गुमनाम भए यीं दल !

काठमाडौं, वैशाख २० - सरकारमा सहभागी बन्ने ध्याउन्नमा खुलेका केही मधेशी दलहरु खिलराज रेग्मी नेतृत्वको चुनावी सरकार गठनसंगै सरकारबाट बाहिरएपछि गुमनाम भएका छन् । केही  मधेशी दल भने सक्रिय ढंगले पार्टी विस्तार अभियानमा व्यस्त भएको देखिन्छ ।
झलनाथ खनाल र बाबुराम भट्टराई नेतृत्वको सरकारमा मन्त्री बन्ने अवसर पाएका महेन्द्र यादब र उनको पार्टी तराई मधेश लोकतान्त्रिक पार्टी नेपाल दुई महिनादेखि गुमनाम छ ।
१ चैतमा खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठनसंगै सरकारबाट बाहिरिएपछि यादब पार्टीका कुनै पनि गतिविधिमा संलग्न देखिन्नन् । ललितपुर कुपण्डोलस्थित पार्टी कार्यालयसमेत करिब दुई महिनादेखि सुनसान छ । यादब चाँही पार्टीको काम भन्दै गृहजिल्ला सर्लाहीमा छन् तर पार्टीका कुनै पनि गतिविधिमा संलग्न छैनन् । नत मधेशी अरु पार्टीजस्तो उनी चुनावी गतिविधिमै व्यस्त भएको देखिन्छ ।
.....................................
गुमनाम पार्टी/नेताहरु
तमलोपा नेपाल       महेन्द्र यादब/दानबहादुर चौधरी
फोरम गणतान्त्रिक     राजकिशोर यादब/अकबाद अहमद शाह
संघीय सद्भावना      अनिल झा/खोभारी राय
राष्ट्रिय सद्भावना      रामनरेश राय/गौरी महतो
चुरे भावर-             बद्री न्यौपाने/केशव मैनाली
नेपाली जनता दल      हरिचरण साह/गायत्री साह
जनता दल (युनाईटेड)  विश्वनाथ साह
...............................

महामन्त्री गोविन्द चौधरी, पूर्व सभासद् चन्दन साह, केन्द्रीय सदस्य दिनदमाल चौधरी र भातृ संगठन यूवा फ्रण्टका अध्यक्ष रोशनकुमार झाले २० चैतमा तमलोपा नेपाल छाडिसकेका छन् । अब पार्टीमा यादबसहित चिनिएका नेतामा दानबहादुर चौधरी मात्रै बचेका छन् । चौधरी त अहिले कपिलवस्तुको पकडीस्थित् आफ्नै पेट्रोल पम्पको कारोवारमा व्यस्त छन् ।
बाबुराम भट्टराई नेतृत्वको सरकारमा मन्त्री भएका अनिल झा र उनको पार्टी संघीय सद्भावनासमेत गुमनाम छ । झा धेरै दिनदेखि गृहजिल्ला रौतहटमा छन् 'म गाउँमै छु' उनले भने । पार्टीका नेताहरुलाई साथमा लिएर पार्टी गतिविधि सक्रिय पार्नु त परै जाओस् पार्टीका वरिष्ठ नेताहरु खोभारी राय र महेश यादबसंगसमेत उनी सम्पर्कमा छैनन् । २०६८ मा पार्टी गठनका बेला राय उपाध्यक्ष र यादब महासचिव थिए ।
'सरकारबाट बाहिरिएपछि अध्यक्षसंग कुराकानीसमेत भएको छैन' रायले विहीवार कान्तिपुरसित प्रश्न गरे, 'यसरी पार्टी चल्छ ?' राय र यादब दुबैजनासंग अध्यक्ष झा सम्पर्कमा छैनन् । पार्टी अध्यक्षको निश्त्रिmयताका कारण दुबै जना पार्टी छाड्ने 'मुड'मा छन् । अध्यक्षको चालामाला देखेर उनीहरु झाले पार्टीलाई अघि बढाउन नसक्ने निष्कर्षसहित अन्य पार्टीमा प्रवेश गर्ने तयारी गरेका छन् । 'मधेशी वा अरु पार्टी कता जाने भन्नेमा छलफल गरिरहेका छौं' रायले भने, 'पार्टी एकै पटक छोड्छौं ।'
