जनयुद्धकालीन सबै घटनाको जिम्मेवारी लिन्छु : प्रचण्ड

६ असोज, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले दश वर्षे जनयुद्धमा आफूले गरेका सम्पूर्ण राम्रा नराम्रा कार्यहरुको जिम्मेवारी आफैंले लिने बताउनुभएको छ । जनयुद्धकालमा भारत, दरबार या अन्य देशहरुसँगको सम्बन्ध लुकीछिपी एवं षड्यन्त्रमूलक ढंगले नगरेर पारदर्शी रुपमा राजनीतिक सिद्धान्तका आधारमा गरिएको बताउनुभयो ।

book-lunch
पत्रकार सुधीर शर्माद्वारा लिखित ‘प्रयोगशाला : नेपाली संक्रमणमा दिल्ली, दरबार र माओवादी’ नामक पुस्तकको विमोचन कार्यक्रममा बोल्दै एमाओवादी अध्यक्ष प्रचण्डले नेपालमा सञ्चालित जनयुद्ध भारत या कुनै विदेशी शक्तिको उक्साहटमा नभएर आफ्नै नेपाली जनताको बल बुँताबाट गरिएको बताउनुभयो ।
‘अचेल त गाली गर्दा पनि प्रचण्डजस्तै भएस् भन्न थालेका छन् । प्रचण्डले जस्तै दुःख पाओस् भन्न थालेका छन् । यही भएर त प्रचण्ड हो । एमाओवादी पनि यही नै हो ।’ प्रचण्डले भन्नुभयो, ‘जनयुद्धको र शन्तिपूर्ण कालको नेतृत्व आफूले गरेको हुनाले सकारात्मक, नकारात्मक सबै कुराको जिम्मेवारी म लिन्छु ।’
शुरुमा सानो शक्ति हुँदा अरुको भण्डाफोर गर्न सजिलो भए पनि ठूलो शक्ति भएपछि जिम्मेवारी बोधका आधारमा भारत, चीन, अमेरिका, संयूक्त राष्ट्रसंघ र युरोपेली देशलाई पार्टीले पत्र लेखेको उहाँले बताउनुभयो । ‘हामीले एउटै ब्यहोराको पत्र सबैलाई लेखेका थियौं, तर, अरुको चर्चा नगरेर भारतको मात्रै चर्चा गरियो ।’ उहाँले भन्नुभयो ।
‘आफूहरु शन्तिपूर्ण राजनीतिमा नआए काठमाडौंमा तपाईहरुसँग यसरी भेट पनि हुँदैनथ्यो, र यसरी अन्तरक्रिया गर्नु पनि पर्दैनथ्यो ।’ प्रचण्डले भन्नुभयो, ‘त्यसैले हामीले जुन शान्तिपूर्ण बाटो लियौं, त्यो सही थियो । उहाँले बाह्रबँदे सहमति रोल्पामा गर्न चाहेको तर गिरिजा विरामी भएकाले दिल्लीमा गरिएको बताउनुभयो ।
दरबारमार्गस्थित अन्नपूर्ण होटलको हलमा खचाखच भीडका वीच आयोजना गरिएको शर्माको पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष प्रचण्डले शर्माको किताबमा आफूलाई कतै नायक त कतै खलानायकका रुपमा देखाउन खोजिएको बताउनुभयो ।
prachanda-with-pradeep
शर्माको पुस्तकमा गौण कुरालाई प्रमुख जस्तो बनाएर प्रस्तुत गरिएको भन्दै प्रचण्डले ‘रअ’ का अधिकारीसँगको भेटघाटलाई महत्व दिएर प्रस्तुत गरिए पनि आफूले भारतका राजनीतिज्ञलाई पनि भेटेको बताउनुभयो ।’ हामीले भारतीय सुरक्षा अधिकारीलाई मात्रै होइन, त्यहाँका राजनीतिक नेताहरुसँग, बुद्धिजीवीसँग पनि छलफल गरेका छौं । आवश्यक परे म नाम पनि दिन सक्छु ।’
कांग्रेसका युवा नेता गगन थापाले सञ्चालन गर्नुभएको पुस्तक विमोचन कार्यक्रममा धु्रव कुमार र कांग्रेस नेता प्रदीप गिरीले पनि बोल्नुभएको थियो । कार्यक्रममा प्रधान सेनापति, प्रहरी अधिकारीहरुका साथै विभिन्न दलका नेता, लेखक, वुद्धिजीवीहरुको ठूलो उपिस्थति थियो । अन्नपूर्ण होटलमा सवारी सधनको पार्किङमा समेत समस्या देखिएको थियो । पुस्तकको लोकार्पण लेखक शर्माकी आमाले गर्नुभएको थियो ।
एक हजार मूल्य रहेको शर्माको पुस्तक कार्यक्रम स्थलमा ७ सयमा विक्री गरिएको थियो । दरबार, माओवादी र दिल्लीको सम्बन्धबारे लेखिएको यो पुस्तकले कसैलाई नायक वा खलनायक बनाउन नखोजेको र कुनै पक्षमा नलागी पत्रकारको आँखाबाट विश्लेषण गरिएको लेखक तथा कान्तिपुरका सम्पादक शर्माले बताउनुभयो । आफूले लेखेको पुस्तकबाट नेपाल भारत सम्बन्धबारे बहसको थालनी भएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.