प्रेस चौतारीका केन्द्रीय नेता हाडनाता करणीमा समातिए

]६ असोज काठमाडौं । नेकपा एमालेनिकट प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं मेची अञ्चल इञ्चार्ज रमेश पोख्रेल हाडनाता करणीको अभियोगमा केन्द्रीय कमिटीको बैठकबाटै पक्राउ परेका छन् । बागबजारस्थित होटल हार्दिकमा शनिबार चौतारीको केन्द्रीय कमिटीको बैठक चलिरहेकै बेला प्रहरीले पोख्रेललाई गिरफ्तार गरेको हो । शुरुमा चौतारीका पदाधिकारीले प्रहरीको विरोध गरे पनि पछि प्रहरीले ‘यो व्यक्ति अपराधी हो’ भनेपछि उनलाई पक्रन चौतारीले सहयोग गरेको थियो । झापा घर भएका पोख्रेललाई प्रहरीले बैठकस्थलबाट भ्यानमा हालेर सिंहरबार प्रहरी वृत्तमा लगेको थियो । चौतारीका महासचिव माधव नेपालले विज्ञप्ति जारी गरेर पोख्रेललाई साधारण सदस्यबाट समेत निस्काशन गरेको जनाएका छन् । झापाको दमकमा पोख्रेल विरुद्ध हाडनाता करणीको उजुरी दर्ता छ । सोही उजुरीका आधारमा उनलाई झापा प्रहरीको आग्रहअनुसार काठमाडौंमा पक्राऊ गरिएको झापाका एक पत्रकारले अनलाइनखबरलाई बताए । आफ्नो नाता पर्ने एक बालिकालाई लामो समयदेखि बलत्कार गर्दै आएको रहस्य खुलेपछि पोखे्रलकी पत्नीले दमक प्रहरीमा आफ्ना श्रीमान विरुद्ध उजुरी दिएकी हुन् । झापामा रहँदा पनि केही दिनयता अर्धभूमिगतजस्तै भएर हिँडेका पोख्रेल चौतारीको बैठकमा भाग लिन काठमाडौं आएका थिए । उनी मोवाइल विच्ड अफ गरेर बैठकमा बसेका थिए । प्रेस चौतारीका मेची अञ्चल इञ्चार्ज एवं केन्द्रीय सदस्य भए पनि पोख्रेल पछिल्लो समयमा पत्रकारितामा खासै सक्रिय भने थिएनन् । सुनसरीको रेडियो स्टार, झापाको सप्तरंगी र हिमशिखर टेलिभिजनमा समेत केही समय आवद्ध रहेका उनी समाचार लेखन भन्दा पनि विज्ञापन उठाउनेतिर बढी सक्रिय थिए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.