स्ववियु निर्वाचनका लागि रातभर भर्ना
काठमाडौ, जेष्ठ ५ - देशभरका क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि विद्यार्थी संगठन आफैंले लाखौं रुपैयाँ खर्चेर सयौं विद्यार्थीको रातारात भर्ना गरेका छन् । एमालेको भ्रातृ संगठन अनेरास्ववियु र एमाओवादीको भ्रातृ संगठन अखिल क्रान्तिकारीले माउ पार्टी र नेतासित पैसा मागेर आ-आफ्ना पक्षका विद्यार्थी भर्ना गरेका हुन् । त्रिभुवन विश्वविद्यालयले देशभरका ६० आंगिक क्याम्पसमा यही जेठ २३ गते स्ववियु निर्वाचन को घोषणा गरेको छ । त्रिभुवन विश्वविद्यालयले तोकेको भर्नाको अन्तिम दिन शुक्रबार राजधानीका प्रमुख दुई क्याम्पस रत्नराज्य र त्रिचन्द्रमा भर्नाको होड नै चलेको छ । त्रिचन्द्रमा राति २ बजेसम्म विद्यार्थी भर्नाको रसिद काटिएको छ भने रत्नराज्यमा पनि राति १२ बजेसम्म भर्ना प्रक्रिया चलाइएको छ । क्याम्पस प्रशासनले यसमा कुनै हस्तक्षेप गर्न सकेको छैन । क्याम्पस प्रमुखहरूले 'विद्यार्थीसित लड्न नसकिने' भन्दै प्रक्रियामा आएका फारमलाई स्वीकृत गरेको प्रतिक्रिया दिने गरेका छन् । प्रशासन स्रोतका अनुसार आरआरमा क्रान्तिकारीले झन्डै ४ सय विद्यार्थी भर्ना गरेको छ । भर्नाका लागि करिब १४ लाख खर्चेको स्रोतले बतायो । नेता सालिकराम जमकट्टेललाई पार्टीले आरआरको जिम्मेवारी दिएको छ । अनेरास्ववियुले भने ३ सय विद्यार्थी भर्ना गरेको छ । क्रान्तिकारीलाई पार्टीले पैसा दिएर धमाधम विद्यार्थी भर्ना भएकाले आफूहरूलाई खर्च दिन अखिल उपाध्यक्ष नवराज पौडेल नेतृत्वका कार्यकर्ता पार्टी मुख्यालय गएको र ५ लाख रुपैयाँ ल्याएर भर्ना प्रक्रियामा खर्चेको स्रोतले बतायो । ५ लाखमध्ये आरआरका लागि २ लाख ५० हजार, पब्लिक युथ क्याम्पसका लागि १ लाख र केन्द्रीय क्याम्पसका लागि १ लाख छुट्टयाइएको छ । एमाले अखिलले अधिकांश क्याम्पसमा जनआन्दोलनका घाइते, अपांग विद्यार्थीलाई खोजी-खोजी भर्ना गरेको छ । जनआन्दोलनका घाइतेको भर्ना एक सय रुपैयाँमा हुन्छ । रात्रि कक्षा चल्ने क्याम्पसमा बेलुका पौने ९ बजेसम्म मात्रै काउन्टर खुल्छ । त्रिचन्द्र क्याम्पसका प्रमुख प्रा. हरिप्रसाद थपलियाले बैंक भौचर काटेर फारम बुझाउन विद्यार्थी लाइन बसेकाले अबेरसम्म फारम बुझेको प्रतिक्रिया दिए । शुक्रबारमात्रै ३ सयभन्दा बढी विद्यार्थी भर्ना भएको उनले जानकारी दिए । 'तोकिएको समयभन्दा पछि फारम लिएको छैन । बाहिरी गेट बन्द गरेर प्रहरी तैनाथ गरिएको थियो,' उनले भने, 'लाइनमा बसेकाले विद्यार्थीको फारम लिँदा राति अबेर सकियो ।' उनले राति कक्षा लिन चाहने विद्यार्थीको फ्लो भर्नामा एक्कासि बढेको बताए । त्रिचन्द्रमा नेविसंघले २ सय, अखिलले १ सय र क्रान्तिकारीले १ सय विद्यार्थी भर्ना गरेका छन् । रत्नराज्य क्याम्पसका प्रमुख रुद्र पौडेलका अनुसार पछिल्लो तीन दिनमा १ हजारभन्दा बढी विद्यार्थी भर्ना भएका छन् । यसबाट करिब २२ लाख ५० हजार रुपैयाँ भर्ना शुल्क संकलन भएको छ । क्रान्तिकारीले भने शुक्रबार मध्याह्नमै भर्ना सकेको थियो । एमाले अखिलका एक नेताले पैसा आउन ढिला भएकाले भर्नाको समय मध्यरातसम्म लम्बिएको जानकारी दिए । बैंक खुल्ने समयसम्म रकम जम्मा गर्न नसक्दा एक सय ९९ विद्यार्थीको भर्ना गर्न नसकेको अखिलका एक नेताले बताए । 