समाचार
»
७ थान पासपोर्टसहित दम्पती पक्राउ
७ थान पासपोर्टसहित दम्पती पक्राउ
सात जना युवतीका पासपोर्ट बोकेर भारत जाँदै गरेका एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । महिलालाई गैरकानुनी तरिकाले भारतको बाटो हुँदै खाडी पठाउने 'मानव दलाल' भएको आशंकामा प्रहरीले ती दम्पतीलाई बुधबार पक्राउ गरेको हो । तर पक्राउ परेका दम्पतीले वैदेशिक रोजगारमा संलग्न एक जना 'एजेन्ट' ले बसको टिकट तथा बाटो खर्च दिएर झुक्याएर पासपोर्ट बोकाएको दाबी गरे । बाँके, दाङ, सुनसरी, गोर्खा र स्याङ्जाका युवतीको नाम, ठेगाना भएका ती पासपोर्टसहित प्रहरीले मोरङ, केराबारी ९ घर भई हाल सुनसरीको इटहरी ९ मा बस्दै आएका हिरालाल रिषिदेव र मेनुकादेवी भेटवाललाई पक्राउ गरेको हो । उनीहरूले आफू पतिपत्नी भएको बताएका छन् । मेनुकाको हाते ब्यागभित्रको खाममा बेरिएका ती पासपोर्ट नक्कली अथवा सक्कली कस्ता हुन् अझै पत्ता नलागेको बाँके प्रहरीले जनायो । नेपाल-भारत सीमामा रहेका सशस्त्र र नेपाल प्रहरीका चार वटा ब्यारियल तथा चेलिबेटी बेचबिखनविरुद्ध कार्यरत केही सामाजिक संघसंस्थाको निगरानीबाट जोगिएर भारत पुगेका रिषिदेव दम्पतीलाई भारतीय सीमा सुरक्षा बल -एसएसबी) ले जाँचका क्रममा एकसाथ थुप्रै पासपोर्ट देखेपछि पक्राउ गरी नेपाल प्रहरीको जिम्मा लगाएको हो । प्रहरीले एकसाथ धेरै पासपोर्ट भेटाएपछि 'दलाल' वा नक्कली पासपोर्टको धन्दामा संलग्नता हुन सक्ने भन्दै अनुसन्धानका लागि उनीहरूलाई अध्यागमन कार्यालय पठाएको थियो । अध्यागमन कार्यालय बाँकेका प्रमुख देवेन्द्र श्रेष्ठले, गम्भीर प्रकृतिको घटना भएकाले पासपोर्ट छानबिनका लागि उनीहरूलाई बिहीवार अध्यागमन विभाग काठमाडौं पठाएको बताए । 'युवतीहरूलाई पहिला भारत पठाएर पछि पासपोर्ट लगिरहेको पनि हुन सक्छ,' उनले भने, 'मानव बेचबिखन तथा जाली पासपोर्टसम्बन्धी घटना भएकाले यता अनुसन्धान सम्भव नभएकाले विभागमा पठाएका हौं ।' हलवार १ दाङकी पूजा नेपाली, बराहक्षेत्र १ सुनसरीकी संगीता राई, बोरियाङ २ गोर्खाकी सीता दर्जी, पुतलीबजार १ स्याङ्जाकी बोलमाया थापा तथा बाँकेका खासकुस्मा ४ की सन्तोषी थापामगर, बसुदेवपुर २ की दीपा खत्री, खासकुस्मा ४ की गीता केसीको नामको पासपोर्ट बोकेर ती महिला गइरहेकी थिइन् । पक्ताउ परेकी मेनुकाले आफू पनि विदेश गइरहेको बताइन् । यसअघि दुई पटक लेबनान र कुबेत गएको बताउने उनले यसपटक पनि दिल्ली भएर त्यता जान खोज्दा इटहरीका एजेन्ट उमेश चौहानले बाटो र टिकट खर्चसहित खाम दिएको बताइन् । 'विश्वास लागेकाले त्यसभित्र के थियो भनेर खोलेर हेरिएन,' उनले भनिन्, 'किताब हो लगिदिनु भनेर दिएकाले शंका नगरी झोलामा हालेकी थिएँ ।' ती दम्पती इटहरी-दिल्ली चल्ने बसमा सवार थिए । एसएसबीले खानतलासी गर्दा पासपोर्ट बरामद भएका हुन् । केही वर्षयता नेपालगन्ज नाका अवैध रूपमा मानव ओसार पसारको 'ट्रान्जिट' बन्दै गएको छ । सधैा भीडभाड हुने नाका भएकाले पनि दलालहरूले महिलालाई सजिलै भारत लग्ने गरेको मानव ओसारपसार तथा बेचबिखनसम्बन्धी मुद्दा हेर्दै आएका अधिवक्ता वासुदेव ज्ञवालीले बताए । 'दिल्लीमा पासपोर्ट बन्छ भनेर पनि महिलालाई त्यता लगेको देखिएको छ,' केही दिनअघि परेको त्यस्तै मुद्दाका बारेमा बताउँदै उनले भने, 'मानव बेचबिखनका तरिका र त्यसको स्वरूप बदलिएको छ । दलालले निःशुल्क भिसा र टिकटको प्रलोभन देखाएरसमेत खाडी मुलुक लग्न थालेका छन् ।' पछिल्लो समय निःशुल्क भिसा र टिकट दिई विदेश पठाएर जोखिमपूर्ण काममा लगाउने गिरोहसमेत सक्रिय भएको छ । केही दिनअघि त्यस्तै गिरोहले भारत लग्न थालेका बैकुण्ठे ३ भोजपुरकी २५ वर्षीया सुनिता मगर र शान्तिनगर ६ दाङकी ३७ वर्षीया रीमा विकलाई सीमामा उद्धार गरिएको थियो । त्यसरी विदेश पुर्याइएका महिलाहरू शारीरिक, मानसिक तथा यौनिक हिंसामा परेर फर्किने गरेका छन् । गतसाता मात्रै परासन ७ कञ्चनपुरकी एक युवतीलाई उद्धार गरिएको थियो । दुई वर्षसम्म कोठामा थुनेर साउदी अरबका एक घर मालिकले उनलाई यौन शोषण गरेका थिए । नेपाली महिला गैरकानुनी ढंगले त्यता जाने भएकाले त्यहाँ कानुनी उपचार खोज्नसमेत समस्या हुने गरेको महिला बेचबिखनविरुद्ध कार्यरत संघसंस्थाको भनाइ छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला
0 comments
Write Down Your Responses