मुक्तिनाथमा भारतीय पर्यटकको चाप


बाग्लुङ - मुक्तिनाथ मन्दिरको दर्शन गर्न र गर्मी छल्न आउने भारतीय पर्यटकको मुस्ताङमा घुइँचो लागेको छ। हवाई र सडक मार्गबाट दैनिक दुई सय भारतीय पर्यटक आएको अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) मुस्ताङले जनाएको छ। विगतको तुलनामा यो वर्ष भारतीय पर्यटक बढेको एक्याप मुस्ताङका प्रमुख सन्तोष शेरचनले बताए। 'गत वर्ष यो सिजनमा दैनिक एक सय भारतीय आएका थिए,' उनले भने। अधिकांश भारतीयहरु विदाको समयमा मुक्तिनाथ मन्दिरमा दर्शन गर्न आउँछन्। अभय ट्राभल लगायत भारतीय ट्राभल एजेन्सीले गोरखाको मनकामना, पोखरा र मुक्तिनाथ मन्दिरलाई प्याकेज बनाएर पर्यटक ल्याउने गरेका छन्। उनीहरुको मुस्ताङ बसाइ एक/दुई दिनको हुने गरेको छ। धार्मिक तथा पुरातात्विक महत्व बोकेका ऐतिहासिक स्थल, हिमशृंखलाको अध्ययन, जैविक, सांस्कृतिक विविधताको अध्ययन अवलोकनका लागि पर्यटक मुस्ताङ आइपुग्छन्। धर्मकर्म गर्न पारिवारिक भ्रमणका लागि उनीहरु आउने गरेको मुस्ताङको हिमालय होटलका सञ्चालक आत्म तुलाचनले बताए। 'छोटो समय बसे पनि पर्यटन व्यवसायमा सघाउ पुगेको छ, ' उनले भने। पोखराबाट जहाजमा जोमसोम जानेको संख्या बढेको म्याग्दीका यातायात व्यवसायीले बताए। बेनी—जोमसोम खण्डको मुस्ताङ घाँसाबाट उता दोब्बर भाडा र ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान)ले अतिरिक्त शुल्क लिएपछि हवाई मार्ग रोज्नेको संख्या बढेको छ। म्याग्दीका यातायात व्यवसायीले घाँसासम्म नेपाली र भारतीयलाई एकै दरको भाडा लिने गरेका छन्। उक्त खण्डमा टानले ५ सय रुपैयाँ र मुस्ताङमा दोब्बर भाडा लिँदा सडक महँगो परेपछि अधिकांश भारतीय पर्यटकले हवाई मार्ग रोजेको म्याग्दी बस तथा जिप व्यवसायी समितिका उपाध्यक्ष मोहन केसीले बताए। 'सडकबाट भन्दा जहाजबाट सस्तो पर्ने भयो,' केसीले भने, 'यो विषयमा टान र मुस्ताङका यातायात व्यवसायीले सोच्नुपर्छ।' पोखरा—जोमसोम रुटमा जहाज भाडा दर २ हजार २ सय ५० रुपैयाँ भए पनि सडक मार्गबाट जाँदा २ हजार ५ सय रुपैयाँ लाग्ने केसीले बताए। भारतीयले निजी सवारी लिएर आएपछि सार्वजनिक सवारी प्रयोग गर्नेको संख्यासमेत कम भएको व्यवसायीले बताएका छन्। सडक मार्गबाट दैनिक आठ/दस भारतीय नम्बर प्लेटका गाडी पोखराबाट म्याग्दी हुँदै मुस्ताङ पुग्ने गरेका छन्। भारतीय नम्बर प्लेटका गाडी सिधैं मुस्ताङ लैजान दिँदा व्यवसायी मर्कामा परेको मुस्ताङ जिप व्यवसायी समितिका अध्यक्ष जयन्द्रलाल थकालीले बताए। 'भारतीय पर्यटकको संख्या बढे पनि आफ्नै गाडी लिएर आएपछि हाम्रा सवारी प्रयोग गर्दैनन्,' थकालीले भने, 'भारतीय नम्बर प्लेटलाई अनुमति दिँदा व्यवसाय चौपट भयो।' पर्याप्त प्रचार भए भारतीय पर्यटकको संख्या अझै बढ्ने पर्यटन व्यवसायीले बताएका छन्। 'सरकारी स्तरबाट प्रचारका लागि कुनै पहल छैन,' पर्यटन व्यवसायी खगेन्द्र तुलाचनले भने, 'निजी क्षेत्रको प्रयासले भारतीयहरु आउने क्रम बढेको छ। अझै व्यापक प्रचार गर्न सके यो संख्या अझै धेरै हुनेछ।' भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.