनन्दको समय थिएन
उत्तिखेरै खुट्टादेखि टाउकासम्म सर्वाङ्ग धरमराइरहेछ
परखाल-परखाल कार्निश-कार्निश केही छुट्टदिैन
सडकका पेटीको
हुँदैन परिवर्तन मध्यरातमा घर र्फकदा
घरभित्र छ अर्कै घर
खुट्टाभित्र छ अर्कै खुट्टा
छातीभित्र छ अर्कै छाती
अर्थोक केही छैन ।
(परिस्थिति साप्ताहिक वर्ष १६, अंक १३, २०५२ भदौ १३ गते मंगलबारको अंकबाट साभार । उक्त पत्रिकामा यसको शीर्षक ‘साहित्य औ कलामा मौलिक उद्भावन औ बाहृय प्रभाव’ रहेको छ ।)
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.