भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
भारतीय ‘फिल्ड अफिस’ बन्द नगरे आन्दोलनमा उत्रन्छुः प्रकाश
२ वैशाख काठमाडौं । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले विराटनगरमा रहेको भारतीय ‘फिल्ड अफिस’ तत्काल बन्द गर्न माग गर्नु भएको छ । सप्तकोसीमा बाढी आएका बेला भारतको बाटो भएर ओहोरदोहोर गर्ने नेपाली सवारीसाधनलाई अनुमतिपत्र दिन मात्र सुनसरीमा स्थापना भएको ‘फिल्ड अफिस’ स्थानन्तरण गरी हालसम्म सञ्चालन नियमित गरिएको भन्दै उहाँले विरोध गर्नुभयो ।
सोमबार ललितपुरस्थित आफ्नै निवासमा केही सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व परराष्ट्रमन्त्री समेत रहेका प्रकाशले भन्नुभयो ‘राष्ट्रिय स्वाभिमान एवम् हितप्रतिकूल हुने गरी उक्त कार्यालय सञ्चालन भएकाले त्यो तत्काल बन्द हुनैपर्छ नभए त्यसविरुद्ध म आन्दोलनमा उत्रन्छु ।’ उच्चस्तरीय राजनीतिक समितिमा पनि उक्त कार्यालय बन्द गर्ने र चारै दलका शीर्ष नेताले संयुक्त वक्तव्य जारी गर्ने सहमति भएको दावी गर्नुभयो ।
कार्यालय बन्द गर्न यहाँस्थित भारतीय दूतावासका सम्बद्ध अधिकारीलाई दिएको निर्देशनको पालना नभएको उहाँको भनाई थियो । भारतलाई नेपालको सार्वभौमिकताविरुद्धका गतिविधि नगर्न अपिल गर्दै उहाँले प्राप्त सहयोगप्रति आभार पनि व्यक्त गर्नुभयो ।
एमाओवादीले राष्ट्रिय स्वाधीनता एवम् हित रक्षाका लागि विस्तारित बैठक गर्न लागेको भन्दै उपाध्यक्ष श्रेष्ठले मुलुककको राजनीतिक इतिहासमा पहिलो पटक त्यस्तो बैठक हुन लागेको बताउनुभयो । कुनै पनि दललले आजसम्म राष्ट्रिय स्वाधीनताबारे त्यस्तो बैठक नगरेको उहाँको भनाइ थियो ।
अर्को एक प्रशंगमा प्रकाशले संविधानसभाको निर्वाचनमा नेकपा- माओवादीलगायत दलले भागलिने प्रतिबद्धता जनाएमा उनीहरूलाई पनि उच्चस्तरीय राजनीतिक समितिमा सामेल गराउन सकिने बताउनु भयो । निर्वाचन आयोगमा दर्ता भएका सबै दललाई चुनावमा सरिक गराउन चार शक्तिले गम्भीर रुपमा वार्ता गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो-’नेकपा-माओवादी, मधेसी जनअधिकार फोरमका अध्यक्षहरूलाई पनि संयन्त्रमा ल्याउन चार दल उदार हुनपर्छ तर त्यसका लागि वैद्य र यादवजी चुनावमा जाने सुनिश्चितता गर्नेपर्छ ।’
कात्तिक अन्तिम वा मङ्सिरको पहिलो साताभित्र संविधानसभाको निर्वाचन सम्पन्न गर्ने गरी सरकारले चुनावको मिति अविलम्ब घोषणा गर्नुपर्ने माग गर्दै उहाँले सम्पूर्णरुपमा निर्वाचनमा केन्दि्रत रहेर कार्य गर्न सरकारलाई आग्रह गर्नुभयो ।
Powered by Blogger.
0 comments
Write Down Your Responses