पहिरोमा पुरिएर ७ जनाको मृत्यु


खिम्ती (रामेछाप) - अविरल वर्षाका कारण गए राती गएको पहिरोमा पुरिएर रामेछापको खिम्तीमा ७ जनाको मृत्यु भएको छ। सेना र प्रहरीको टोलीले मृतकका शव पुरिएको अवस्थाबाट बाहिर निकालेका छन्। निकालिएका मध्ये ६ जनाको सनाखत भएको छ। पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा खिम्ती-४ का एकै परिवारका ३ जना छन्। ५५ वर्षीय मिठो थापा, उनका १३ वर्षीय छोरा केदार थापा, २३ वर्षय छोरी स्वास्थानी थापाको मृत्यु भएको हो। खिम्ति-३ की १३ वर्षीय सीता सुनारको पनि पहिरोमा परी मृत्यु भएको छ। यसैगरी रसनालु गाविस-१ खोला खर्कका ५५ वर्षीय भीमबहादुर तामाङ, उनकी श्रीमती बाटुलीमाया तामाङ र आमा पर्ने एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। उनकै परिवारका १२ वर्षीय ढल्क तामाङ बेपत्ता छन्। पहिरोमा पुरिएर ५ जना अझै हराइरहेका छन्। पहिरोमा परी घाइते भएका ३ जनालाई सुरक्षाकर्मीको टोलीले उद्दार गरेको छ। घाइतेहरु महिमाला तामाङ, आइमाला तामाङ, हेमबहादुर तामाङलाई उद्दार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। अवरिल वर्षकाका कारण खिम्ती खहरेमा गएको बाढीले पुल बगाउँदा सदरमुकाम जोड्ने सडक सम्पर्क विच्छेद भएको छ। पहिरो गएको स्थान जिल्ला सदरमुकाम मन्थलीदेखि १६ किलोमिटर उत्तरतर्फ पर्छ।

0 comments

Write Down Your Responses

Powered by Blogger.