महाधिवेशन भएको एक वर्ष वितेपनि जिम्मेवारी कसैलाई नदिएको र आफैं सर्बेसर्वा भएको भन्दै रायलगायत नेता झासंग असन्तुष्ट रहेको स्रोतले बतायो । पूर्व सभासद्हरुलाईसमेत उनले केन्द्रीय सदस्यको जिम्मेवारी मात्रै दिएका छन् । गत वर्षको वैशाख पहिलो साता झाले वीरगञ्जमा पार्टी महाधिवेश गरेका थिए ।
संविधानसभाका बेला राजेन्द्र महतोलाई भ्रष्टाचारी र सत्तालोलुपलगायतका आरोप लगाएर झाले चार सभासद् -खोभारी, महेश यादब, मालामती राना) लाई साथ लिएर पार्टी गठन गरेका थिए । अहिले उनीसंग ती कोही पनि नजिक छैनन् । शान्तिनगरस्थित पार्टी कार्यालयसमेत सुनसान छ ।
सञ्चारमन्त्री रहेकै बखत सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भई जयप्रकाशप्रसाद गुप्ता जेल चलान भएपछि सत्ताको स्वाद चाख्ने अवसर पाएका राजकिशोर यादब र उनको पार्टी मधेशी जनअधिकार फोरम -गणतान्त्रिक) दुई महिनादेखि गुमनाम छ । यादब भने आफू पार्टीका गतिविधिमा सक्रिय रहेको दाबी गर्छन् । 'अरुले मिडियामार्फत् हल्लीखल्ली गरेर चर्चा बटुल्दारहेछन्' कान्तिपुरसंग उनको दाबी थियो, 'मैंले त्यो नगरेको मात्रै हुँ ।'
मोरङ, सिरहालगायतका जिल्लामा पार्टीका गतिविधिमा संलग्न भई काठमाडौं फर्केको र आगामी साता सुनसरी र चितवन लगायतका जिल्लामा पार्टीको कार्यक्रममा व्यस्त हुने उनले बताए । उनको पार्टीका धेरैजसो नेताहरु व्यक्तिगत काममा आ-आफ्नै गृहजिल्लामा व्यस्त छन् । 'पार्टीमा नेतृत्व गर्ने व्यक्तिको खाँचो देखियो' फोरम गणतान्त्रिकका एक नेताले भने, 'विचार र रणनीतिक बुझाई भएका नेताको अभावले पार्टीमा ब्रेक लाग्यो ।'
भट्टराई नेतृत्वको सरकारमा मन्त्री बनेका बद्रीप्रसाद न्यौपाने र उनको चुरे भावर राष्ट्रिय एकता पार्टी पनि गुमनामकै सूचीमा पर्छ । सत्ताकै कारण संविधानसभा चुनावमा एउटा रहेको उक्त पार्टी अहिले तीन चिरा भएको छ । सरकारबाट बाहिरिएपछि न्यौपाने सक्रिय देखिन्नन् न त पार्टी गतिविधि नै ।
गत संविधानसभा चुनावमा समानुपातिकबाट दुई सीट हात पारेको नेपाली जनता दल र जनता दल -युनाईटेड) समेत निष्कृय छन् । जनता दलका अध्यक्ष हरिचरण साह र उक्त पार्टीबाट सभासद् बनेकी गायत्री साह राहदानी दुरुपयोगमा मुछिएसंगै गुमनाम भएका छन् । साहले भने विहीवार निर्वाचन आयोगमा १८ औं नम्बरमा दल दर्ता गराएका छन् । जनता दलबाट टुक्रिएर बनेको जनता दल -युनाईटेड)का अध्यक्ष विश्वनाथ साह र उनको पार्टी चर्चामै छैन ।
मधेश भूमी हुँदै पहाड र हिमालसम्मै फैलिएको राजेन्द्र महतो नेतृत्वको सद्भावना, फोरम नेपाल, फोरम लोकतान्त्रिक, संविधानसभा विघटनपछि जन्मिएको शरतसंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी र जेपी गुप्ताले नेतृत्व गरेको तराई मधेश राष्ट्रिय अभियानले भने मधेशमा चुनावलाई केन्दि्रत गर्दै पार्टी गतिविधि तिब्र पारेका छन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.