भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
‘दारु’ खाने पुरुष र ‘मेकअप’ गर्ने महिला बढे
३० चैत, काठमाडौं । नेपाल कृषि प्रधान मुलुक भए पनि अत्यावश्यक खाने कुरासमेत बाहिरी देशसँग निर्भर हुने क्रम बढेको छ । यसमा पनि पुरुषहरुले पिउने रक्सी र महिलाले प्रयोग गर्ने कस्मेटिक समान नेपाल भित्रिने क्रम बढेको छ । नेपालको खाद्य वस्तुको आयात उच्च दरमा बृद्धि भएको तथ्यांकहरुले देखाएका छन् । अन्य उत्पादनका साथै खानेकुरासमेत बाहिरी देशसँग निर्भर हुन थालेपछि यसले परनिर्भरतालाई अरु बढेको छ ।
चालु आर्थिक वर्षको फागुन महिनासम्म खाद्यन्नको आयात १३ अर्ब ३८ करोड २० लाख रुपैयाँ ९ हजार रुपैयाँ पुगेको छ । गत वर्ष १३ अर्ब ४१ करोड ३३ लाख ६३ हजार रुपैयाँ बराबरको खाद्यन्न आयात भएको थियो । यसवर्ष भने ८ महिनामै अघिल्लो वर्षको रेकर्ड तोडिएको छ ।
रक्सी र कस्मेटिकमा बढ्ता ध्यान
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टिईपीसी) को तथ्याङक अनुसार फागुन महिनासम्ममा अल्कोहल र कस्मेटिक वस्तुको आयात हृवात्तै बढेको छ । गत आर्थिक वर्षको फागुन महिनासम्ममा ८३ करोडको अल्कोहल नेपाल भित्रिएकोमा यसवर्षको समीक्षा अवधिमा मात्रै १ अर्ब १८ करोड रुपैयाँको अल्कोहल आयात भएको छ । त्यस्तै समीक्षा अवधिमा कस्मेटिक समानको आयात २ अर्ब ४१ करोड रुपैयाँ बराबरको भएको छ । गत वर्षको सोही अवधिमा कस्मेटिक सामानको आयात १ अर्ब ८९ करोड रुपैयाँ बराबरको भएको थियो ।
समीक्षा अवधिमा सुनचाँदीको आयात २३ दशमलव ४ प्रतिशतले बृद्धि भएर २३ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, शक्तिबर्द्धक पेय पदार्थको आयात गत आवको सोही अवधिमा ३९ करोड रुपैयाँ बराबर भएकोमा समीक्षा अवधिमा ४० दशमलव ८ प्रतिशतले आयात बढेर ५५ करोड रुपैयाँ पुगेको छ । टोवाकोको आयात पनि समिक्षा अवधिमा ७ प्रतिशतले बढेर १ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । अन्य वस्तुहरुको आयातमा पनि उच्चदरले बृद्धि भएको छ । टिईपीसीको तथ्याङ्कअनुसार हाल १ रुपैयाँको वस्तु निर्यात गर्दा ७.८ रुपैयाँको आयात भईरहेको छ । गत आवको सोही अवधिमा यस्तो दर १ : ६.४ रहेको थियो । पाश्चात्य जीवनशैलीबाट प्रभावित हुँदै गएका नेपालीहरुले विदेशी वस्तुहरुको प्रयोगलाई बढाएपछि व्यापार घाटा बढ्दै गएको हो ।