'क्याम्पस प्रशासनमा विद्यार्थीको फारम बुझाए पनि बैंक भौचर बुझाउन नसक्दा केही विद्यार्थीको भर्ना हुन सकेन,' उनले भने, 'विद्यार्थीले भौचर ल्याउला भनेर अबेरसम्म कुर्यौं तर ल्याउन नसकेपछि शुक्रबार भर्ना गर्न सकेनौं ।' त्यस्तै भक्तपुरको सानोठिमी क्याम्पसमा क्रान्तिकारीले ४ सय र अखिलले २ विद्यार्थी भर्ना गरेका छन् । भर्नाको विषयलाई लिएर क्रान्तिकारी र अखिलबीच पटक-पटक विवाद र झडपसमेत भएका छन् । विद्यार्थी भर्नाको विषयलाई लिएर क्याम्पस प्रमुख नरप्रसाद थापामाथि कुटपिटसमेत भएको छ । उनले आफूलाई एमाले अखिल समर्थित विद्यार्थीले कुटपिट गरेको आरोप लगाएका छन् । अखिलले भने त्यसको खण्डन गरेको छ । पाटन क्याम्पसमा क्रान्तिकारी र एमाले अखिलले ४० देखि ६० जनासम्म, वैद्य माओवादी र नेविसंघले १/१ सय विद्यार्थी भर्ना गरेका छन् । मीनभवनमा क्रान्तिकारीले ३ सय र अखिलले १ सय भर्ना गरेको भने पनि पुष्टि भइसकेको छैन । अमृत साइन्समा भने विद्यार्थी संगठनको समझदारीअनुसार एउटा संगठनले २८ जना मात्रै भर्ना गरेका छन् । केन्द्रीय क्याम्पस कीर्तिपुरमा क्रान्तिकारीले करिब ४० जना भर्ना गरेको स्ववियुका एकजना सदस्यले बताए । 'होलटाइमर र चुनावमा उठ्ने तथा आवश्यकलाई मात्र भर्ना गरिएको छ,' क्रान्तिकारीका ती स्ववियु सदस्यले भने, 'केन्द्रमा स्नातकोत्तर कक्षामात्रै चल्ने भएकाले भर्ना गर्न सजिलो छैन ।' विद्यार्थी भर्नाका लागि सरदर कम्तीमा ३ हजार ५ सय रुपैयाँ लाग्छ । देशभर कति विद्यार्थी गरे यकिन तथ्यांक नआए पनि लाखौं रुपैयाँ चलखेल भएको अनुमान छ । भर्ना भएका यी विद्यार्थीमध्ये ९० प्रतिशत खास विद्यार्थी होइनन् । उनीहरूको भर्ना चुनावी प्रयोजनका लागि गरिएको हो । एउटै विद्यार्थीले फरक-फरक क्याम्पसबाट भर्ना गरेका छन् । त्रिचन्द्रका क्याम्पस प्रमुख थपलियाले भने, 'मान्छे खोजेर ल्याउँछन् । योग्यता पुगेकालाई कागजात पुर्याएर ल्याएपछि क्याम्पसले भर्ना गर्नुपर्छ । यो चलिआएको ट्रेन्ड हो ।' यसरी विद्यार्थी भर्ना गर्न एमाले अखिल र एमाओवादीको अखिल क्रान्तिकारी अगाडि देखिएका छन् । क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले भर्ना हुन चाहनेलाई सघाएको बताए । 'हामीले सघाएका हौं, आफूले पैसा तिरेर भर्ना गरेका छैनौं । एमाले अखिलले आफ्नो गलत काम छल्न हामीलाई आरोप लगाएको हो,' उनले कान्तिपुरसित भने, 'उम्मेदवार बन्ने केही विद्यार्थी भर्ना भएका छन् ।' एमाओवादीले प्रत्येक कलेजमा एक जना केन्द्रीय सदस्यलाई स्ववियु चुनाव आफ्नो पक्षमा हुने गरी सम्पन्न गर्न जिम्मेवारी दिएको छ । स्रोतका अनुसार सानोठिमी क्याम्पसमा भाष्कर प्रधानांग, मीनभवन क्याम्पसमा कृष्ण केसी, केन्द्रीय क्याम्पस त्रिविमा अग्नि सापकोटा, रत्नराज्य र शंकरदेव क्याम्पसमा सालिकराम जमकट्टेल, त्रिचन्द्रमा सर्वोत्तम ढंुगोल, पब्लिक युथमा हिसिला यमी, पशुपति क्याम्पसमा नन्दकिशोर पुन, अमृत साइन्समा टोपबहादुर रायमाझीले त्यो जिम्मवारी पाएका छन् । अनेरास्ववियुका अध्यक्ष माधव ढुंगेलले 'पैसा नभएकाले ढिलो भर्ना गरिएको' बताए । 'पैसा हुने पहिला भर्ना भए होलान्, नहुनेलाई अन्तिममा भर्ना गराएका हौं,' उनले भने, 'यो चुनाव जित्ने रणनीति होइन । विकृति रोक्न एउटै विद्यार्थी एकभन्दा बढी कलेजमा भर्ना भएकालाई रोक्न जरुरी छ । हामी विसंगति, विकृतिमुक्त स्ववियु चुनाव गराउन प्रतिबद्ध छौं ।'
0 comments
Write Down Your Responses