निजामति कर्मचारी गुरुका गार्ड !

९ जेठ, काठमाण्डौं । परीक्षार्थीमा उत्तर लेखनको चिन्तासँगै गार्ड (सुपरिवेक्षक) बस्ने शिक्षक कति कडा पर्लान् भन्ने सधै चिन्ता हुन्छ । नेपालका हरेकजसो परीक्षामा शिक्षकहरूले गार्डका रूपमा कडा/नरम भूमिका निभाएका कारण परीक्षा र गार्ड चिन्ताको विषय बन्छन् । तर, बिहीबार (आज) बाट सुरु भएको परीक्षा भने आमपरीक्षार्थीको भन्दा बेग्लै चिन्ता छ, कर्मचारी गार्ड कस्ता पर्लान् भन्ने । शिक्षक सेवा आयोगले १७ वर्षपछि लिएको शिक्षक परीक्षामा यस पटक निजामती कर्मचारीहरू गुरुको गार्ड गर्दै छन् । वर्षौदेखि अस्थायी रूपमा अध्यापनरत र अध्यापन लाइसेन्स लिएका तर अध्यापनमा संलग्न नभएका ४ लाख ८० हजार ७ सय ५८ परीक्षार्थी बिहीबारबाट तीन दिनसम्म परीक्षामा उत्रँदै छन् । अध्यापन गराइरहेका गुरुहरूले परीक्षा दिन बसेपछि निष्पक्षताका लागि आयोगले निजामती कर्मचारीलाई गार्ड खटाएका कारण गुरुहरूले परीक्षा हलको नौलो वातावरण महसुस गर्नेछन् । किनकि, निजामती सेवाका शाखा अधिकृतलाई केन्द्राध्यक्ष तोकिएको छ भने निजामती सेवाकै कर्मचारी र संस्थानका (अपुग भए) कर्मचारी मात्र सुपरीवेक्षकका रूपमा खटिँदै छन् । परीक्षाका लागि १ हजार ८ सय ४७ केन्द्राध्यक्ष, ३ हजार ६ सय ९४ सहायक केन्द्राध्यक्ष, २ हजार ४ सय ३८ निरीक्षक, ७ हजार ३ सय ८८ सहयोगी कर्मचारी र सुरक्षाकर्मी १८ हजार ४ सय ७० कायम गरिएको छ । परीक्षाका लागि कुल जनशक्ति ५५ हजार ४ सय ३७ परिचालन हुने आयोगका उपसचिव नारायण भट्टराईले बताए । परीक्षालाई अव्यवस्थित र अमर्यादित बनाउने निरीक्षक, केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षलाई निष्कासन गर्ने, विभागीय कारबाही गर्ने वा कारबाहीका लागि सिफारिस गर्ने व्यवस्था गरिएको बताउँदै उपसचिव भट्टराईले भने, ‘६ महिनासम्म थुना राख्ने वा १ लाख रूपैयाँसम्म जरिवाना गर्ने व्यवस्था निर्देशिकामा कायम गरिएको छ ।’ परीक्षा अमर्यादित बनाए आवश्यकता हेरी शिक्षक सेवा आयोगले लिने परीक्षामा वञ्चित गर्न सक्नेसम्मको अधिकार आयोगलाई रहेको छ । माध्यमिक तहको बिहीबार, निम्न माध्यमिकको शुक्रबार र प्राथमिक तहका शनिबार परीक्षा हुँदै छ । माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहका लागि १३ हजार ५९ जनाको कोटामा ४ लाख ८० हजार ७ सय ५८ जना प्रतिस्पर्धीले निजामती सेवाका कर्मचारीको सुपरिवेक्षणमा उत्तर लेख्ने व्यवस्था मिलाइएको आयोगका प्रशासकीय प्रमुख खगेन्द्र नेपालले बताएको राजधानी दैनिकमा खबर छ । परीक्षामा माध्यमिक तहका लागि २ हजार २ सय ८६ जना आवश्यक रहेकोमा ६१ हजार ६ सय २० जना, निम्न माध्यमिक तहमा २ हजार ७ सय ९३ जना आवश्यक रहेकोमा १ लाख ६८ हजार १ सय ८४ जना र प्राथमिक तहमा ७ हजार ९ सय ८० जना आवश्यक रहेकोमा २ लाख ५० हजार ९ सय ५४ जनाले परीक्षा दिने आयोगका प्रशासकीय प्रमुख नेपालले बताए । उनका अनुसार तिनै तहको परीक्षा दिउँसो २ बजेदेखि ५ बजेसम्म हुनेछ । परीक्षा दिने परीक्षार्थीका लागि नेपाली अक्षरका आधारमा सिट प्लानिङ गरिएको र परीक्षाको तयारी देशभर नै पूरा भएको आयोगले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.