समाचार,
स्वास्थ्य
»
चुरोट–सुर्ती खानेले स्वास्थ्यमा जागिर नपाउने
चुरोट–सुर्ती खानेले स्वास्थ्यमा जागिर नपाउने
भिडियो सहित हेर्न तल क्लिक गर्नुहोला :
काठमाडौं, २२ चैत । चुरोट तथा सुर्तीजन्य पदार्थ सेवन गर्नेहरूले अबदेखि सरकारी स्वास्थ्यसेवामा जागिर नपाउने भएका छन् । अहिले कार्यरत कर्मचारीले पनि त्यो छुट पाउने छैनन् । स्वास्थ्य मन्त्रालयले मंगलबार मातहतका कार्यालयमा जागिर खान आउने र कार्यरत कर्मचारीले चुरोट तथा सुर्तीजन्य पदार्थ खान नपाउने आचारसंहिता एवं नैतिक व्यवस्था गरेको हो । मन्त्रालयले कानुन नै बनाएर यस्तो व्यवस्था लागू गर्ने तयारी गरेको थियो तर कानुन बनाउन नमिल्ने भएपछि आचारसंहिता र नैतिक व्यवस्था गरिएको हो । मन्त्रीस्तरीय निर्णयबाट यस्तो व्यवस्था गरिएको हो । मन्त्रालयका सचिव डा. प्रवीण मिश्रले अब मन्त्रालय र मातहतका निकायमा जागिर खान आउने कर्मचारीहरूले चुरोट तथा सुर्तीजन्य पदार्थ नखाने प्रतिबद्धता जनाएपछि मात्रै सेवामा प्रवेश पाउनेछन् । हाल स्वास्थ्यसेवामा कार्यरत चुरोट, सुर्ती सेवन गर्ने कर्मचारीहरूलाई लत छाड्न निर्देशन दिइएको छ । नयाँ आचारसंहिताअनुसार स्वास्थ्यसेवाको जागिरमा प्रवेश गर्ने कर्मचारीले नियुक्तिपत्र लिने बेलामामै ‘चुरोट तथा सुर्तीजन्य पदार्थ खान्नँ’ भनेर प्रतिबद्धतासहितको कबुलियतनामा दिनुपर्नेछ । ‘यो व्यवस्थापछि स्वास्थ्यसेवामा नयाँ आउने कर्मचारीले चुरोट तथा सुर्ती खान पाउने छैनन्’ कमसेकम स्वास्थ्य सेवाका कर्मचारीहरूबाट मात्र भए पनि चुरोट तथा सुर्तीजन्य पदार्थको सेवनमा कमी ल्याउन यस्तो व्यवस्था गरिएको हो,’ सचिव मिश्रले भने । यो व्यवस्थाविपरीत जानेले नैतिक आधारमा राजीनामा दिनुपर्ने उनले बताए । मुटुरोग, क्यान्सर, नपुंसकता, छालाका रोग, श्वास–प्रश्वास रोगलगायत अधिकांश रोगको प्रमुख कारक रहेको चुरोट तथा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनतर्फ लागेको स्वास्थ्य मन्त्रालयका कर्मचारीले नै यस्ता पदार्थ सेवन गरे नियन्त्रणमा समस्या पर्ने भएकाले पनि नयाँ व्यवस्था गरिएको सचिव मिश्रले बताए । उनका अनुसार यो व्यवस्थाले सरकारले डेढ वर्षअघि ल्याएको ‘सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८’को प्रभावकारी कार्यान्वयनमा समेत सहयोग पुग्नेछ । धूमपान तथा सुर्तिसेवन मानवस्वास्थ्यका लागि अत्यन्त हानिकारक भएको र त्यसको सेवनले मान्छेको सामाजिक, आर्थिक तथा सांस्कृतिक क्रियाकलापमा समेत नकारात्मक असर पार्ने भएकाले त्यसको नियन्त्रण गरी सर्वसाधारणको स्वास्थ्य, सुविधा र आर्थिक स्तर अभिवृद्धि गराउन सूर्तिजन्य पदार्थको आयात, उत्पादन, बिक्री–वितरण तथा सेवनको कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्ने भन्दै सरकारले ०६८ साउन १९ गतेदेखि सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन देशव्यापी रूपमा लागू गरेको थियो । ऐनले सार्वजनिक स्थलमा धूमपान गर्न नपाउने, बालबालिका र गर्भवतीलाई बिक्री गर्न नपाउने र ऐनविपरीत जानेलाई एक सयदेखि एक लाखसम्मको जरिवानाको व्यवस्था गरेको भए पनि हालसम्म प्रभावकारी रूपमा लागू हुन सकेको छैन । डा. मिश्रले भने, ‘ऐन लागू भएर कार्यान्वयन भइरहेको छ, त्यसको प्रभावकारी कार्यान्वयनका लागि पनि हाम्रा कर्मचारीले चुरोट तथा सुर्ती खान नपाउने व्यवस्था गरेका हौँ ।’ नेपालमा प्रत्येक दिन सुर्तीसेवनका कारण ४४ जनाले अनाहकमा आÏनो ज्यान गुमाइरहेको मन्त्रालयको पछिल्लो तथ्यांकले देखाएको छ । सुर्तीसेवनकै कारण उत्पन्न हुने रोगको उपचार गर्न बर्सेनि १६ अर्ब रुपियाँ खर्च भइरहेको मन्त्रालयले जनाएको छ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार विश्वमा हरेक वर्ष ५० लाखभन्दा बढी मानिसको सुर्तीजन्य पर्दाथको प्रयोगबाट अकालमा मृत्यु भइरहेको छ । यस्तै अवस्था रहिरहे सन् २०२० सम्म ८४ लाख र सन् २०३० सम्म यो संख्या बढेर १ करोड पुग्ने विश्व स्वास्थ्य संगठनको अनुमान छ । नेपालमा पछिल्ला वर्षहरूमा हरेक दिन सुर्ती तथा सुर्तीजन्य पदार्थको सेवन गर्नेको संख्यामा वृद्धि हुँदै गइरहेको छ । विशेषगरी युवाहरूमा सुर्ती तथा सुर्तीजन्य पदार्थको सेवनमा वृद्धि भइरहेको विभिन्न तथ्याङ्कले देखाएको छ । नेपालको कुल जनसंख्याको झण्डै ५० प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गरेको तथ्याङ्कहरूले देखाउँछ । एक तथ्याङ्कका अनुसार नेपालका ३१ दशमलव २ प्रतिशत पुरुष र १५ दशमलव ५ प्रतिशत महिलाले चुरोट पिउने गरेको देखाएको छ । यसमा पनि ग्रामीण क्षेत्रका ३२ दशमलव ९ प्रतिशत महिलाले धूमपान गर्ने गरेको पाइन्छ ।
0 comments
Write Down Your Responses