साधु बन्दैछन् झिझाका डाकाहरु

भिडियोको लागी तल क्लिक गर्नुहोला
जनकपुरधाम – पुर्खाहरुले गर्दै आएको चोरी, डाका पेसालाई त्यागेर धनुषाका डाकाहरु साधु बन्दैछ भन्ने सुन्दा अचम्म लाँग्छ तर यो सत्य हो। पूर्वी धनुषाको झिझा गाउँमा चोरी, डाका गरी जीविका चलाउँदै आइरहेका २६० परिवारलाई सरकारले सर्लाही जिल्लाको नेत्रगन्ज गाउँमा पुनर्वास गराएपछि उनीहरु आफ्नो पुर्ख्यौली पेसा त्यागेर साधु भएका छन्। 'त्रेतायुगमा कुख्यात डाका रत्नाकरमा चेतना आएपछि बाल्मीकि (साधु) हुन सक्छ भने यस कलीयुगमा भने हामी किन साधु हुन सक्दैनौँ ?', पुनर्वास बस्तीका पूर्व चोर, डाकाहरु भन्दछन्। 'विगत लामो समयदेखि पूर्वी धनुषाका झिझा गाउँका ती चोरहरु चोरी, डकैती, लुटपाट जस्ता आपराधिक क्रियाकलाप गर्न थालेपछि तत्कालीन सरकारले विसं २०३५ मा यस पेसामा संलग्न २६० परिवारलाई सर्लाही जिल्लाको नेत्रजन्जमा बसोवास गराएको हो', धर्मेन्द्र पासमान भन्छन्। आर्थिक अवस्थामा सुधार आएपछि झिझाका चोर, डाकाहरु आफ्नो पुर्ख्यौली पेसा चोरी, डाका गर्ने काम त्याग्नेछन् भनेर तत्कालीन सरकारले त्यहाँका २६० परिवारलाई प्रतिपरिवार ३५ कट्ठाका दरले खेतीयोग्य जग्गा तथा पाँच कट्ठाका दरले घर बनाउन घडेरी दिएर नेत्रगन्जमा पुनर्वास गराएको छोटेलाल पासमान बताउँछन्। धनुषा जिल्लाको झिझा गाउँबाट सर्लाहीको नेत्रगन्जमा सरकारले बसोवास गराएपछि सुरुमा १८ महिना जति सरकारले २६० परिवारलाई रासन खर्च समेत दिएको स्मरण गर्दै दुनौला पासमान भन्छन्— 'तर अहिले हामी सबै सुविधाबाट वञ्चित भएका छौँ।' 'पुनर्वासबस्तीको नामले परिचित सो बस्तीमा सरकारले बिजुलीबत्ती बाहेक कुनै सुविधा उपलब्ध नगराएकाले आर्थिक अभावका कारण बस्तीका अधिकांश युवाहरु वैदेशिक रोजगारमा गएका छन् भने केही युवा बेरोजगार भइ गाउमा बसेका छन्', रामपुकार पासमान भन्छन्। झिँझाबाट बसाइ सरेका यस बस्तीका केही युवा वैदेसिक रोजगारको क्रममा खाडी मुलुक पुगेपछि गाउँमा फूसको घर मात्र होइन पक्की घरसमेत बनेका छन्। बस्तीमा रहेका महिला तथा वृद्धवृद्धाहरु तरकारी खेती गरी मनग्गे आर्थिक लाभ लिइरहेका छन्। 'दलित जातिको मात्र बाहुल्य रहेको सो पुनर्वासबस्तीका बासिन्दालाई भने एउटै समस्याले सताइरहेको छ , त्यो के हो भने बस्ती नजिकै रहेको बागवानी केन्द्रबाट रातिमा झुण्डका झुण्ड नीलगाई आउने र लहलहाउँदो बालीनाली खाई दिने समस्या रहेको छ', इन्द्रजीत पासमान गुनासो पोख्छन्। 'ए', 'बी', 'सी', र 'डी' गरी चारवटा टोलमा विभाजित सो पुनर्वासबस्तीमा उनीहरुको सङ्ख्या करिब पाँचसय जतिको छ। शिक्षाको नाममा कक्षा– ५ सम्म पढाइ हुने श्रीपाँच कुमारी प्राथमिक विद्यालय रहेको जहाँ पुनर्वासबस्तीका पूर्व डाकाको बालबालिकाहरु पढ्ने गर्दछन्। चोरी, डाका, लुटपाट गर्ने आपराधिक समूहका लागि पुनर्वासबस्तीका साधु बनेका पूर्व चोरहरु एउटा उदाहरण भएको छ। लालबन्दीवासी भन्छन्— 'डाका पेसा त्यागेर झिझाबाट यहाँ आएका मानिसहरु बाल्मीकि हुन सक्छ भने अरु किन हुन सक्दैनन्।' रासस
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.