श्रीमानले नै छातिमा छुरा प्रहार गरेपछि...

काठमाडौं- श्रीमानको यातना खप्न नसकेर २२ वर्ष अघिदेखि अलग बस्दै आएकी ४५ वर्षीया एक महिला अहिले पुनः तिनै श्रीमानको छुरा प्रहारबाट अस्वस्थ्य जीवन र मरणको दोसाँधमा रहन विवश भएकी छिन्। कैलालीको गेटा गाविस वडा नं ५ गेटा गाउँका विजयराज भट्टसँग २७ वर्ष अगाडि उनको प्रेम विवाह भएको थियो। विजयराजले आफू अविवाहित रहेको भन्दै विवाह गरे पनि घरमा गएपछि उनको पहिलो श्रीमती देखेपछि उनी छाँगाबाट खसेजस्तै भइन्। सुरूका एक वर्षसम्म राम्रै सम्बन्ध भए पनि त्यसपछिका दिनमा विजयराजले विभिन्न बहानामा कुटपिट गरेपछि १४ कट्ठा जमिन लिई उनी आफ्ना दुई छोराका साथ अलग बस्दै आएकी थिइन्। त्यसपछि पनि उनले श्रीमान्को यो वा त्यो रूपमा मानसिक र शारीरिक यातना खेपिरहिन्। त्यसपछि उनले आफ्नो पीडालाई लुकाएर नराख्ने निर्णयका साथ महिला पुनःस्थापना केन्द्र (ओरेक) मा उजुरी दिनुका साथै जिल्ला अदालत, कैलालीमा अंश मुद्दा हालिन्। जिल्ला अदालतले अंश दिलाउनेसम्बन्धी गरेको विरोधमा भट्टले पुनरावेदन अदालत, डोटीमा पुनरावेदन गरेपनि गत महिना सो अदालतले तल्लो अदालतको फैसलालाई सदर गरेपछि आफूले थप हिंसा सहनुपरेको उनले बताइन्। घटना विवरणअनुसार गत वैशाख ८ गते बिहान कान्छो छोरा चन्दकान्त भट्टलाई खाना खुवाइरहेको समयमा विजयराज से३प १००८ नम्वरको मोटरसाइकलमा आई एक्कासि कान्छा छोराको काखिमुनी छुरा प्रहार गर्न थाले। “मेरो छोरोलाई नमार भनी रोक्न खोज्दा ममाथि छुरा प्रहार भयो। मेरो काखिमुनी, हात, कम्मर र मुख गरी पाँच ठाउँमा छुरा प्रहार गर्‍यो।” त्यो दिनको कहालिलाग्दो घटना सम्झँदै उनी भन्छिन्, “म मरेको भन्ने ठानी ऊ छोडेर भागेकाले म बाँचे।” तर दोषीलाई हालसम्म प्रहरीले नियन्त्रणमा लिएको छैन।

0 comments

Write Down Your Responses

Powered by Blogger.