टिइपीसीका अनुसार चालु आर्थिक वर्षको प्रथम आठ महिनासम्ममा ४ खर्ब ४१ अर्ब ९ करोड रुपैयाँ बराबरको नेपालको कुल वैदेशिक व्यापार भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१ दशमलव २ प्रतिशतले बढि हो । समीक्षा अवधिमा ५० अर्ब २२ करोड रुपैयाँ बराबरको नेपाली वस्तु निर्यात भएको छ भने ३ अर्ब ९० अर्ब ८७ करोड रुपैयाँ बराबरको विदेशी वस्तु आयात भएको छ । गत वर्ष नेपालबाट ७४ अर्ब बराबरको कुल वस्तु निर्यात भएकोमा यस वर्ष सोही बराबरको पनि वस्तु निर्यात गर्न नसकिने नेपाल सरकारका सचिव कृष्णहरि बाँस्कोटाले बताउँदै आउनुभएको छ । नेपालले निर्यातजन्य वस्तुहरुको पहिचान गरी त्यसको बृहत उत्पादन, प्रचार-प्रसार तथा निर्यात प्रबर्द्धन गर्न नसक्दा व्यापार घाटा बढ्दै गएको विशेषज्ञहरुको भनाइ छ ।
केही वर्ष अगाडि नेपालबाट उनी गलैंचा र पश्मिनाको निकासी वृहतमात्रामा हुने गरे पनि अहिले त्यो स्वात्तै घटेको छ । त्यसपछि अन्य निकासीजन्य वस्तुहरुको न त पहिचान हुन सकेको छ न त पहिचान गर्ने कष्ट नै गर्न सकिएको छ । सिमेन्टमा भने नेपालको परनिर्भरतामा कमी देखिएको छ ।
निर्यातको अवस्था
फागुन महिनासम्म उनी गलैंचाको निर्यातमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६ दशमलव.९ प्रतिशतले ह्रास आई ३ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, तयारी पोशाकको निर्यातमा २२ दशमलव ५ प्रतिशतले ह्रास आई २ अर्ब ३५ करोडमा सिमित भएको छ । फलाम तथा स्टीलजन्य उत्पादनहरुको निर्यातमा ७ दशमलव २ प्रतिशतले वृद्धि भई. ८ अर्ब ४ करोड रुपैयाँ पुगेको छ भने पोलिष्टर तथा अन्य धागोको निर्यातमा ८ दशमलव ९ प्रतिशतले ह्रास आई ३ अर्ब ७९ करोडमा सिमित हुन पुगेको छ ।
त्यसैगरी, मुसुरोको दाल निर्यातमा ५४ दशमलव ९ प्रतिशतले वृद्धि भई २ अर्ब ३७ करोड पुगेको टिईपीसीको तथ्याङ्कमा छ । फागुन महिनासम्ममा ८० करोड २८ लाखको छाला, २ अर्व ३४ करोडको अलैंची, १ अर्व २५ करोडको चिया, १ अर्व १ करोडको जडिवुटी, ३ अर्ब ५५ करोडको टेक्सटाइल नेपालबाट निर्यात भएको छ ।
आयातको अवस्था
फागुन महिनासम्ममा अधिकांश वस्तुहरुको आयातमा बृद्धि भएको छ । फलाम तथा स्टीलजन्य वस्तुको आयत ३९ अर्ब २८ करोड रुपैयाँको भएको छ भने पेट्रोलियम पदार्थको आयत ६९ अर्ब ७२ करोडको भएको छ । यातायातका साधन र तिनका पार्टपुर्जाको आयात २२ अर्ब ५८ करोड इलेक्टि्रक र इलेक्ट्रोनिक सामाग्रीहरुको आयात १६ अर्ब २२ करोड, मशिनरी तथा पार्ट्सको आयात २१ अर्ब १२ करोड, पोलिथिन ग्रेन्युल्सको आयात ८ अर्ब २२ करोड, कच्चा पाम आयलको आयात २ अर्ब ५४ करोड, दुरसञ्चारका सामाग्रीहरुको आयात ७ अर्ब ९२ करोड, रसायनको आयत ४ अर्ब ५४ करोड, सुनको आयात १७ अर्ब १५ करोड, रासायनिक मल १० अर्ब २१ करोड र सिमेन्ट क्लिङ्कर ३ अर्ब ७१ करोड, भटमासको कच्चा तेल ८ अर्ब ४५ करोड, तयारी पोशाक ६ अर्ब ७ करोड, ऊन १ अर्ब ६७ करोड रुपैयाँ बराबरको आयात भएको छ ।
Powered by Blogger.
0 comments
Write Down Your Responses