बर्डफ्लु नियन्त्रण गर्न कडा निगरानी
काठमाडौं - एक साताका लागि उपत्यकाभर कुखुरा र कुखुराजन्य पदार्थको किनबेच प्रतिबन्ध लगाउने निर्णयसँगै उपत्यकाका तीन वटै जिल्लामा यसको ओसारपसार नियन्त्रणका लागि कडाइ सुरू गरिएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला पशुसेवा कार्यालयका प्रमुखहरुले पशु सेवा ऐनअनुसार ७ दिनका लागि पक्षी ओसारपसारमा प्रतिबन्ध लगाइएको निर्णयसँग स्थानीय प्रशासनले कुखुरा एवं कुखुराजन्य पदार्थ किनबेचमा निगरानी बढाएको हो।
तीन वटै जिल्लाका पशु कार्यालयहरुले बिहीबार बिहानदेखि सेवा ऐन २०५५ को दफा १५ अनुसार सात दिनका लागि पक्षी ओसारपसार प्रतिबन्धको निर्णय गरेका थिए। प्रशासनले बिहीबारैदेखि सुरक्षा निकाय, प्राविधिक एवं विज्ञसमेत परिचालन गरी २४ घन्टे निगरानी बढाएको छ। नयाँ व्यवस्था लागू भएपछि व्यवसायीले उत्पादन भइसकेका चल्ला नष्ट गर्ने, उत्पादन भइसकेका अन्डा र ठूला कुखुरा एक सातासम्म फार्ममै राख्नुपर्छ। यसबीचमा नयाँ कुखुरा बजार नगएपछि कोल्डस्टोरहरु खाली हुने र तीसमेत सफा गरिनेछ। कुखुरा मरे तत्काल पशु सेवा कार्यालयमा खबर गरी सो क्षेत्रलाई निसंक्रामक गराउन सघाउनुपर्छ। उपत्यकामा दैनिक २ लाखदेखि २ लाख ५० हजार केजी कुखुराको मासु खपत हुन्छ। सातामा १५ लाख अन्डा र १७ लाख चल्ला उत्पादन हुन्छ।
बुधबार व्यवसायीसँग सहमति अनुसार बिहीबार बिहान कार्यालय प्रमुखहरुले प्रतिबन्धको निर्णय गरेर कार्यान्वयनका लागि सघाउन स्थानीय प्रशासनलाई आग्रह गरेका थिए। पशु सेवा कार्यालयले पक्षी ओसारपसार प्रतिबन्ध लगाएको निर्णय पाएलगतै तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले प्रहरीलाई नाका एवं सुरक्षा पोस्टमार्फत कडा निगरानी बढाउन र आवश्यक परे फार्म रहेका क्षेत्रमा गस्ती बढाउनसमेत निर्देशन दिएका छन्।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमले काठमाडांैका प्रमुख नाकाहरु बालाजु र थानकोटमा विशेष निगरानी बढाइएको जानकारी दिए। उनले आन्तरित रुपमा पनि काठमाडांै कुखुरा एवं कुखुराजन्य पदार्थ बोकेका गाडी वा व्यक्तिलाई तत्काल नियन्त्रणमा लिएर कारबाही थाल्न आदेश दिइसकिएको बताए। 'कसैले ओसारपसार गरेको पाइए यस्ता पदार्थ तत्कालै नष्टप्रक्रिया थालेर संलग्नमाथि कारबाही प्रक्रिया चल्छ,' उनले भने, 'दोषीउपर केही सार्वजनिक अपराध ऐन अनुसार पनि कारबाही चलाउन सकिन्छ।'
यसबाहेक जिल्ला पशु कार्यालयहरुले पनि व्यवसायीका प्रतिनिधिसहितको टोली परिचालन गरी निगरानी बढाइने जनाएका छन्। पशु सेवा विभागका उच्च अधिकारीहरुका अनुसार तीन वटै जिल्ला कार्यलयमा निगरानी गर्न जनशक्तिको अभाव रहेकाले अन्यत्रबाट थप कर्मचारी एवं प्राविधिक पठाइने भएको छ।
निगरानीमा खटिएको टोलीको कामको अनुगमनका लागि पशु सेवा विभागका उपमहानिर्देशक डा.रामकृष्ण खतिवडाको अध्यक्षतामा प्राविधिक र व्यवसायी सम्मिलित अनुगमन समिति गठन गरिएको छ। निगरानीका लागि जिल्लाहरुलाई जनशक्ति कम हुने भन्दै विभागले अन्य जिल्लाबाट काजमा कर्मचारी झिकाएर ती जिल्लामा पठाउने भएको छ। जिल्ला पशु स्वास्थ्य कार्यालय प्रमुख डा.बोलराज आचार्यले शुक्रबारै विभागले अन्य जिल्लाबाट थप कर्मचारी कागमा पठाउन लागेको जानकारी आएको बताए।
रोग नियन्त्रणमा सघाउन सरकारको आग्रह
