समाचार
»
सरकारी स्कूलमा निजीका पुस्तक !
सरकारी स्कूलमा निजीका पुस्तक !
२५ वैशाख, काठमाण्डौं । केही वर्षयता सामुदायिक विद्यालयमा पनि अंग्रेजी माध्यमबाट पढाइ हुने गरेको सुनिएकै हो । तर, अंग्रेजी माध्यम पढाउने बहानामा सामुदायिक विद्यालयमा सरकारले तोकेको पाठ्यपुस्तक नै हटाएर निजी प्रकाशनका पाठ्यपुस्तक पढाइएको छ भन्दा अचम्मै लाग्ला । तर, यो यथार्थ हो । बर्दियाको एक सामुदायिक विद्यालयले अंग्रेजी माध्यमबाट पढाउने बहानामा सरकारी पाठ्यपुस्तकलाई नै लत्याएर निजी प्रकाशनका पुस्तक लागू गरेको छ । सदरमुकामसँगै जोडिएको कालिका–८ स्थित भगवती संस्कृत तथा साधारण माध्यमिक विद्यालय तिलकानाले शिक्षा नियमावलीविपरीत प्राथमिक तहमा निजी प्रकाशनका पाठ्यपुस्तक लागू गरेर पढाउँदै आएको हो । शिक्षा नियमावली संशोधन–२०६९ को परिच्छेद ७ (३५) मा सामुदायिक विद्यालयले थप पाठ्यसामग्री तथा पाठ्यपुस्तक प्रयोग गर्न चाहे जिल्ला शिक्षा कार्यालयबाट स्वीकृति लिनुपर्ने उल्लेख छ । तर, यस विद्यालयले जिल्ला शिक्षाको स्वीकृति बेगर सरकारी पाठ्यपुस्तक हटाएर कक्षा–४ सम्मको पूरै पाठ्यपुस्तक निजी विद्यालयमा पढाइ हुने निजी प्रकाशनका पुस्तक लागू गरेको राजधानी दैनिकमा खबर छ । जबकि पाठ्यक्रम विकास केन्द्रले प्राथमिक तहमा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमलाई लक्षित गरी नेपाली माध्यमको पाठ्यपुस्तकको अंग्रेजी अनुवाद प्रकाशन गरिसकेको छ । तर, यस विद्यालयले सरकारी नियम मिच्दै धमाधम निजी प्रकाशनका पाठ्यपुस्तक पढाउँदै आएको छ । सरकारी पुस्तकलाई हटाएर विद्यालयले नर्सरीदेखि कक्षा–४ सम्म एकता, मेघा, रिडमोरलगायतका निजी प्रकाशन गृहका पाठ्यपुस्तक लागू गरेको छ । ‘सरकारी हटाएर नर्सरीदेखि ४ कक्षासम्म निजी प्रकाशनका पुस्तक पढाइरहेका छौं,’ विद्यालयका एक शिक्षकले भने । विद्यालयले गत वर्षदेखि नै नेपाली पाठ्यपुस्तक हटाइएको एक शिक्षकले जानकारी दिए । विद्यालयका प्रधानाध्यापक राजेन्द्र एलसीले जनक शिक्षाले प्रकाशन गरेको अंग्रेजी माध्यमको पुस्तक पढाउन शिक्षकलाई जटिल हुनुका साथै सहज ढंगले उपलव्ध नहुने भएकाले निजीतर्फ आकर्षित भएको बताए । अंग्रेजी माध्यम चलाउने बहानामा यस विद्यालयले अभिभावकबाट पुस्तकबापत भन्दै मोटो रकम असुलेको छ । नर्सरीदेखि कक्षा–४ सम्मको पाठ्यपुस्तकबापत अभिभावकले ३ सय ८२ देखि १ हजार १ सय २४ रुपैयाँसम्म तिरेका छन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला
0 comments
Write Down Your Responses