शिक्षकले चिट चोर्ने डरले परीक्षामा कडाई !

९ जेठ, काठमाडौं । बिद्यार्थीलाई जाँचमा निकै कडाई गर्ने धेरै शिक्षक यतिखेर आफैं परीक्षा दिन व्यस्त छन् । १७ वर्षपछि खुलेको स्थायी शिक्षकका लागि विद्यालयमा कार्यरत अधिकांश अस्थायी, करार र निजी शिक्षकले आवेदन दिएका छन् । उनीहरुको परीक्षा बिहीबारदेखि शुरु भएको छ । आफैं गार्ड बसेर विद्यार्थीको चिट खोस्ने शिक्षकले नै परीक्षामा अनियमित कार्य गर्ने हो कि भन्ने आशंका शिक्षक सेवा आयोगलाई छ । त्यसैले आयोगले परीक्षालाई मर्यादित बनाउन कडा नियम बनाएको जनाएको छ । ‘परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन हामीले त्यसै अनुसार निर्देशिका बनाएका छौं’ आयोगका प्रशासकीय प्रमुख खगेन्द्रप्रसाद नेपालले अनलाइनखबरसित भन्नुभयो-’अनियमित कार्य गरेको फेला परेका कार्वाही हुन्छ ।’ आयोगको परीक्षा सम्बन्धी निर्देशिकामा परीक्षा सुरु भएपछि परीक्षार्थी परीक्षाहलबाट बाहिर शौचालय गएमा उ परीक्षाहलमा प्रवेश नगरेसम्म निगरानी गरिने जनाएको छ । यस्तै परीक्षाकेन्द्र र परीक्षा हलमा प्रतिबन्धित सामग्रीहरु -चिट, गाइड, किताव, नोटबुक, मोवाइल फोन इत्यादि) लैजान नदिने र कसैले लुकाई छिपाई लगेको पाइएमा परीक्षाबाट निश्काशन गरिनेछ । कुनै परीक्षा केन्द्रमा अनियमित काम भएको पाइएमा अनियमितताको प्रकृति हेरी सो केन्द्रका केही वा सवै परीक्षार्थीको परीक्षा रद्द गर्न सिफारिस गर्ने व्यवस्था पनि गरिएको छ । परीक्षामा अनियमित काम गर्ने परीक्षार्थीलाई ६ महिनासम्म कैद र एकलाख रुपैंयासम्म जरिवाना गर्ने व्यवस्था छ । यस्ता परीक्षार्थीलाई एकदेखि पाँच वर्षसम्म आयोगले सञ्चालन गर्ने परीक्षामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाइने आयोगले जनाएको छ । आयोगका अनुसार कुनै स्थायी शिक्षक आफू स्थायी भएकै पदमा उम्मेदवार भई परीक्षा दिएको भेटिएमा विभागीय कार्वाही गरिनेछ । यस्तै परीक्षार्थीहरुलाई प्रतिवन्धित सामग्रीहरु, जस्तै चिट, गाइड, किताव, नोटबुक, मोवाइल फोन इत्यादि परीक्षाकेन्द्रभित्र लैजान नपाइने व्यवस्था गरिएको छ । अन्य परीक्षाकेन्द्रका परीक्षार्थी आफ्नो केन्द्रमा परीक्षा दिन आएमा त्यस्ता परीक्षार्थीहरुलाई परीक्षामा सामेल नगराउने र लिखित परीक्षामा परीक्षार्थीलाई क्याल्कुलेटर प्रयोग गर्न नदिने पनि आयोगले जनाएको छ । १३ हजार पदमा ४ लाख ८० हजारको भीडन्त शिक्षक सेवा आयोगले मागेको भन्दा निकै धेरै संख्यामा दरखास्त परेको छ । प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहको लागि १३ हजार ५९ जनाको कोटामा ४ लाख ८० हजार ७ सय ५८ जना प्रतिष्पर्धामा छन् । ‘हरेक घरघरमै परीक्षार्थी छन् भन्दा पनि हुन्छ’ आयोगका प्रशासकीय अधिकृत नेपालले भन्नुभयो -’धेरै वर्षपछि स्थायी शिक्षकको आहृवान गरिएकाले देशभर परीक्षाको माहोल बनेको छ ।’ शिक्षण पेसालाई सजिलो मान्ने प्रचलनले पनि शिक्षक बन्न चाहनेको संख्या धेरै छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.