सरकारले व्यवसायी, व्यापारी एवं उपभोक्तालाई आआफ्ना तर्फबाट बर्डफ्लु नियन्त्रणका लागि सरकारलाई सघाउन आह्वान गरेको छ। उपत्यकाका तीनै जिल्लामा कुखुरा र कुखुराजन्य पदार्थ ओसारपसारलाई सात दिनका लागि पूर्ण रुपमा प्रतिबन्ध लगाउने निर्णयलगत्तै पशु सेवा विभागमा आयोजित पत्रकार सम्मेलनमा कृषि सचिव जयमुकुन्द खनालले मानव स्वास्थ्य र पोल्ट्री व्यवसाय जोगाउन सरकारले प्रतिबन्धको निर्णय गरेको बताए।
'अहिले आगो लागेसरहको अवस्था हो, सरकार आगो निभाउन अगाडि बढेको छ, साथ दिनुस्,' सचिव खनालले भने, 'अटेरी गरे सरकार कडा रुपमा प्रस्तुत हुन बाध्य हुन्छ।'
कृषि मन्त्रालयका प्रवक्त प्रभाकर पाठकले यति छोटो समयमा यति धेरै ठाउँमा रोग फैलिँदा नेपालको रोग नियन्त्रण संयन्त्रमा अन्तर्राष्ट्रियस्तरमै प्रश्न उठिरहेको बताए। उनले हाम्रो क्षमता कमजोर हैन भन्ने देखाउन पनि ७ दिनभित्र रोग नियन्त्रण गर्न जरुरी रहेको भन्दै त्यसका लागि व्यवसायी, उत्पादक, उपभोक्ता सुरक्षा निकाय सबैबाट सहयोग आवश्यक पर्ने बताए।
पछिल्लो समय चितवन, पोखरा र धादिङमा उपत्यकाका संक्रमित कुखुरा पुर्याभइएको पुष्टि भएको पाइएको छ। पशु सेवा विभागले पनि आम रुपमा राजधानी लगायत मानिसको घना बस्ती रहेको क्षेत्रमा बर्डफ्लुको प्रकोप बढिरहेको भन्दै व्यवसायीसँग जैविक सुरक्षाका उपाय कडाइसाथ अवलम्बन गर्न, अन्य ७२ जिल्लामा पनि पक्षी ओसारपसार गर्दा अनिवार्य रुपमा दर्तावाल पशु चिकित्सकबाट जारी गरिएको भेटेरिनरी स्वास्थ्य प्रमाणपत्र लिएर मात्र गर्न, कुखुरा बोक्न प्रयोग गरिने साधन प्रत्येक पटक निसंक्रामक गर्नसमेत निर्देशन दिएको छ।
यसैगरी, विभागले देशभर अन्डा बोक्ने कागजका क्रेटको पुनः प्रयोग रोक्न, पक्षी फार्मको नियमित निसंक्रमण गर्न, पक्षी खोरमा काम गर्दा छुट्टै जुत्ताचप्पल प्रयोग गर्न, व्यक्तिगत सरसफाइमा ध्यान पुर्यारउनसमेत आग्रह गरेको छ। सावधानीका बीच पनि पक्षी बिरामी परे वा मरे तुरुन्त पशु सेवाका निकायमा जानकारी गराई रोग नियन्त्रणका लागि सहयोगको अनुरोध विभागले गरेको छ। कुखुराको मासु बिक्रीवितरणमा संलग्न व्यक्तिलाई समेत पक्षीको मासु बिक्री गर्दा सावधानी तथा व्यक्तिगत सरसफाइमा ध्यान दिन र मरेका पक्षीको मासु बिक्री नगर्न आग्रह गरिएको छ।
५० करोड लगानी
कार्यक्रममा ह्याचरी संघका अध्यक्ष शिवप्रसाद शर्माले महामारीको अवस्था नियन्त्रणका लागि व्यापारीले घाटा सहेरै सरकारलाई सघाउन तयार भएको बताए। उनले कुखुरा र कुखुराजन्य समेत गरी यस क्षेत्रमा झन्डै ५० अर्ब लगानी र वार्षिक एक खर्बको कारोबार रहेको बताए। यो उद्योग जोगाउन व्यवसायीले नै अग्रसरता लिनुपर्ने बताए। २०६५ सालमा पहिलोपटक झापामा देखापरेको बर्डफ्लु बिहीबारसम्म आइपुग्दा १८ जिल्लामा १ सय १३ केस देखिएका छन्। जसमध्ये आर्थिक वर्ष ०७०/२०७१ मा मात्र गत साउन २ यता १७ गतेसम्म २४ ठाउँमा संक्रमण देखिसकिएको छ। जसमध्ये १९ केस उपत्यकामा छन्।
जोगिने तरिका
कुखुरामा बारम्बार संक्रमण भेटिए पनि नेपालमा हालसम्म बर्डफ्लुको संक्रमण भेटिएको छैन। संक्रमित कुखुरा छोएको हात वा अन्य सामग्री नाक वा अन्य माध्यमका श्वासप्रश्वासमा संक्रमण भएर मानिसमा सर्छ। विज्ञहरुका अनुसार यस प्रकारका भाइरसले अति छिट्टै आफ्नो वंशानुगत स्वरूपमा परिवर्तन गर्नसक्ने क्षमता बोकेको हुन्छ। यस क्रममा शरीरका कोषसँग समायोजन भएर नयाँ किसिमका हानिकारक जिवाणु जन्मन्छ, जुन पशुबाट मानिसमा सर्छ। मान्छेमा यो रोग लागे मृत्युदर ६० प्रतिशत छ। संक्रमित पक्षी, मासु, अन्डा वा सुलीलगायत अन्य पदार्थको सम्पर्कले रोग सर्ने सम्भावना बढ्छ।
0 comments
Write Down Your Responses