बाहुनले हलो जोतेको भन्दै छोरी दिएनन्
हिजोआज बाहुनले मात्र होइन, अरु जाति र समुदायका मान्छेले पनि हलो जोतेको बिरलै देख्न पाइन्छ । गोरु पाल्ने चलन कम हुँदै गएपछि हलोको सट्टा ट्याक्टरको प्रयोग बढ्न थालेको छ । गोरु पाइने गाउँमा भने अझै पनि हलो जोतिन्छ ।
केही वर्षअघिसम्म धेरै बाहुनले गोरु मात्रै पाल्थे । हलो जोत्दैनथिए । हलो जोत्न अरु समुदायका मान्छेलाई बोलाउने चलन थियो । हलो जोत्दा जात जान्छ भनेर बाहुनहरु झस्किन्थे । बाहुनले हलो जोत्न हुँदैन भनेर अन्धविश्वास मौलाएको बेला आजभन्दा ६४ वर्षअघि लमजुङका केही बाहुनहरुले सामुहिक रुपमा हलो जोतेका थिए । प्रजातन्त्रको उदय हुनुअघि वि.सं. २००६ साल साउन ११ गते आजकै दिन लमजुङको दुराडाँडा ६ अर्चल्यानीको बाटेगरामा हलो जोत्दा त्यसले देशैभर तरंग फैलाएको थियो ।
बाहुनवाद र हलीप्रथाको अन्त्य गर्न भन्दै पण्डित तोयानाथ अधिकारीको अगुवाईमा लेफि्टनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारी, विष्णुप्रसाद अधिकारी, हरिलाल पौडेल लगायतका २७ जना बाहुनले देशमै पहिलोपटक हलो जोतेका थिए । राणा शासनको बिरोधमा हलो जोतेको भन्दै उनीहरुलाई त्यतिबेला सरकारले समातेर जेलमा समेत हालेको थियो । हलो जोत्न हुँदैन भन्ने अरु बाहुनहरुले समेत हलो जोत्नेको खेदो खने । ‘शेषकान्त लेप्टन, हरिभक्त तिघ्रे, तोयानाथ पण्डित हलो जोति बिग्रे’ भनेर गाउँलेले गीत समेत बनाए ।
बल्लबल्ल बिहे भयो
२००६ सालमा लमजुङमा हलो जोत्ने अभियानका अगुवामध्ये विष्णुप्रसाद अधिकारी मात्र अहिले जीवित हुनुहुन्छ । शुक्रबार लमजुङको दुराडाँडामा भएको हलोक्रान्ति दिवसमा उपस्थित ९५ वषिर्य अधिकारीले टेलिफोनमा अनलाइनखबरसित भन्नुभयो-’त्यतिबेला हलो जोतेर हामीले ठीक गरेका थियौं, तर सास्ती निकै खेप्नुपर्यो । हलो जोतेको भनेर सबैले हेपे । विवाह गर्न समेत गाह्रो भयो । त्यतिबेला सानै उमेरमा विवाह गर्ने चलन थियो । तर मेरो ३० वर्षमा मात्रै भयो । भोटेओढारमा एकजना हलो जोत्ने नै बाहुनले ५ वर्षकी छोरी दिइन् । उनले पनि हलो नजोतेको भए मेरो विवाह हुन गाह्रो हुन्थ्यो ।’ आफूले हलो जोतेपछि हली पाइएन भन्न नपरेको, भनेको समयमा खेती लगाउन पाएको र देशैभर हलो क्रान्ति शुरु भएको उहाँले सुनाउनुभयो । २००८ सालसम्ममा तनहुँ, कास्की, धादिङ, अर्घाखाँची, गोरखा र स्याङ्जामा समेत बाहुनहरुले हलो जोतेका थिए ।
त्यतिबेला धादिङमा हलो जोत्ने प्रगतिशील कवि केवलपुरे किसानले भन्नुहुन्थ्यो-’हलो जोत्नेलाई समाजले बहिष्कार गरे । माइत आएकी छोरी घर जान पाएनन् । घर गएका बुहारी माइत आउन पाएनन् । उमेर पुगेका युवायुवतीको विवाह समेत रोकियो । हलो जोत्नेलाई सबैले छिःछि र दूरदूर गरे ।’
लमजुङबाट शुरु भएको हलो जोत्ने अभियानका सबै अगुवाहरुले यस्तै नियति भोग्नुपर्यो । तर यो विभेद धेरै वर्ष टिकेन । विस्तारै बाहुनले हलो जोत्न हुन्छ भन्ने भावनाको विकास भयो । हलोक्रान्तिलाई सबैले प्रशंसा गरे । अहिले पनि साउन ११ लाई हलोक्रान्ति दिवस भनेर सम्झने चलन छ ।
0 comments
Write Down Your Responses