बासस्थान नभएपछि बाघले गाउँ पसेर उपद्रो गर्ने

१६ वैशाख, काठमाण्डौं । सन् २०२२ सम्म नेपालमा बाघको संख्या ३ सय १० पुर्याउने सरकारको अन्तर्राष्ट्रिय प्रतिबद्धता हो । सन् २०१० मा गरिएको यो प्रतिबद्धता सन् २०२२ अगावै पूरा हुने बाघविज्ञहरूको अनुमान छ । यति मात्र होइन, हालको वृद्धिदरले सरकारले गरेको प्रतिबद्धताभन्दा दुईगुणा बढी बाघ पुग्ने अनुमान पनि गर्न सकिन्छ ।
tigerतर, बर्सेनि बाघको संख्या वृद्धिसँगै त्यही अनुपातमा बासस्थान नबढे त्यसले मानव बस्तीमा विकराल समस्या ल्याउने देखिएको छ । नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार बाघको संख्या दोब्बर हुनेमा विज्ञहरू ढुक्क भए पनि बासस्थान पर्याप्त नहुँदा मानव बस्तीमा बाघ आक्रमण बढ्ने उनीहरूको चिन्ता देखिन्छ ।
विज्ञहरूका अनुसार एउटा वयस्क बाघका लागि २५ देखि ४५ वर्गकिलोमिटर वन क्षेत्र आवश्यक पर्छ । ‘बाघको बासस्थानबारे ध्यान नदिने हो भने बाघ र मानिसबीचको दूरी बढ्न सक्छ,’ जनावरविद् डा. मुकेश चालिसे भन्छन्, ‘बाघको संख्या बढ्नु राम्रो हो, तर बासस्थान अभावले ठूलो समस्या आउन सक्छ ।’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मेघबहादुर पाण्डे बाघको संख्या बढ्नु राम्रो मानिए पनि त्यहीअनुरूप बासस्थान विकासमा पनि ध्यान दिनुपर्ने बताउँछन् ।
बासस्थान वृद्धिमा ध्यान नपुर्याइए त्यसले विकराल समस्या निम्त्याउनेमा उनी सहमत छन् । त्यसैले, उनी संरक्षित जनावर आवतजावतका लागि करिडोर आवश्यकता भएकोमा जोड दिन्छन् । यसका लागि सरकारले चुरे क्षेत्रको वन संरक्षणमा सरकारले ध्यान दिन नसकेको गुनासो गर्छन् । ‘निकुञ्ज र संरक्षित क्षेत्रहरू मात्र संरक्षण गर्दैमा हुँदैन, जनावरलाई एक ठाउँबाट अर्को ठाउँमा हिँडडुल गर्न बाटो पनि चाहिन्छ,’ उनको बुझाइ छ ।
वन तथा भू–संरक्षण मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेल संरक्षणमा सक्रिय अधिकारकर्मीहरूको निगरानी तथा सचेतनाका कारण बाघको संख्या बढेको बताउँछन् ।
सँगसँगै उनी बाघको बासस्थान र करिडोर निर्माण अत्यावश्यक भएकोमा पनि जोड दिन्छन् । बाघ पाइने संसारका १३ मुलुकको सूचीमा नेपाल ५ स्थानमा छ । सन् २०१० मा सरकारले बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता जनाउँदा नेपालमा १ सय ५५ बाघ थिए । तर, सरकारले सन् २०११ मा बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गरेको गणनामा २१ बाघ बढेको पाइएको थियो । सरकारी तथ्यांकअनुसार बर्दियामा ३७, शुक्लाफाँटामा १०, चितवनमा १ सय २५ र पर्सामा चार बाघ रहेको राजधानी दैनिकमा खबर छ ।
गत फागुनदेखि पुनः सुरु भएको गणनाले पनि बाघको संख्या बढ्नेमा विज्ञहरू पूर्ण आशावादी छन् । सरकारले पछिल्लो समयमा बाघको चोरीसिकार नियन्त्रणमा कडा कदम चाल्दै आएको छ । यसले बाघको संख्या दिनप्रतिदिन बढिरहेको छ । सरकारले गत फागुन पहिलो सातादेखि मुलुकभर एकै पटक बाघ गणना गरिरहेको छ । बाघको गणना गर्दा विगतमा छुट्टाछुट्टै गरिने गरिँदा यकिन तथ्यांक आउन नसकेको भन्दै यो वर्ष एकै पटक गणना सुरु गरिएको थियो । बाघको बासस्थान भनेर पहिचान गरिएका मुलुकका प्रमुख निकुञ्ज, आरक्ष, जैविक मार्ग र चुरे क्षेत्रमा एकै पटक हजारभन्दा बढी क्यामरा राखेर बाघको गणना भइरहेको छ ।
बाघ हिँड्ने बाटोको दायाँ–बायाँ स्वचालित क्यामरा राखी ‘क्यामरा ट्र्यापिङ’ विधिअन्तर्गत गरिने गणनामा ५ सय जोडी क्यामराको प्रयोग भइरहेको छ । क्यामराले लिएका तस्बिरमा बाघको शरीरका पाटोको अध्ययन गरी संख्या यकिन गरिन्छ । एउटा बाघको पाटो अर्कोसँग नमिल्ने हुँदा यो विधि अपनाइएको हो । आगामी जेठ अन्तिमसम्म बाघ गणनाको परिणाम सार्वजनिक गर्ने सरकारी तयारी छ ।
मुलुकका पर्सा वन्यजन्तु आरक्ष र नजिकको चुरे क्षेत्र, चितवन राष्ट्रिय निकुञ्ज, बरन्डाभार जैविक मार्ग र चुरे क्षेत्र, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसँगै नजिकको चुरे क्षेत्र, बसन्ता र लालझाडी जैविक मार्ग र जोडिएको चुरे क्षेत्र, शुक्लाफा“टा वन्यजन्तु आरक्ष, ब्रह्मदेव जैविक मार्ग र चुरे क्षेत्रमा बाघ गणनाको काम भइरहेको छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.