रणवीर कपुरसँग नाच्दै नेपाली चेली !
एक अर्बभन्दा बढी जनसंख्या भएको भारतको मूलधारका फिल्ममा झुल्कने अवसर सबैलाई जुर्दैन । सुपरहिट युवा हिरोसाथ देखिने सौभाग्य त झन् कतिको होला र ? नेपाली चेली साब्धी भट्टका लागि दैव दाहिना भएका छन् । उनी रणवीर कपुरका साथमा देखिने भएकी छन्, 'बेशर्म' को आइटम डान्समा । 'मैं लुटुंगी ए यारा तेरे मोहल्ले...' बोलको गीतमा उनी मुख्य डान्सर भएर देखिँदै छिन् । 'यो डान्स पपुलर पायो भने मेरा लागि बलिउडको ढोका उघि्रनेछ,' यी २३ वर्षे चेली आशावादी छन् । कहिलेकाहीं कथावस्तुले भन्दा नृत्य र गीतले हिट हुने फिल्ममा नायक/नायिकाभन्दा नृत्यांगना बढी चर्चित हुने गर्छन् । 'दबंग' मा 'मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए...' ले डान्सर मल्लिका अरोडा खानलाई लोकपि्रयताको शिखरमै पुर्याइदियो । सुदूरपश्चिमको महेन्द्रनगरमा जन्मेकी साब्धी 'मैं लुटुंगी...' ले त्यस्तै कमाल देखाओस् भनेर कामना गरिरहेकी छन् ।
यहाँसम्म उनलाई कसैले उचालेर पुर्याइदिएको भने होइन । काठमाडौंबाट प्लस टु सकेपछि उनी कला र संगीतमा करिअर बनाउन पाँच वर्षअघि भारत गएकी थिइन् । उनी लखनउको भातखण्डे संगीत महाविद्यालयमा स्नातक गर्दै थिइन्, जी टीभीले 'डान्स इन्डिया डान्स' सुरु गर्ने भयो । त्यसको दोस्रो संस्करणमा उनी छनोटमा परिन् । बलिउडका चर्चित हस्तीहरू जज रहेको त्यो कम्पिटिसनमा उनले आफ्नो प्रतिभा देखाउने मौका पाइन् । त्यसअघि उनले लखनउमै मञ्चीय प्रस्तुतिसमेत दिइसकेकी थिइन् ।
'लखनउमा सिंगिङ र डान्सको राम्रो तालिम लिएर म अवसरको खोजीमा मुम्बई पुगेकी थिएँ, एउटा कलाकार उदाउनका लागि ठाउँ पनि चाहिन्छ,' हालै धनगढी मामाघर आएकी साब्धीले भनिन् । त्यहाँ दुई वर्ष बिताइसक्दा उनले अनुपम खेरको एकेडेमीबाट अभिनयमा डिप्लोमासमेत पूरा गरेकी छन् । साब्धी केही समयभित्र आफ्नै स्वरले सजिएको हिन्दी गीतको एल्बम 'नैना बावरे' समेत निकाल्दै छिन् । आठ गीत रहेको एल्बममा चारवटामा चाहिँ अरूहरूले पनि गाएका छन् । 'एल्बमले राम्रो बजार लिने आशा छ,' उनले भनिन् । त्यसअघि हेरौं, 'बेशर्म' को डान्सले कत्तिको बजार लिन्छ ।
उक्त आइटम डान्सको भिडियोको लागि तल क्लिक गर्नुहोला :
|
0 comments
Write Down Your Responses