अर्कालाई दुःख दिन अदालत जानेहरु कालोसूचीमा पर्ने

भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

२४ वैशाख, काठमाडौं । कसैलाई दुःख दिने वा हैरान पार्ने नियतले सर्वोच्च अदालतमा रिट दर्ता गराउने वकिल एवं निवेदकहरुले अब डराउनुपर्ने भएको छ । ‘सार्वजनिक सरोकारको विषय’ भन्दै त्यस्तो रिट लिएर अदालत जानेहरुलाई अब सर्वोच्च अदालतले रिट दर्ता गर्नु त परै जाओस्, दर्ता गर्न जाने व्यक्तिलाई समेत अदालतले कालो सूचीमा राख्न र दण्ड जरिवाना तिराउन सक्ने नयाँ नजीर बनेको छ ।
सर्वोच्च अदालतले यो नयाँ व्यवस्थाको पहिलो शिकारचाँहि मन्त्री परिषद अध्यक्ष खिलराज रेग्मी र लोकमानसिंह कार्कीविरुद्ध सिलसिलेबार मुद्दा हालिरहेका अधिवक्ता ओमप्रकाश अर्याललाई बनाएको छ । अर्यालले सोमबार लोकमानसिंह विरुद्ध पेश गरेको रिट निवेदन सर्वोच्चका रजिष्ट्रारले दर्तै नगरी फिर्ता गराउनुमा अदालतले हालै तयार पारेको यही नयाँ नजिरलाई आधार मानेको छ । तथापि अदालतले अर्यालको निवेदनमात्रै अस्वीकार गर्यो, उहाँलाई कालो सूचिमा राख्ने वा जरिवाना तिराउने चाँहि गरेन । तर, अर्याल नयाँ नजिर लगाएर रिट फिर्ता पठाइने पहिलो निवेदकमा पर्नुभएको छ । यद्यपि उक्त नजिरअनुसार नियमावली नै नबनी आफ्नो रिटमाथि नयाँ प्रावधान लागू गर्न नपाइने अधिवक्ता अर्यालको जिकिर छ ।
1
सर्वोच्च अदालतको बदख्वाइँ गरिरहेका केहीले यो नजीर अदालतले रेग्मी सरकारका काम कारवाहीलाई सहज बनाउने नियतले ल्याइएको तर्क गरेका छन् । तर, रेग्मी गत चैत्र १ गते मात्रै सरकार प्रमुख बन्नुभएको हो भने यो नजीरचाँहि पौष ५ गते नै बनिसकेको थियो । सर्वोच्चका न्यायाधीशत्रय सुशीला कार्की, कल्याण श्रेष्ठ र गिरीशचन्द्र लालको इजलासले गरेको खानेपानीसम्बन्धी एउटा मुद्दाको फैसलामा लिइएको यही नजीरका आधारमा सोमबार अर्यालको रिट निवेदन दर्ता अस्वीकार गरिएको हो । निवेदक अर्यालले लोकमानको मुद्दालाई ‘सार्वजनिक सरोकारको विषय’ भनी गरेको दाबीलाई अस्वीकार गर्दै अदालतले उक्त फैसलामा उल्लेख भएको प्रक्रिया नमिलेको भन्दै अर्यालको निवेदन दर्ता नगरेको हो । अदालतको तर्कअनुसार लोकमानको मुद्दामा अर्यालको सरोकार के हो भन्ने दाबी पुगेन । लोकमानलाई अख्तियारमा नियुक्त गर्दा निवेदकको के बिग्रन्छ भन्ने पुष्टि गर्न नयाँ नजीरले माग गर्छ ।
जोसुकै व्यक्तिले ‘सार्वजनिक सरोकारको विषय’ भन्दै अदालतमा रिट हालेर व्यक्ति र अदालतलाई समेत अनावश्यक दुख दिने गरेकाले अबदेखि सर्वोच्च अदालतले नियमावलीमा नयाँ प्रावधान बनाउन फैसलामा निर्देशन छ । यद्यपि अदालतले यो फैसलामा जनाइएअनुसार नियमावली भने अहिलेसम्म बनाएको छैन । अर्यालको निवेदनमा सोमबार नियमावली नै नबनेको अवस्थामै अदालतले उक्त फैसलालाई आधार मान्दै दरपीठको कारवाही गरेको हो । त्यसो त वकिलहरुले नै नजीरलाई फैसलाको एउटा आधार मान्दै आएका छन् र पौष ५ को उक्त फैसला पनि एउटा नजिर नै हो ।
के छ नयाँ नजीरमा ?
न्यायाधीशत्रयले गरेको उक्त फैसलामा रिट दर्तासम्बन्धी गरिएको नयाँ व्यवस्थामा कुनै पनि रिट निवेदन दर्ता गर्ने बेलामा दब भैसकेको कानूनलाई आधार मानेको छ वा छैन, सोही विषयमा अदलातमा अर्को रिट विचाराधीन छ कि छैन भन्नेबारे जाँच गरेरमात्रै निवेदन दर्ता गर्नुपर्ने उल्लेख छ । त्यसैगरी सार्वर्जनिक सरोकारको विषय भन्दै रिट दर्ता गर्न चाहने निवेदकले मुद्दामा आफ्नो सरोकार पुष्टि गर्नु पर्ने नयाँ नजीरमा उल्लेख छ । कसैले ढाँटेर वा कसैलाई दुख दिने नियतले रिट दर्ता गराएको भए उसलाई कालो सूचीमा राखिने र दर्ता भैसकेको रिट पनि बदर गरिने नयाँ नजिरमा उल्लेख छ । त्यस्तो निवेदकबाट अदालतले जरिवानासमेत असुल्न सक्ने कडा व्यवस्था गरिएको छ ।2
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.