सस्तो कोठामा बस्न डेढसय परिवारको तँछाड-मछाड
१८ साउन, काठमाडौं । न्यून आय हुनेहरू र विद्यार्थीका लागि लक्षित गरी बनाइएको एउटा अपार्टमेन्ट हात्तीको मुखमा जिरा जस्तो भएको छ । ललितपुरको धोबीघाटमा निर्माण भएको चारतले भवनमा बस्नका लागि समान्य वर्गका डेढ सय परिवारको आवेदन परेको छ । जबकि त्यहाँ २४ परिवार मात्रै अटाउन सक्छन् । ’हामीले सोचेभन्दा धेरैको आवेदन पर्यो’ आवासका लागि सहयोग समुह (लुमन्ती) का बरिष्ठ कार्यक्रम अधिकृत समा वर्जले अनलाइनखबरसित भन्नुभयो-’आकर्षण बढेपछि फेरि अर्को भवन बनाउँदैछौं ।’ यो भवन बन्न एक वर्ष लाग्ने उहाँले बताउनुभयो ।
नयाँ भवनमा समेतले माग धान्ने नभएकाले अरु भवन पनि बनाउने सोच रहेको उहाँको भनाइ छ ।रेन्टल हाउजिङ्गको सोमबार मन्त्रीद्वारा उद्घाटन गराइएको छ । २४ कोठाको रेन्टल हाउजिङ्गको उद्घाटन गर्दै शहरी विकासमन्त्री छविराज पन्तले न्यून आय भएका तथा काठमाडौँमा कोठाभाडामा बस्नेहरूको समस्यालाई ध्यानमा राखेर हाउजिङ्ग निर्माण गरिएकाले यसले शहरी ब्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । कोठाभाडाको समस्यालाई यस्ता अभियानले व्यवस्थित गर्नुका साथै सभ्य शहरको निर्माण हुने उहाँको दावी छ । मन्त्री पन्तले यस्ता अभियान सरकारले पनि सञ्चालन गर्नुपर्ने आशय ब्यक्त गर्दै यस अभियानले भूमिको पनि सही उपयोग भएको दावी गर्नुभयो ।
घरभाडा सम्बन्धी ऐन छिट्टै
काठमाडौंमा भनेको बेला खोजेजस्तो कोठा नपाउनु र पाइहालेमा पनि घरबेटीसँग पानी र चर्पीको विषयमा कचकच गरिरहनपर्नु धेरै भाडावालाको नियति हो । ३/४ हजार घटिको एउटा कोठा पाउनु मुश्किल भैसक्यो । कोठा पाइहालेमा पनि अँध्यारो, ढल गनाउने, पानी नहुने, घरबेटीसित ठाकठुक परिरहने समस्याबाट धेरैजना आजित भैसकेका छन् । यस्तै असुविधा र झण्झट सहेर पनि भाडामा बस्नुको अर्को विकल्प पनि छैन ।
शहरी विकास मन्त्रालयका सचिव किशोर थापाले काठमाडौँ उपत्यका लगायतका प्रमुख शहरहरुमा कोठाभाडाको समस्या बिकराल हुँदै गएको महसुश गरी सरकारले कोठाभाडा सम्बन्धी आचारसंहिता तथा निर्देशिका तयार गरिसकेको जानकारी दिनुभएको छ । उहाँका अनुसार चालुवर्षदेखि लागु गरिने बताउनुभयो । उहाँले घरभाडा सम्बन्धी ऐन बनाएर लागु गर्न अदालतले आदेश दिइसकेको जानकारी दिदै कोठाभाडा सम्बन्धी समस्यालाई छिट्टै संबोधन गरिने बताउनुभयो । थापाका अनुसार ५८ प्रतिशत जनसंख्या कोठाभाडामा बस्दै आएका छन् ।
रेन्टर हाउजिङ्ग निर्माण गर्ने संस्था लुमन्ति -आवासका लागि सहयोग समुह) का अध्यक्ष प्रफुल्लमान सिंहले कोठाभाडा सम्बन्धी समस्यालाई एक खालको सिस्टममा ल्याउनको लागि ब्यवस्थित र सुविधा प्रदान गर्नका लागि रेन्टल हाउजिङ्ग निर्माण गरिएको बताउनुभयो । रेन्टल हाउजिङ्ग आफूहरुले उदाहरणका लागि गरेको र यस्तो काम सरकारले गर्नुपर्ने सिंहको धारणा छ । रेन्टल हाउजिङ्गमा २४ कोठाहरु रहेका छन् । प्रत्येक कोठामा एउटा शौचालय र किचन कर्नरको ब्यवस्था छ । १ सय ८० वर्गफिटका फराकिला कोठाहरुमा दुईवटा झ्याल राखिएको छ । जसको भाडा महिनाको तीन हजार रुपैंया मात्र तोकिएको छ ।
सस्तो, सुविधा सम्पन्न र एउटा कोठामात्र पनि पाईने सुविधा रेन्टर हाउजिङ्गमा छ । लुमन्तिका अनुसार न्यून आय भएका परिवारले काठमाडौँमा कोडाभाडामा पाउन नसक्ने अवस्था छ । कोठाभाडामा दिनेहरुले पनि जति पैसा लिएपनि हुने, सुविधाको कुनै ग्यारेन्टी नहुने र सुरक्षाको पनि प्रत्याभूति गर्न नसकिने अवस्था रहेको छ । यो समस्या समाधान गर्न लुमन्तीले निर्माण गरेको घरले केही सहयोग गरेपनि यो पर्याप्त भने हुन सकेको छैन ।
0 comments
Write Down Your Responses