बालश्रमिक कुटपिटको घटना लुकाउँदै प्रहरी
![Balika-Kutpit-Lalita-Chaudh](http://www.souryadaily.com/wp-content/uploads/2013/05/Balika-Kutpit-Lalita-Chaudh-199x300.jpg)
घटनाक्रमअनुसार आइतबार दिउँसो ४ बजे चौधरीमाथि कुटपिट भएको थियो । घिसार्दै अपार्टमेन्टबाहिर निकालिँदै गरेकी ती बालिकाले सहन नसकेपछि चिच्याएकी थिइन् । गेटमा बसेका सुरक्षागार्ड भरत श्रेष्ठले बालिकाले कुटाइ खाएको हेर्न नसकेपछि कुटपिट गर्नेलाई हप्काए । प्रहरीमा खबर गर्ने चेतावनी दिँदा पनि कुट्ने क्रम रोकिएन । त्यही बेला चौधरी आत्तिएर श्रेष्ठको छातीमा टाँसिन पुगिन् ।
श्रेष्ठका अनुसार ती बालिका कुटाइ खप्न नसकी बेहोस भएर भुइँमा लडिन् । त्यसबेला चौधरीलाई एक महिलाले कुटेको श्रेष्ठले बताए । ‘माथिबाट बच्चीलाई एक महिलाले कुट्दै ल्याइन् । बच्ची रुँदै थिइन् । हेर्न नसकेपछि मैले नकुट्नु भनेँ तर कुट्न छाडिएन । मैले छुटाउन खोजेँ । बच्ची बचाऊ भन्दै मेरो छातीमा टाँसिइन् । अझै उनलाई कुट्न छाडिएन,’ उनले भने, ‘पछि प्रहरी आएर कुटपिटमा संलग्नलाई पक्राउ गर्यो । बच्चीलाई तत्काल अस्पताल लगियो । पछि के भयो मलाई थाहा भएन ।’
उनका अनुसार घटनास्थलमा सर्वसाधारणको भिड लागेको थियो । बेहोस बालिकालाई भेला भएका महिलाले होसमा ल्याउन कोसिस गरेका थिए ।
महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको टोली घटनास्थल पुगेको थियो । वृत्तका डिएसपी भीम ढकालले भने चौधरीलाई उनकै मामाले कुटेको बताए । ‘चौधरीलाई उनकै मामाले कुटेका रहेछन् । उनलाई पक्राउ पनि गरियो,’ डिएसपी ढकालले भने, ‘घटना मिलिसकेकाले चौधरीलाई घर पठाइसकिएको छ । उनका मामालाई पनि छाडिसकिएको छ ।’ प्रहरीले उनको मामाको विषयमा भने केही खुलाएको छैन ।
अपार्टमेन्टको बी–टु फ्ल्याइटमा बस्ने रीता कर्णकोमा दुई महिनादेखि काम गर्दै आएकी थिइन् । प्रत्यक्षदर्शीका अनुसार चौधरीलाई कर्णले नै कुटपिट गरेकी थिइन् । ‘बालिकालाई कर्णले नै कुटेको हामीले देखेको हो,’ प्रत्यक्षदर्शीले भने । सुरक्षागार्ड श्रेष्ठले पनि बालिकालाई ती महिलाले नै कुटेको बताए । ‘बालिकालाई उद्धार गर्ने मै हुँ । मैले त बालिका कुट्ने मान्छे महिला देखेको हुँ, केटा मान्छेले त कुटेको मैले देखिनँ,’ उनले भने ।
कर्णले चौधरीलाई नेपाल प्रहरीका पूर्वडिएसपी सुरेन्द्र सिंहबाट लिएकी थिइन् । सिंहले चौधरीलाई आठ महिनाअघि पढाइदिने भन्दै सप्तरीबाट ल्याएका थिए । सिंहले चौधरीलाई आफूले घरेलु कामदारका रूपमा आठ महिनाअघि ल्याएको स्वीकार गरे । सोही अपार्टमेन्टको बी–फोर फ्ल्याइटमा बस्ने सिंह मण्डिखाटारमा घर बनाएर सरेका थिए । चौधरीलाई भने आफूसँगै नलगी कर्णलाई जिम्मा लगाएका थिए । ‘सशस्त्र प्रहरीको सिपाहीमार्फत मैले चौधरीलाई ल्याएको हुँ । उनको मानसिक सन्तुलन ठीक थिएन,’ उनले भने, ‘मसँग काम गर्ने अरू पनि थिए । त्यही भएर
मैले कर्णलाई जिम्मा लगाएको हुँ ।’
बालअधिकारकर्मी संस्था सिविस नेपालका उद्धार अधिकृत प्रदीप डंगोलले पीडित बालिकालाई न्याय दिनेभन्दा पनि पीडकलाई उन्मुक्ति दिनेतर्फ प्रहरी लागेको बताए । ‘बालिका बेहोस हुने गरी कुटिएकी छन् । जानकारी लिन खोज्दा प्रहरी घटनालाई ढाकछोप गर्ने तर्फ उद्दत देखियो । पीडित बालिका बारे कुनै जानकारी दिइएन,’ डंगोलले सौर्यसँग भने ।
प्रहरीले निशेधित र नियमित गर्ने ऐन २०५६ मात्रै होइन बालअधिकारको समेत हनन गरेको डंगोलको भनाइ छ । भने, ‘चाहे जो सुकै होस्, १६ वर्षभन्दा मुनिका बालबालिकालाई घरेलु कामदार बनाउन कानुनी रूपमा पाइँदैन । यहाँ त बालिकामाथि कुटपिट नै भएको छ । तर, पीडितलाई न्याय दिने पीडकलाई कारबाही गर्नेतर्फ भन्दा पनि प्रहरी सूचना लुकाउन मै व्यस्त देखियो ।’
|
0 comments
Write Down Your Responses