समाचार
»
सुत्केरी गराउन हेलिकप्टर चार्टर !
सुत्केरी गराउन हेलिकप्टर चार्टर !
२४ साउन, सोलुखुम्बु । सल्लेरी-६ खोरियाकी कल्पना श्रेष्ठ प्रधानले काठमाण्डौको एक अस्पतालमा छोरी जन्माइन् । तर छोरी जन्माउनका लागि उनले जीवनभरकै ठूलो कष्ट र पीडा भोग्नु पर्यो । सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुमा प्रसूतिसम्बन्धी राम्रो सेवा नहुँदा एक लाख ६० हजार रुपैयाँमा हेलिकप्टर चार्टर गरेर कल्पनालाई काठमाण्डौ लानुपर्यो । “डाक्टरले दिएको समय कटेर एक हप्ता पर पुग्दासम्म अस्पताल बस्नु पर्यो, डाक्टरले अन्यत्र लैजाऊ भने अनि हेलिकोप्टर चार्टर गरेर काठमाडौँ ल्याइयो”-कल्पनाका श्रीमान् सूर्यबहादुर प्रधानले भन्नुभयो । ओखलढुङ्गाको सामुदायिक अस्पताल मिसनमा शल्यक्रियाको व्यवस्था भए पनि बर्सातका कारण बाटो बिग्रँदा ओखलढुङ्गा लान गाह्रो भएपछि जिल्ला अस्पताल फाप्लुबाट अन्यत्र पठाइएका हरेक गर्भवती महिलाका लागि हेलिकप्टर चार्टर एक मात्र विकल्प हो । जसका लागि एक लाख ६० हजार रुपैयाँ लाग्छ । फाप्लु विमानस्थलमा समेत नियमित रुपमा टि्वनअटर जहाजको उडान नहुँदा यतिखेर बिरामी तथा यात्रुहरुले सास्ती भोग्नु परेको छ । सडक यातायात सञ्चालन नहुँदा र टि्वनअटर जहाज उडान नहुँदा सबैभन्दा बढी मारमा बिरामीहरु पर्ने गरेको तारा एयरलाइन्सका अशोक थुलुङले बताउनुभयो । विभिन्न हेलिकप्टर कम्पनीसँग समन्वय गरी हेलिकप्टर उडानमा सहजीकरण गरिरहेका थुलुङले हेलिकप्टर चार्टरको दर नै महँगो भएकाले सबैको पहुँचमा नभएको उहाँको भनाइ थियो । “फाप्लु अस्पतालमा यतिखेर सामान्य सेवा मात्र उपलब्ध छ, गर्भवती महिलालाई अस्पतालले अन्यत्र लानभन्दा लाखौँ रकमको ऋणमा गरिबहरु परेका छन्”-एक सेवाग्राहीले भने । हुन पनि फाप्लु अस्पतालमा सामान्य प्रसूतिको मात्र व्यवस्था छ । वर्षको केही महिना अस्पतालमा विशेषज्ञ डाक्टर सहितको प्रसूति सेवा उपलब्ध हुने भए पनि वर्षभरि यो सेवा सञ्चालन हुने गरेको छैन । बजेटका कारण विशेषज्ञ स्तरीय डाक्टर अस्पतालमा राख्न नसकिएको जिल्ला स्वास्थ्य कार्यालयको भनाइ छ । अस्पतालमा डाक्टरहरु त छन्, तर अधिकांश डाक्टर नयाँ र सिकारु हुने गरेका छन् । नेपाल सरकारको छात्रवृत्ति कोटामा डाक्टरी अध्ययन गरेका डाक्टरहरु दुर्गममा निश्चित समय बिताउनै पर्ने बाध्यताका कारण जिल्लामा आउने गरेका छन् । स्वास्थ्य सेवा विभागको उच्च पदमा सोलुखुम्बुकै नागरिक भए पनि जिल्लाका नागरिक प्रसूति तथा अन्य बिरामी सामान्य शल्यक्रियाका लागि लाखौँ रकम खर्चन र ठूलो मानसिक तनाबवाट गुज्रन बाध्य छन् । रासस
0 comments
Write Down Your Responses