चुनावका लागि उम्मेदवारको मनोनयन र मतपत्र छपार्इमात्र बाँकी

२८ भदौ, काठमाण्डौं ।निर्वाचन आयोगले आगामी ४ मंसिरमा तय भएको संविधानसभा निर्वाचन तयारीको ५० प्रतिशत काम पूरा भइसकेको जनाएको छ । निर्वाचनका बाँकी मुख्य काम राजनीतिक दल र उम्मेदवारको मनोनयन र मतपत्र छपाइ रहेको आयोगले जनाएको छ । आयोगले राजनीतिक दलको सहमति र कानुन संशोधनको कुरालाई सकभर छिटो सक्न सरकारसँग आग्रह गरेको छ । सरकारले गत ३१ जेठमा निर्वाचनको तिथि घोषणा गरेको थियो । निर्वाचन घोषणासँगै आयोगले आफ्नो तर्फबाट काम तीव्र पार्दै आएको छ । आयोगले अब समानुपातिक निर्वाचनमा भाग लिने राजनीतिक दल र प्रत्यक्ष निर्वाचनमा भाग लिने उम्मेदवारको मनोनयनपत्र दर्ता, मतपत्रको छपाइ, निर्वाचन पर्यवेक्षणसम्बन्धी नीति निर्देशिका तर्जुमा, संयुक्त निर्वाचन केन्द्रको स्थापनालगायतका काम मात्रै बाँकी रहेको आयोगले जनाएको छ । ‘आयोगको काम लगभग ५० प्रतिशत सकियो,’ निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले भने । उनले आगामी ४ मंसिरको निर्वाचनका लागि आयोगले पूर्ण रूपमा काम गर्न सक्ने हैसियत राखेको जानकारी दिए । मुख्य तीन काम सम्पन्न भएपछि अन्य सहायक काम बिस्तारै गरे पनि निर्वाचनलाई कुनै असर नपर्ने आयोग स्रोतले जानकारी दियो । आयोगले समानुपातिक निर्वाचनमा भाग लिने उम्मेदवारहरूको (मनोनयन दर्ता) बन्द सूची पेस गर्न ७ असोजको दिन तोकेको राजधानी दैनिकमा खबर छ । त्यस्तै, प्रत्यक्षतर्फका उम्मेदवारले मनोनयन दर्ता गर्ने समय १० असोजका तोकिएकाले सो समयभित्र राजनीतिक सहमति र कानुन संशोधन भइसक्नुपर्ने आयोगको भनाइ छ । आयोगलाई निर्वाचनसम्बन्धी निर्देशिका, मतदातासम्बन्धी हाते पुस्तिका, पोस्टर पम्प्लेटजस्ता सामग्रीहरू मतपत्र छापेसँगै छाप्न सकिने र त्यसलाई १५ दिनभित्र मुलुकभर पु¥याउने सकिने भए पनि करिब एक साताभित्र राजनीतिक सहमति र कानुन संशोधनका काम सम्पन्न गर्न सरकारलाई आयोगले आग्रह गरिसकेको छ । नागरिक समाज र अन्य सरोकारवालासँग अन्तक्र्रिया, निर्वाचन पर्यवेक्षणसम्बन्धी नीति र निर्देशिका तर्जुमा, अनुमोदन, व्यवस्था र प्रतिवेदन, सञ्चार माध्यम अनुगमन, संयुक्त निर्वाचन सञ्चालन केन्द्रको स्थापना, संयुक्त सेन्टर विकास, व्यस्थापन र सञ्चालनलगायतका काम गर्न बाँकी छ । नेकपा–माओवादीसहितको मोर्चाले निर्वाचनमा भाग लिएमा ७ असोज अघिसम्म दल दर्ताको समय दिन सकिने आयोगले जनाइसकेको छ । पर्यवेक्षक गर्न इच्छुक संस्थाको अन्तिम निर्णय र प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना एक/दुई दिनमा हुने आयोगले जनाएको छ । करिब एक महिनाको समयमा आयोगमा स्वदेशी र विदेशी गरी ५४ पर्यवेक्षण संस्थाले दर्ता गरेको आयोगका पर्यवेक्षण एकाइ प्रमुख सुरेश अधिकारीले जानकारी दिए । ‘पर्यवेक्षणको काम सकिनु निर्वाचनको तयारीको आधा जति सकिनु हो,’ उनले भने । पर्यवेक्षणका लागि कार्टर सेन्टर र एसियन थ्री इलेक्सन नेटवर्कले आवेदन दिएका छन् । सम्पूर्ण संस्थाको मागअनुसार पर्यवेक्षण गर्नेको संख्या ७४ हजार २ सय ५८ पुगेको छ । अधिकांश पर्यवेक्षण संस्था गत संविधानसभा निर्वाचनमा पर्यवेक्षण गरेको आयोगको भनाइ छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.